सगरमाथा क्षेत्रमा मानव मलमुत्र थुप्रदै

सोलुखुम्बु स् धेरैजसो समय माइनसभन्दा तल तापक्रम रहने सगरमाथा क्षेत्रमा घुम्न जाने पर्यटकको दिसापिसाब त्यस क्षेत्रको लागि समस्या बन्दै गएको छ।
सगरमाथा क्षेत्रमा मानव मलमुत्र थुप्रदै
हिमाल आरोहणका याममा बर्सेनि तीन हजारभन्दा बढी पर्वतारोही तथा भरिया सगरमाथा आधारशिविर आवतजावत गर्छन्। उनीहरुले आधारशिविर तथा त्यस भन्दामाथि गर्ने दिसापिसाब हिमाली क्षेत्रको सरसफाइका लागि ठूलो समस्या बनिरहेको छ। त्यहाँको फोहर व्यवस्थापन गरिरहेको सगरमाथा प्रदूषण नियन्त्रण समिति ९एसपिसिसी० का अध्यक्ष आङदोर्जी शेर्पा पनि सगरमाथाको आधारशिविर र त्यसभन्दा माथिल्ला शिविरमा हुने दिसापिसाबको समस्या बन्दै गएको बताउँछन्। पाँच हजार ३०० मिटर उचाइमा रहेको आधार शिविरबाट एसपिसिसीले मानिसको मलमूत्र सङ्कलन गरी पाँच हजार १६४ मिटरको उचाइमा रहेको गोरपशेपमा ल्याएर गाड्ने गरेको छ। तर त्यहाँ पनि फोहरको मात्रा बढेपछि अहिले डम्पिङसाइट लोबुचे छेउमा सारिएको छ। सगरमाथा, ल्होत्से र नुप्त्से हिमाल आरोहण गर्न आधार शिविर पुग्ने आरोही र उनीहरूका सहयोगीले कम्तीमा आठ किलोग्राम फोहर फिर्ता ल्याउनुपर्ने नियम छ। उनीहरूले काँच, धातु र प्लास्टिकजन्य फोहर फर्काउने गरेका छन्। आधार शिविरको मानव मलमूत्र भने एसपिसिसीको व्यवस्थापनमा भरियालाई बोकाएर गोरकशेप झार्ने गरिएको छ। गोरकशेपको तापक्रममा पनि मानव मलमूत्र नसड्ने हुँदा प्रदूषण यथावत् रहन्छ। मलमूत्र पानीका मुहानमा पुगेर इकोलाई लगायतका जीवाणु फैलने खतरा पनि उत्तिकै छ। ती मलमूत्र गाड्न धेरै खाल्डा बनाइएको र वर्षायाममा तिनमा चौंरी पर्ने गरेको गोरपशेपका मिङमार शेर्पा बताउँछन्। सगरमाथाको आधार शिविरमा सन् २०१४ मा आठ हजार ९९८, सन् २०१५ मा पाँच हजार नौ सय र सन् २०१६ मा १० हजार ४२५ किलो मानव मलमूत्र सङ्कलन गरेको एसपिसिसीको कार्यालय नाम्चेले जनाएको छ। यो भन्दा अघि देखिको मलमूत्र पनि गोरपशेप तथा लुबुचेमा थुपारिएको छ। चिसोका कारण वर्षौसम्म नसड्ने, त्यहाँबाट आउने पानीका स्रोत तल्लो क्षेत्रका बस्तीसम्म पुग्ने तथा मलमूत्र थुर्पादा फोहरको मात्रा बढी देखिने लगायतका समस्या अहिले देखिएका छन्। यस्तो फोहरलाई अझ तलको न्यानो क्षेत्रमा ल्याएर ग्यास प्लान्ट बनाउने तथा अरु विधिबाट सुरक्षित व्यवस्थापन गर्नुपर्ने स्थानीयवासीले माग गर्न थालेका छन्। रासस


Facebook Comment