घरजग्गा, गाडी र सेयर कर्जा बन्द, गभर्नरले नसकेपछि अर्थमन्त्री आफैं ताते

काठमाण्डौ , गभर्नरले आफ्नो कार्यालयमा बोलाएर झपारेको भोलिपल्टै बैंकर्सहरुबीच गाडी, घर, सेयरधितो कर्जा रोक्ने सहमति बनेको छ ।

गभर्नर डा। चिरञ्जिवी नेपालले बैंकहरुले सीमाविहीन ढंगले अनुुत्पादक क्षेत्रमा ऋण प्रवाह गर्दा तरलता अभावको समस्या चर्किएर अर्थतन्त्र नै अप्ठ्यारोमा परेको भन्दै यसमा स्वनियमनको नियम लागूू गर्न निर्देश गरेको भोलिपल्ट बिहीबार बसेको नेपाल बैंकर्स एशोसिएसनको बैठकमा वाणिज्य बैंकबीच त्यस्तो सहमति बनेको हो ।
‘राष्ट्रबैंकको समेत नीति अनुसार तत्कालका लागि घरजग्गा, गाडी, सेयर धितो कर्जा प्रवाह रोक्नेमा सबै बैंकका सीइओ सहमत देखिएका छन् ।’ बैठकमा सहभागी एक वाणिज्य बैंकका सीइओले बिजशालासँग भने–‘सम्झौता भइसकेका ऋणहरु नरोक्ने र नयाँ कर्जा भने अनुुत्पादक क्षेत्रमा तत्काल प्रवाह गरिनेछैन ।’ पछिल्लो समय अधिकांश बैंकहरुले अनुत्पादक क्षेत्रमा ठूलो परिमाणमा कर्जा परिचालन गरेका थिए । उत्पादक क्षेत्रमा कर्जा परिचालन नहुँदा त्यसले अर्थतन्त्रमै संकट ल्याउन सक्ने भन्दै यो नीति परिवर्तन गरी अनुत्पादक क्षेत्रको कर्जा लगानीको सीमा बनाउनुपर्ने गभर्नर डा। नेपालले जोड दिएका थिए ।

बुधबार गभर्नर नेपालले बैंकर्स एशोसिएसनका अध्यक्ष अनिलकेशरी शाहलाई बोलाएर राष्ट्रबैंकको निर्देशन नमान्ने बैंक तथा बित्तीय संस्थालाई कारबाही गर्ने कडा अभिव्यक्ति दिएका थिए । गभर्नरसँगको भेटमा भएका छलफलको बिषय अध्यक्ष शाहले अन्य बैंकरहरुलाई बिहीबारको बैठकमा सुनाउँदै अनुत्पादक क्षेत्रको लगानी तत्काल बन्द गर्नुबाहेकको अर्को विकल्प नरहेको बताएपछि केही समयका लागि त्यस्तो कर्जा बन्द गर्ने सहमति बनेको बताइएको छ । बैंकरहरुको यो सहमतिसँगै भित्रभित्रै बुम भएको घरजग्गा कारोबार सुुस्ताउने निश्चित छ । यस्तै, अटोमोवाइल उद्योगले समेत ठूलो सकस भोग्नुपर्ने अवस्था देखिएको छ । यसअघि छिटफुट रुपमा कतिपय बैंकले प्रवाह गर्दै आएका सेयर धितो कर्जा समेत बन्द हुँदा घटिरहेको सेयर बजारलाई अझ नकारात्मक प्रभाव पर्ने देखिन्छ ।

अर्थमन्त्री सक्रिय
यसैबीच, लगानीयोग्य रकम अभावको समस्या जटिल बनी आर्थिक वृद्धिदर नै खुम्चिने र उद्योग कलकारखाना समेत उच्च ब्याजदरका कारण बन्द हुने अवस्थामा पुुगेपछि समस्या समाधानका लागि अर्थमन्त्री कृष्णबहादुर महरा आफैं सक्रिय भएका छन् । नेपाल राष्ट्रबैंकका गभर्नर डा। चिरञ्जिवी नेपालले भनेजस्तो काम गर्न नसकेपछि र अन्य नियामकहरुको समेत भर पर्दा अर्थतन्त्रमा गम्भीर समस्या आएको भन्दै उनले बिहीबार बिहान अर्थमन्त्रालयका सचिवहरु, गभर्नर डा। नेपाल लगायतसँग समस्या समाधानको बिषयमा लामो छलफल गरेका थिए । छलफलमा गभर्नर बाहेक अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदी, राजश्व सचिव राजन खनाल लगायतको सहभागिता थियो । सो छलफलमा सचिवहरुले विकास खर्च दर बढ्दै जाने र केही सातापछि नै सरकारी ढुकुटीमा थुप्रिएएको रकम बैकिङ प्रणालीमा फर्किएर अवस्था केही सहज हुने रिपोर्टिङ गरेका थिए । सो छलफलमा समेत अनुत्पादक क्षेत्रमा बैंकहरुले बढाएका लगानी बन्द हुनुुपर्ने मुद्धा जोडतोडका साथ उठेको अर्थमन्त्रीको निजी सचिवालयले जनाएको छ ।


Facebook Comment


No ads found for this position