१५ वर्षे बृहत् गुरुयोजना बनाउँदै पशुपति कोष

गाेपीकृष्ण ढुगना

काठमाडौः पशुपति क्षेत्र विकास कोषले पाशुपत क्षेत्रको बृहत्तर विकासका लागि पन्ध्रबर्से बृहत् गुरुयोजना बनाउने भएको छ । कोषले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूबाट बृहत् गुरुयोजना बनाउने र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय ठेक्कामार्फत काम गर्ने योजना बनाउन लागेको हो ।

कोषले बृहत् गुरुयोजना बनाउन पशुपतिनाथ क्षेत्रको इतिहास, पुरातत्वव एवं सम्पदा विषयमा मुकुन्द अर्याल, निना मिर्निङ, रोबिन कनिङहम, कोषराज आचार्य, दिनेशराज पन्त, शुक्रसागर श्रेष्ठलाई कार्यपत्र बनाउने जिम्मा दिएको छ । प्राकृतिक धरातल र भवन निर्माणसम्बन्धी कार्यपत्र नेइल्स गुट्सचोउ, मूर्ति पन्त, सुदर्शनराज तिवारी, राजन दाहाल, इयान सिम्प्सन र उदयराज शर्माले तयार गर्नेछन् ।

मानवशास्त्रअन्तर्गतका समुदाय, रीतिरिवाज र चाडपर्वबारे चेतनाथ गौतम, गोविन्द टण्डन, एक्सेल मिखाइल्स, रूद्र मि श्र र राजेन्द्र सुवालले कार्यपत्र तयार पारिरहेका छन् । यस्तै सम्पदा र योजनाअन्तर्गत विश्वसम्पदा एवं तिनको योजना तथा संरक्षणबारे किशोर थापा, वीरेश साह, राजनसिंह साह, रविरत्न तुलाधर, भेषनारायण दाहाल, भीम नेपाल, केई वाइज र भरत मरासिनीले कार्यपत्र तयार पार्नेछन् ।

उल्लिखित सबै कार्यपत्र तयार पारी आगामी असारभित्र कार्यशालामा प्रस्तुत गरी विद्वान्बाटै टिप्पणी गरेर अन्तिम रूप दिइने कोषका सदस्यसचिव डा. गोविन्द टण्डनले जानकारी दिए । पशुपति स्मारक क्षेत्रलाई सन् १९७९ मा काठमाडौं उपत्यका विश्व सम्पदा स्थलका रूपमा युनेस्कोले सूचीकृत गरेको थियो । उक्त क्षेत्रलाई संरक्षित स्मारक क्षेत्रका रूपमा २०५५ सालमा राजपत्रमा दर्ता गरिएको थियो । सोहीअनुरूप २०४४ सालमा कोषका उद्देश्य प्राप्त गर्न अवधारणात्मक गुरुयोजना बनेको हो ।

दुई सय ६४ हेक्टर क्षेत्रफलमा फैलिएको पाशुपत क्षेत्रमा २०५१ मा पनि गुरुयोजना बनाइयो । तर यी दुवै कार्यान्वयनमा आएनन् । २०५८ सालमा बनाइएको १० बर्से गुरुयोजना २०६८ सालसम्म कार्यान्वयनमा थियो । तर यो पनि पूर्ण रूपमा कार्यान्वयनमा आउन सकेन । विश्वसम्पदामा सूचीकृत पाशुपत क्षेत्र अझ संवेदनशील एवं बढी महत्ववको हुँदै गएकाले बृहत् गुरुयोजना ल्याउन लागिएको सदस्यसचिव टण्डनले जानकारी दिए । पाशुपत क्षेत्रलाई यहाँका मूर्त एवं अमूर्त सम्पदाको जीवन्त स्थलका रूपमा विकास गर्ने र विश्वका एक अर्बभन्दा बढी हिन्दु धर्मावलम्बीको पावन तीर्थस्थल बनाउने उद्देश्य लिइएको उनको भनाइ छ ।

सोही उद्देश्यअनुरूप कोषले बिहीबार आयोजना गरेको बृहत् गुरुयोजनाको उद्घाटनमा संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री जीवनबहादुर शाहीले बृहत् गुरुयोजनाले कम्तीमा एक सय वर्षको विकास र सम्भावनालाई आँकलन गर्न सक्नुपर्नेमा जोड दिए । ‘यसरी पाशुपत क्षेत्रको विकास गर्ने हो भने धार्मिक पर्यटनको विकाससँगै राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुग्नेछ’, उनले भने । विनागुरुयोजना सरकार वा दाताले बजेट विनियोजन गर्न नसक्ने भएकाले बृहत् गुरुयोजनाको आवश्यकता महसुस गरिएको कोषका कोषाध्यक्ष तारानाथ सुवेदीले बताए ।

विश्वकै आदिज्योतिर्लिंगका रूपमा मानिएको पशुपतिनाथ मन्दिर परिसरमा करिब पाँच सय सम्पदा रहेकाले बृहत् गुरुयोजना अपरिहार्य रहेको कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीले जानकारी दिए । ‘पाशुपत क्षेत्रका नदी, जंगल, उद्यान, खुला ठाउँ, आदिजस्ता प्राकृतिक सम्पदाहरूलाई पनि सुरक्षित र संरक्षित तुल्याएर गुरुयोजना लागू गर्नुपर्छ ।’साभार अन्नपुर्ण


Facebook Comment