जाने हो सौराहा ? यस्तो छ प्याकेज

यस्तो छ प्याकेज

सौराहामा प्याकेज कार्यक्रम चल्छ। व्यवसायीले प्याकेज प्रोग्राम बेच्छन्। मुख्य गरी २ रात तीनदिनको एउटा प्याकेज हुन्छ। २ लन्च, २ डिनर र ब्रेकफाष्ट सहितको प्याकेज। यसका अलावा हात्ती सफारी, डुंगा सफारी, जंगल वार्क पर्छन, थारु कल्चर चरा अवलोकन, विभिन्न कल्चरल कार्यक्रमहरु समेटिन्छन्। जीप सफारी प्याकेज बाहिर छ।प्याकेजको मूल्य होटलको स्तर हेरेर रु ५ हजारदेखि १० हजारसम्मको छ। प्याकेज आउँदा पर्यटकहरुलाई झन्झट नहुने तर्क व्यवसायीहरुको छ। प्याकेजमा नआएका पर्यटकहरु पनि प्रशस्तै आउँछन्। उनीहरुले करिव १० हजारमा यहाँका सबै अनुभवहरु लिन सक्ने छन्। कोठा मात्रै पनि ५०० देखि १० हजार रुपैयाँसम्मका छन्।

सौराहा

चितवनको सौराहा पुग्ने पर्यटक जंगल घुमेर रमाउँछन्। जनावर हेरेर आनन्द लिन्छन्। हात्ती, डुंगा तथा जीप सफारी गरी वन्यजन्तुको अवलोकन सौराहा आउने पर्यटकको मुख्य आकर्षण हो। हात्ती चढेर जंगल घुम्नु र जनावर हेर्नु, निकुञ्जमा जीप सफारी गरेर दृष्यावलोकनमा रमाउनु, डुंगा चढेर मनोरञ्जन लिनु, सूर्यास्त अवलोकन गर्नु, पव रेष्टुराँमा बसेर विभिन्न स्वादमा भुल्नु, साँझ थारुका मौलिक नाचसँग रमाउनु सौराहाको  विशेषता हो। अन्य जनावरहरु नजिकबाट नियाल्न सकिने र सुरक्षित हुने भएकाले हात्ती सफारीले मन तान्छ। हौदा राखिएको हात्तीमा ४ जना बस्न मिल्छ। सबैभन्दा ठूलो जनावर हात्ती भएकाले अन्य जनावरबाट हात्ती सफारीमा पर्यटकलाई कुनै डर हुँदैन।घाँसे मैदान या पानीका तालमा दुर्लभ एकसिंगे गैंडा चर्दै र खेल्दै गरेको दृष्य अविस्मरणीय हुन्छ। उनीहरुबीचको क्रिडाले पर्यटकलाई लोभ्याउँछ।

यस्तै दुर्लभ वन्यजन्तु हेर्न पाईने भएकाले नेपालकै सफारी पर्यटनमा उत्कृष्ट गन्तव्य सौराहा बनेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष सुमन घिमिरेको दावी छ। प्रकृतिसँग नजिकिने पर्यटक नेपाल आउँदा सौराहा नघुमी फर्किदैनन्। चितवन निकुञ्जमा बाघ, गैंडा, हात्ती, भालु, चित्तल, जरायो, बँदेल, गौरीगाई, गोही तथा चराचुरुङ्गी पाइन्छ। मयूर नाचेको देख्ने पर्यटकले निकुञ्ज कहिल्यै भुल्दैनन्।बाघ देख्ने पर्यटक भाग्यमानीमा गनिन्छन्।

दुर्लभ पाटेबाघ र एकसिंगे गैंडाको नेपालकै सबैभन्दा ठूलो वासस्थान चितवन निकुञ्जमा छ। निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार यहाँ ६०० भन्दा बढी गैंडा र १२० भन्दा बढी बाघ रहेको छ। पछिल्लो समयमा कोशीबाट अर्ना समेत ल्याइएको छ भने शुक्लाफाँटाबाट बाह्रसिंगे र कृष्णसार ल्याउने तयारी छ। त्यसैले यहाँको जस्तो सफारी पर्यटनको विविधता नेपालको अन्य कहिं नभएको होटल वाईल्डलाईफ क्याम्पका सञ्चालक एवं संघका पूर्व अध्यक्ष शंकर शैंजु बताउँछन्।

जीप सफारी

हात्तीपछिको अर्को मुख्य जीप सफारी हो। सौराहादेखि कसरासम्म विभिन्न क्षेत्र घुम्न पाइन्छ। ३ देखि ४ घण्टाको यो यात्रा निकुञ्ज भित्रैको हो। संयोगपर्दा बाटैमा सुतेको र लस्केको बाघ देख्न पाइन्छ भने गैंडाले बाटो नै छेक्छ। निकुञ्जको मुख्यालय कसरामा पुग्दा नेपालकै एकमात्र गोही प्रजनन् केन्द्रमा विभिन्न उमेर समुहका ५०० भन्दा बढी गोहीहरुले मनमोहक बनाउँछ।साहसिक पर्यटकहरु पैदलै पनि हिंडेर यस्ता दुर्लभ वन्यजन्तु अवलोकन गर्छन्। हरेक सफारीका लागि तालिमप्राप्त पथप्रदर्शकहरु सहयोगी बन्छन्। वन र वन्यजन्तुसँग जोडिएको पर्यटन भएकैले सौराहाको पहिचान नेपालको अन्य पर्यटकिय क्षेत्रभन्दा फरक रहेको संघका महासचिव राममणि खनालको भनाई छ।

डुंगा सफारी

डुंगा सफारी अर्को महत्वपूर्ण र छुटाउन नहुने यात्रा हो । राप्ती नदीमा करिव १ घण्टा देखि दिनभरीसम्मै यो यात्रा लिन सकिन्छ । नदीका छेउकुनामा देखिने ठुला घाम ताप्दै गरेका गोही तथा साइबेरिया लगायत क्षेत्रबाट आउने चराका बथानले आकर्षण थप्छ। पानीचराको मुख्य बासस्थान पनि हो राप्ती नदी। सौराहाको राप्ती किनारमा देखिने सूर्यास्तको दृष्यले सौराहा आएका पर्यटकको भ्रमण अविश्मरणीय बनाउँछ। गोंधुली साँझमा पानीमा पर्ने सूर्यको छायाँ आफैमा मोहित पार्ने हुन्छ। कतिले सूर्यलाई हत्केलामा राखेर तस्विर लिन्छन्। राप्ती किनारका पव रेष्टुराँमा बसेर सूर्यास्तको अवलोकनको मजा नै बेग्लै हुने अर्का पर्यटन व्यवसायी तथा होटल पार्क साईडका सञ्चालक शीरलाल परियार बताउँछन्।

विभिन्न प्रजातीका जनावर पानी पिउन नदीमै पनि आइपुग्छन्। राप्ती नदी हात्ती वाथमा रमाउने पर्यटक बेग्लै छ । हात्तीसँग खेल्दै नुहाउन पर्यटकको लाइन लाग्छ। सुँडले पानी बोकेर फ्याँकेको सावर वाथमा पर्यटक रमाउँछन्। विविधताले भरिएको नेपालमा विविधतायुक्त पर्यटन छ। ट्रेकिङ, माउन्टेन क्लाइम्विङ, साहसिक तथा जल पर्यटन एबं वाईल्डलाईफ पर्यटन आदि। ठाउँ विशेष पर्यटन क्षेत्र फस्टाएको छ पाइन्छ। त्यसमध्यको आकर्षक मानिने वाईल्डलाईफ पर्यटन सफारी पर्यटन को आकर्षक गन्तव्य चितवन हो। चितवनको पनि ख्याती कमाएको क्षेत्र सौराहा हो।

रेष्टुरेन्ट एण्ड बार एसोसिएसन क्षेत्रीय रेवान का अध्यक्ष लालबहादुर भट्ट ‘राजन’ सौराहा वाईल्डलाईफ पर्यटन क्षेत्र भएकाले पर्यटन र संरक्षणलाई सँगसँगै अघि बढाउन जरुरी देख्छन्। उनले पर्यटनमैत्री प्रशासनको खाँचो रहेको समेत औंल्याए।

दैनिक २८ सय पर्यटक बस्नसक्ने क्षमता

सौराहामा मात्रै हाल ११० वटा सुविधायुक्त होटल छन्। झण्डै ७० वटा रेष्टुरेन्टहरु छन्। यहाँ दैनिक २ हजार ८०० पर्यटक बस्न सक्ने क्षमता छ। पश्चिम चितवनमा पछिल्लो समयमा स्टार तहको होटल खुल्ने क्रम बढेको छ। पटिहानी, जगतपुर मेघौलीमा ठूला होटल छन्। नयाँ खुलेका होटलका कारण जिल्लाको समग्र पर्यटक क्षमता बढेको चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलिप मैनाली बताउँछन्। चितवनमा पर्यटकको तथ्यांक नराखिएपनि निकुञ्ज प्रवेश गर्ने पर्यटक करिव बार्षिक डेढदेखि २ लाखसम्म हुन्छ। समग्र चितवनमा झण्डै पाँच लाख पर्यटक आउने अनुमान मैनाली गर्छन्

भूकम्प अघिसम्म सौराहा चिनियाँ पर्यटकले भरिएका थिए। त्यसपछि व्यवसाय ह्वात्तै घट्यो। अहिले पर्यटकको आगमन बाक्लै भएपनि भूकम्प र नाकाबन्दीले थलिएकाले अझै पर्यटक बढेको अनुभूति गर्न नसकिएको होटल रोयल सफारीका सञ्चालक शम्भु माली बताउँछन्। द्वन्द्वकालअघि पर्यटक भनेको विदेशी मात्रै हो भन्ने भ्रम थियो। द्वन्द्वको समयमा पर्यटन व्यवसाय धरासायी भयो । विस्तारै उकासिएको पर्यटक भूकम्प र नाबाबन्दीले फेरि थिल्थिल्यायो। त्यसपछि व्यवसायीहरुले आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिए। सन् २०१६ अघिसम्म सौराहामा ३० प्रतिशत आन्तरिक पर्यटक आउँथे। अहिले बढेर आन्तरिक पर्यटक करिव ४० प्रतिशत पुगेको अनुमान क्षेत्रीय होटल संघ चितवनको छ।  आगामी बर्ष अनुपात बढाएर आधाआधी पार्ने लक्ष्य संघले राखेको छ। विस्तारै उकासिन लागेको पर्यटक अहिले नारायणगढ मुग्लिन सडकको अवरोध र रत्ननगर क्षेत्रको सडकको दुरावस्थाले डाईभर्ट भएको पर्यटन व्यवसायी जीतु तामाङ बताउँछन्। पर्यटकहरु अफ्ठेरो ठाउँमा जाँदैनन्। सजिलो खोज्छन्। त्यसैले चितवन आउन भन्दा पोखरा सजिलो हुँदा पर्यटक उतै गएकाछन्। काठमाडौं र पोखरापछिको आकर्षक पर्यटकीय गन्तव्य चितवन, सडक राम्रो हुने हो भने तीन घण्टाको यात्रामा आइपुग्छन्।

होटल खुल्ने क्रम

बढ्दो चितवनमा पछिल्लो समयमा होटल खुल्ने क्रम बढ्दो छ। सौराहामा पहिलो लगानी १० करोड पुर्‍याएर खोलिएका होटल करिव एक दर्जन पुगेका छन्। अन्य भएका होटलले लगानी बढाउँदै गएका छ। सेन्ट्रल पार्क, ग्रिनपार्क, ल्याण्डमार्क, होटल सेभेनस्टार पछिल्लो समयका बढी लगानीमा खुलेका सुविधासम्पन्न होटल हुन्। जंगल सफारी, वाईल्डलाईफ क्याम्प, रोयल सफारी, पार्क ल्याण्ड, होटल पार्क साईड, प्याराडाईज, चितवन गैंडा लज, ईडन गार्डेन, युनिक वाईल्ड रिसोर्ट लगायत सुविधायुक्त होटलमा पर्छन्। चितवनको पश्चिम मेघौली, जगतपुर, कसरा क्षेत्रमा सौराहाका भन्दा उत्कृष्ट होटल खोलिएका छन्।पश्चिम मेघौली सेराई, बाराही रिसोर्ट, कसरा रिसोर्ट माथिल्लो तहका होटल हुन्। भरतपुर क्षेत्रमा समेत सेन्ट्रल पाम, भरतपुर गार्डेन, ग्लोबल रोयल सेन्च्युरी,जंगल आईल्याण्ड होटल उच्चस्तरका छन् । सौराहामा मात्रै  २० करोड हाराहारीका ५ देखि ७ वटा होटलहरु सञ्चालमा  भैसकेका छन् ।

बेमौसममा पर्यटक तान्न मेला र महोत्सव

पर्यटक आउने मौसम दुई पटक हुन्छ। सेप्टेम्वरदेखि नोभेम्वर र माच देखि मे सम्म मात्रै पर्यटकको मौसम हो। अरु बेला सुनसान जस्तै हुन्छ । त्यसैले अफसिजनमा पर्यटकको बसाई लम्ब्याउन र नयाँ पर्यटकलाई आकर्षित गर्न मेला महोत्सव शुरु गरिएका छन्। विगत १२ बर्षदेखि यहाँ हात्ती महोत्सव गर्न थालिएको छ।

११ बर्षदेखि सौराहा फुड फेस्टिवल हुँदै आएको छ। पर्यटक सुनसान हुने क्रिसमस र अंग्रेजी नयाँ बर्षमा हात्ती महोत्सव हुन्छ। हात्तीका छावाको रोचक फुटवल, हात्ती दौड, हात्ती सुन्दरी, गाडा, टाँगा र डुंगा दौड आयोजना हुन्छन्। यो बर्षदेखि हराएको खेल हात्ती पोलो समेत सौराहामा शुरु भएको छ। प्रेम दिवसको अबसर पारेर खाना महोत्सव हुन्छ। नेपाली नयाँ बर्षमा विशेष उत्सव शुरु गरिएको क्षेत्रीय रेवानका अध्यक्ष राजन भट्ट बताउँछन्। यसका अलावा अन्य विभिन्न उत्सव र ईभेन्ट बढ्न थालेका छन्।

सौराहाका कमजोर पक्ष

दिर्घकालीन योजनाहरु सौराहामा छैनन्। वाईल्डफाईफ पर्यटनमा असर परेमा सौराहा सुनसान हुने पक्का छ। विविधता दिन नसकेको र प्रचार प्रसार गर्न पछि परेको स्वयं व्यवसायीहरु स्वीकार्छन्। विविधता दिन नसक्नु सबैभन्दा ठूलो कमजोरी बन्दै आएको छ। सौराहामा महत्वपूर्ण विकासका कार्यक्रम र खेलगल्फ कोर्स लगायत फरक खालका गतिविधि गर्नु जरुरी छ। यद्यपी ढिलै भएपनि पर्यटन सूचना केन्द्र र सभाहल निर्माणका पहल भने शुरु भएका छन्।

त्यतिमात्रै पर्याप्त छैन।  पर्यटकका लागि चाहिने हस्पिटालिटी भने सौराहामा कमजोर छ। होटल र कर्मचारीका स्तरबृद्धि तथा खानाको गुणस्तरमा अझै सौराहा कमजोर नै देखिन्छ। जसले सौराहामा दोहोर्‍याएर आउन खोज्ने पर्यटक सोच्न बाध्य हुन्छन्। पछिल्लो समयमा भने संघले कार्ययोजना बनाएर विभाग गठन गरी  गन्तव्य पहिचान गरेर अन्य क्षेत्र जोड्ने कोशिस भने शुरु गरेको छ।थाहा खबर


Facebook Comment


No ads found for this position