यो वर्ष २ लाख युरोपियन पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं : नेपाल पर्यटन बोर्डले सन् २०१७ लाई ‘नेपाल भ्रमण वर्ष–युरोप २०१७’ सञ्चालन गरिरहेको छ ।युरोपमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) तथा नेपाली संघसंस्थाहरूको सहकार्यमा हाल युरोपका दर्जनौं मुलुकमा विभिन्न कार्यक्रमसमेत सञ्चालन भइरहेका छन् । साथै अभियानलाई सफल बनाउन राजदूतावास तथा बोर्डका सद्भावना दूतहरूको सहकार्यमा प्रवद्र्धनका कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

बोर्डले गत डिसेम्बर ३१ अर्थात् बोर्डको १८औं वार्षिकोत्सवको अवसरमा सो कार्यक्रम घोषणा गरेको थियो । यो अभियानको मुख्य उद्देश्य हाल युरोपबाट भइरहेको पर्यटक आगमनलाई ३० प्रतिशतले वृद्धि गर्नु रहेकोले अहिले युरोपभर कार्यक्रमहरू सञ्चालन गर्ने तयारीमा रहेको बताउँछन् यस अभियानका संयोजक तथा बोर्डको आयरल्याण्डका लागि मानार्थ प्रतिनिधि दिपेशमान शाक्य ।

सरकारले सन् २०१८ लाई ‘नेपाल भ्रमण वर्ष २०१८’ मनाउने घोषणा गरेकाले त्यसलाई प्रवद्र्धन गर्नसमेत यो कार्यक्रमले सहयोग पुग्ने अपेक्षा रहेको शाक्य बताउँछन् । यस अभियानलाई सफल बनाउन नेपाल पर्यटन बोर्डले युरोपभर रहेका मानार्थ जनसम्पर्क प्रतिनिधिहरूको सक्रियतामा नेपाली नियोग, गैरआवासीय नेपाली र युरोपेलीहरूले समन्वय गर्ने कार्य जारी रहेको  शाक्यले जनकारी दिए ।

आयरल्याण्ड, संयुक्त अधिराज्य, स्वीट्जरल्याण्ड, रुस, नेदरल्याण्ड, बेल्जियम, स्पेन र डेनमार्कका कार्यक्रमहरूको तयारी भइरहेको उनले बताए । युरोपका साथै अन्य देशहरूमा पनि योजनाका लागि नेपाली दूतावास र ती स्थानहरूमा बस्ने नेपालीहरूसँग समन्वय भइरहेको जानकारी शाक्यले दिए । यस अभियानको युरोपमा विधिवत् उद्घाटन आगामी मार्च १५ मा लण्डनमा गर्ने तयारी भएको छ ।

नेपाल भ्रमण वर्ष–युरोपका लागि बोर्डले फोटो प्रदर्शनी, पर्वतारोहण सम्बन्धी गोष्ठी, साथीलाई नेपाल पठाऊँ कार्यक्रम, नेपाली रेष्टुराँमार्फत प्रवद्र्धन, नेपाल डे, बुद्ध जयन्ती, सगरमाथा दिवसजस्ता कार्यक्रम, परिचयात्मक भ्रमण, विदेशस्थित नेपाली समुदायलाई पर्यटन प्रबद्र्धन तथा नेपालीहरूलाई गाडीमा नेपाल भ्रमण गरौं भन्ने सन्देश सहितका स्टिकरहरू टाँस्ने तथा त्यहाँ रहेका नेपालीहरूलाई अभिमुखिकरण गर्ने जस्ता कार्यक्रमहरू आयोजना गर्ने तयारी तिव्र पारेको छ ।

लक्ष्य २ लाख पुरोपियन पर्यटक

नेपालमा भारत, चीनपछि सबैभन्दा धेरै पर्यटक आउने गन्तव्य भनेको युरोप हो । युरोपियन पर्यटकलाई सदावहार र खर्च गर्ने पर्यटकको रूपमा समेत लिइन्छ । नेपाल भ्रमण वर्ष–युरोप २०१७ को अभियानमार्फत सन् २०१७ मा २ लाख युरोपियन पर्यटक पु¥याउने लक्ष्य राखिएको छ । सन् २०१६ मा एक लाख ५० हजार हाराहारीमा युरोपियन पर्यटक नेपाल भ्रमणमा आएका थिए ।

युरोप नेपालका लागि प्रमुख बजारका साथै नेपाली पर्यटनमा ठूलो हिस्सा समेत ओगटेको हुँदा नेपाल भ्रमण वर्ष–युरोप २०१७ ले नेपाली पर्यटनमा नयाँ गति प्रदान गर्ने बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बताउँछन् । सन् २०१६ मा ७ लाख ५३ हजार विदेशी पर्यटक आएकोमा १ लाख ५० हजार युरोपियन पर्यटक रहेका छन् ।

सन् २०१६ मा सबैभन्दा बढी भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । १ लाख १८ हजार २ सय ४९ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तैगरी १ लाख ३ हजार ९ सय ८५ चिनियाँ पर्यटकले नेपाल भ्रमण गरेका छन् । त्यस्तैगरी तेस्रो ठूलो पर्यटक आगमन गर्ने मुलुकमा दक्षिण एसियाली मुलुक श्रीलंकाका पर्यटक रहेका छन् ।

उक्त मुलुकबाट ५७ हजार ५ सय २१ पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल भ्रमणमा आउने चौथो मुलुकमा अमेरिकन नागरिक रहेका छन् । अमेरिकन पर्यटकको संख्या सन् २०१६ मा ५३ हजार ६ सय ४५ रहेको छ । नेपाल भ्रमणमा आउने पाँचौं मुलुकमा बेलायत रहेको छ । उक्त मुलुकबाट ४६ हजार २ सय ९५ पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

युरोपियन पर्यटकलाई विशेष छुट 

पर्यटन व्यवसायीहरूले सन् २०१७ मा युरोपियन पर्यटकको लागि विशेष प्याकेजहरू घोषणा गर्न थालेका छन् । जसका कारण युरोपियन पर्यटकमा झनै आकर्षण बढ्ने अपेक्षा गरिएको छ । यसैक्रममा काठमाडौं गेष्ट हाउस र हाउससँग सम्बन्धित एक दर्जन होटल तथा रेस्टुरेन्टमा युरोपियन पर्यटकको लागि २५ प्रतिशत छुट घोषणा गरिसकेको छ ।

त्यस्तैगरी रुपाकोट रिसोर्टले पनि २० प्रतिशत छुट युरोपियन पर्यटकलाई दिने घोषणा गरिसकेको छ । त्यस्तै गरी हायात होटलले पनि सन् २०१७ मा युरोपबाट आउने सेलिब्रेटीहरूको लागि निःशुल्क रुम उपलब्ध गराउने घोषणा गरिसकेको छ । त्यस्तै होटल अन्नपूर्णले पनि छुट दिने बताइसकेको छ । अहिले युरोपियन पर्यटकलाई छुट दिने घोषण सुरु भएको र अब अधिकांशले दिने तयारी गरेको समेत संयोजक शाक्य बताउँछन् । सन् २०१७ मा ट्राभल तथा ट्रेकिङ एजेन्सीहरूले समेत विशेष प्याकेज बनाउने तयारी गरिरहेको शाक्यले जानकारी दिए ।

युरोपियनको आकर्षण साहसिक पर्यटन

प्राकृतिक सौन्दर्यले आकर्षक गन्तव्य नेपालको पर्यटनमा साहसिक पर्यटन मुख्य गन्तव्य हो । युरोपियन पर्यटकहरू नेपालमा मुख्य गरी पदयात्रामा जाने गरेका छन् । पदायात्रमा जाने १ लाख ५० हजार पर्यटकमध्ये ६० प्रतिशत युरोपियन हुने गरेका छन् । त्यस्तैगरी पुतली जहाज, प्याराग्लाइडिङ, जिप फ्लायर, बन्जी जम्प, कृत्रिम चट्टान आरोहणबाहेक क्यानोनिङ, ¥याफ्टिङ, कायकिङमा पनि युरोपियन पर्यटककै बढी आकर्षण रहेको छ ।

पर्यटन बजारमा सिधा उडान शून्य 

काठमाडौंबाट हवाई सम्पर्क अहिले सबैभन्दा लामो दूरी भनेको टर्की भएको छ । तर हवाई सम्झौताअनुसार ३८ मुलुकसँग नेपालले हवाई सम्पर्क जोड्न सक्छ । रन–वे मा ठूला विमानहरू उडान÷अवतरण गराउन नसक्ने भएकोले ठूला पर्यटन बजारबाट सिधा हवाई उडान हुन सकेको छैन । जसको कारण नेपालको पर्यटनदर बढ्ने भन्दा पनि घट्दो दरमा रहेको छ ।

नेपालमा चीनको बेइजिङ, जापान, युरोप अमेरिकासँग सिधा हवाई उडान हुन सकेको छैन । पर्यटक आगमनमा सबैभन्दा पहिलो प्रभाव पार्ने भनेको हवाई यातायात भएकोले यसको विकासमा लाग्नु जरुरी छ । नेपाल वायुसेवा निगमले खरिद गर्न लागेको वाईडबडी जहाज एयरबस ३३०–२०० सिरिज को जहाजमार्फत भने युरोपका विभिन्न गन्तव्यमा उडान गर्ने लक्ष्य राखेको छ ।


Facebook Comment


No ads found for this position