भूकम्पपछि भाग्ने क्रममा बृद्धको मृत्यु
१६ फागुन, रामेछाप । सोमबार विहान गएको भूकम्पका क्रममा भाग्दा रामेछापको गेलु गाविसमा एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान ९ बजेर २२ मिनेट जाँदा आएको भूकम्पमा भाग्ने क्रममा आँगनको पर्खालबाट चिप्लिएर गेलु गाविस ६ काउले पुरानागाउँका ६० वर्षीय ज्ञानकुमार तामाङको मृत्यु भएको स्थानीय श्यामलाल तामाङले जानकारी दिए ।
तामाङ केहि समयदेखि विरामी परेर थलिएका थिए । भूकम्प आएपछि अत्तालिएर भाग्ने क्रममा बण्डाको थाममा ठोक्किएका उनी पर्खालबाट चिप्लिन पुगेका थिए । उनको घटनास्थलमा नै मृत्यु भएको थियो ।
सोमबार बिहान रामेछापको सुनारपानी केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको पराकम्प गएको थियो । त्यसको ४५ मिनेटपछि बिहान १० बजेर ६ मिनेट जाँदा रामेछापलाई नै केन्द्रबिन्दु बनाएर ४.७ रेक्टरको पराकम्प गएको नेपाल भूकम्प मापन केन्द्रले जनाएको छ ।
सोमबारको पहिलो भूकम्पमा परी साहिल कटुवाल नामका बालक मन्थलीमा घाइते भए । उनलाई सदरमुकाम मन्थलीमा सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौं लगिएको छ ।