नेपाली पर्यटकले बिदेशमा खर्च गर्छन बार्षिक ५६ अर्ब

१७ फागुन, काठमाडौं । नेपालको पर्यटन क्षेत्रको आम्दानीको तुलनामा नेपालीले विदेश घुमघाममा धेरै खर्च गर्ने गरेको तथ्यांकले देखाएको छ ।

पछिल्ला केही वर्षयता नेपाल आएर विदेशीले गर्ने खर्चको तुलनामा नेपाली पर्यटकले विदेश भ्रमण (आउटबाउन्ड टुरिजम)मा गर्ने खर्च ठूलो अन्तरले बढिरहेको नेपाल राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूबाट भ्रमण खर्चमा साटिएको डलरका आधारमा यो तथ्यांक निकाल्ने गरेको छ । यसमा हवाई टिकट, भिसा तथा अन्य प्रयोजनमा हुने खर्च भने समावेश नगरिएको छ ।

 

पर्यटन व्यवसायीहरू पनि अहिले नेपाल आउने पर्यटकको तुलनामा नेपालीलाई विदेश पठाएर व्यवसाय गर्नेको व्यवसाय उल्लेख्य रूपमा बढेको बताउँछन् । ‘अहिले नेपालमा विदेशी ल्याएर घुमाउनुभन्दा नेपालीलाई विदेश घुमाउने कम्पनीले राम्रो व्यापार गरिरहेका छन्,’ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वअध्यक्ष डिबी लिम्बू भन्छन्, ‘यकिन तथ्यांक छैन, तर समग्र पर्यटनबाट नेपालले गर्ने आम्दानीको तुलनामा नेपालीले गर्ने खर्च अत्यधिक छ ।’

ट्राभलका नाममा ५० अर्बभन्दा बढी बाहिरिन्छ

तथ्यांकअनुसार नेपालबाट डलर सटहीबाट मात्र वार्षिक ५५ अर्ब रुपैयाँभन्दा बढी बाहिरिन्छ । नेपालीले भ्रमणका लागि गत आर्थिक वर्ष ०७२-७३ (सन् २०१५-१६)मा ५६ अर्ब ४१ करोड रुपैयाँबराबरको अमेरिकी डलर वा अन्य विदेशी मुद्रा सटही गरेको तथ्यांक छ । तर, विदेशी पर्यटकले नेपालमा सो अवधिमा ४१ अर्ब ४६ करोड मात्रै खर्च गरेका छन् ।

यो तथ्यांक डलर सटहीमा हुने खर्च मात्र हो । यसबाहेक नेपालमा एक खर्ब रुपैयाँबराबर अन्तर्राष्ट्रिय हवाई टिकट बिक्री हुन्छ । त्यसमध्ये नेपाल वायुसेवा निगमसहित नेपाली कम्पनीको भागमा करिब १० प्रतिशत मात्र हिस्सा रहन्छ । ९० प्रतिशत विदेशी कम्पनीले नै कमाइरहेका छन् ।

कति नेपाली घुम्न निस्कन्छन् ?

सन् २०१६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर ११ लाख ३१ हजार पाँच सय २९ नेपाली बाहिरिएका छन् । त्यसमध्ये चार लाख ३३ हजार दुई सय वैदेशिक रोजगारीका लागि बिदेसिने नेपाली छन् । शिक्षा मन्त्रालयका अनुसार पछिल्लो तीन वर्षयता वार्षिक औसत करिब ३० हजार हाराहारी नेपाली विद्यार्थी अध्ययनका लागि बिदेसिन्छन् । सोही आधारमा हेर्दा करिब ६ देखि साढे ६ लाख नेपाली व्यापार–व्यवसाय, सभा–सम्मेलन र भ्रमणका लागि विदेश जाने गर्छन् । व्यवसायीहरूका अनुसार व्यापार–व्यवसाय र सभा–सम्मेलनका लागि जाने नेपालको संख्या पनि घुमफिरमा जानेको तुलनामा ज्यादै कम छ । सन् २०१६ मा विदेशबाट सात लाख २९ हजार पाँच सय ५० पर्यटक नेपाल आएका थिए ।

सस्तो प्याकेजले विदेश भ्रमण बढायो

व्यवसायीहरूका अनुसार नेपालीले सबैभन्दा बढी मन पराउने गन्तव्य थाइल्यान्ड, मलेसिया र सिंगापुर हुन् । करिब एक लाख रुपैयाँमा यी तीनवटै मुलुकको भ्रमण गर्न सकिने गरी प्याकेज बनेका छन् । यसबाहेक एउटा मात्र मुलुकका लागि पनि ५०–६० हजारमा आकर्षक प्याकेज बिक्री भइरहेका छन् । प्रेसिडेन्ट ग्रुप अफ कम्पनिजअन्तर्गतको प्रेसिडेन्ट ट्राभलका अध्यक्ष भोलाविक्रम थापा भन्छन्, ‘अहिले आउटबाउन्ड प्याकेज बेच्ने कम्पनीको संख्या बढिरहेको छ, जसले गर्दा विदेशी गन्तव्यमा नेपालीको सहज पहुँच विस्तार भइसकेको छ ।’


Facebook Comment


No ads found for this position