को को छन् रवीन्द्र मिश्रको नयाँ पार्टीमा?

रोहित खतिवडा

१७ फागुन, काठमाडौं  ।पत्रकार रवीन्द्र मिश्रले बिबिसी नेपाली सेवाबाट राजीनामा दिएसँगै नयाँ दल खोल्ने घोषणा गरेका छन्। धेरैजसो गैरराजनीतिक पृष्ठभूमिबाट आएका व्यक्तिहरूलाई आफ्नो समूहमा लिएका छन्। तर,पहिले माओवादीसँग नजिक भएका र बाबुराम भट्टराईको नयाँ शक्तिमा पनि काम गरेका मुमाराम खनाल भने मिश्रको साथमा हुनेछन्।

यसबाहेक पूर्वसचिव किशोर थापा, पत्रकार अजयभद्र खनाल, चिकित्सक सरोज धिताल, इन्जिनियर सुर्यराज आचार्य, अधिवक्ताहरू ओमप्रकाश अर्याल र निरूपमा यादव नयाँ पार्टीमा हुनेछन्। किशोर थापा निजामति सेवामा लामो समयको अनुभव भएका व्यक्ति हुन्। उनले सहरी विकास मन्त्रालयको सचिवबाट अवकास पाएका थिए। यसपछि पुनर्निर्माण प्राधिकरणमा पनि विज्ञको रूपमा काम गरेका थिए।

उनी अहिले बाग्मति सरसफाइ महाअभियानमा सक्रिय छन्। डा.सरोज धिताल काठमाडौं मोडल अस्पतालमा कार्यरत छन्। उनी २०४६ साल ताका तत्कालीन नेकपा(माले)मा आबद्ध भएर भूमिगत जीवन बिताएका थिए। त्यसपछि राजनीति छोडी पुर्णकालिन जागिरमा लागेका थिए। उनले चीनको सांघाइ मेडिकल विश्वविद्यालयमा अध्ययन गरेका हुन्। धिताल लेखक पनि हुन्। सेतोपाटीसँग कुरा गर्दै उनले लामो समय व्यवसायिक जीवन बिताइसकेकाले अब राजनीतिमा प्रवेश गर्नु स्वभाविक भएको बताए।

‘म रवीन्द्रजीको टिममा छु,’ उनले भने,’र म त्यहाँ हुनु एकदमै स्वभाविक छ।’ अधिवक्ता ओमप्रकाश अर्यालले पनि मिश्रको नयाँ पार्टीको टिममा आफू आबद्ध रहेको बताए। ‘म उहाँसँग सरसल्लाहमै छु,’ अधिवक्ता यादवले भने, ‘अबको राजनीतिमा म उहाँसँग हुनेछु।’ अजयभद्र खनालले ‘द हिमालयन टाइम्स’को सम्पादक भएर केही वर्ष काम गरेपछि पत्रकारिता छोडेका हुन्। यसबाहेक मिश्रको पार्टीमा नेपाल क्रिकेट संघ क्यानकी पूर्वसिइओ भावना घिमिरेको नाम पनि चर्चामा छ। तर, घिमिरेले अहिले नै आफू पार्टीमा लागि नसकेको बताइन्। ‘अहिले मेरा अरू केही कामहरू छन्,’ उनले भनिन्, ‘तत्काल राजनीतिमा लाग्ने वा नलाग्ने भन्ने निर्णय गर्ने समय नै छैन।

मैले कुनै निर्णय लिएको छैन।’ मिश्रसँग केही पटक कुराकानी भएको भने उनले स्वीकार गरिन्। ‘उहाँहरूसँग कुराकानी भएको छ’घिमिरेले भनिन्,’उहाँहरूले जसरी राजनीति गर्ने भन्नु भएको छ, त्यसमा मेरो समर्थन हुनेछ।’ क्यानबाट राजीनामा दिएपछि उनी अहिले बसन्त चौधरी फाउण्डेसनले खोलेको ‘ब्याट एण्ड बल’फाउण्डेसनको सिइओका रूपमा कार्यरत छिन्। यसको अध्यक्ष उद्योगपति चौधरीका ज्वाईं पारस शाक्य छन्। उनलाई अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसि)ले नेपाल प्रतिनिधिसमेत तोकेको छ।

आइसिसिसँगको आबद्धताकै कारण उनले नयाँ पार्टीमा तत्काल खुलेर आउन नसकेको मिश्र निकट स्रोतले जानकारी दिएको छ। पार्टी गठनमा ढिलाई भएकाल आगामी बैशाख ३१ मा हुने स्थानीय निकाय निर्वाचनमा नयाँ पार्टीले भाग लिने छैन। तर, सम्भव भएका ठाउँमा पार्टीका तर्फबाट स्वतन्त्र उम्मेद्वार उठाउने भने तयारी भएको छ। यसपछि हुने सबै निर्वाचनमा भाग लिने तयारी छ। संयोजक मिश्र पार्टी गठनका लागि केही दिन भित्रमै देश दौडाहामा निस्कने तयारीमा छन्। यसबीचमा कम्तिमा सात प्रदेशका प्रदेश कमिटी गठन गर्ने र दुई साता भित्रमा पार्टीको ‘टिम’सार्वजनिक गर्ने उनको तयारी छ।  साभार सेतोपाटी


Facebook Comment


No ads found for this position