कालोसूचीमा परेकालाई विमानस्थल बनाउने ठेक्का

-मनोज बडु, खगेन्द्र अवस्थी,

१८ फागुन दार्चुला/बैतडी ।     सदरमुकाम खलंगा जोड्ने दार्चुला–तिंकर सडक खण्डमा कालोसूचीमा परेको जगदम्बा बिल्डर्स प्रालिलाई नागरिक उड्डयन प्राधिकरणले बैतडीमा विमानस्थल निमार्णका लागि छनोट गरेको छ । प्राधिकरणको एरोड्रम इन्जिनियरिङ विभागले यस कम्पनीको पृष्ठभूमि नहेरी छनोट गरेको हो ।

योसहित अन्य तीन वटा निर्माण कम्पनीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत रहेको सार्वजनिक खरिद अनुगमन कार्यालयले फागुन ६ गते कोलोसूचीमा राखेको छ । अनुगमन कार्यालयको वेबसाइटले यस कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐनअनुसार कालोसूचीमा रहेको अवधिसम्म कुनै पनि सार्वजनिक निकायले आह्वान गर्ने टेन्डर प्रक्रियामा भाग लिन पाइँदैन । यो सूचना नहेरी प्राधिकरणले जगदम्बासहित गाल्बा र च्याङमिला गरी तीनवटा कम्पनीलाई बैतडी विमानस्थलको १२ करोडको निर्माण कार्यका लागि छनोट गरेको छ ।

प्राधिकरणले सरकारी पत्रिका द राइजिङ नेपालको फागुन १३ गतेको अंकमा ५ वटा विमानस्थलको धावनमार्ग सुधार, कालोपत्रे निर्माणलगायतका कार्यका लागि पूर्वयोग्यता मूल्यांकनमा जगदम्बालाई पनि छनोट गरेको सूचना सार्वजनिक गरेको छ । यो सूचनामा बैतडीसहित अछामको साँफेबगर, जुम्ला, डोल्पा र विराटनगर विमानस्थल निर्माणको ठेक्का आह्वान गरिएको छ । यी सबैमा निर्माण व्यवसायीहरूलाई प्राधिकरणले ७२ करोड बराबरको निर्माण जिम्मा दिँदै छ ।

जगदम्बाले दार्चुला जोड्ने उत्तरी तिकंर सडक निर्माणका लागि रायमाझी र नरसिंहसँग संयुक्त रूपमा ०६९ माघ २८ गते ठेक्का सम्झौता गरेको थियो ।

दार्चुला–तिंकर सडक योजनाले पटक–पटक ताकेदा गर्दा पनि सम्झौताअनुसारको काम समयमै नगरेपछि यी तीनवटै निर्माण कम्पनीलाई फागुन ६ गते कालोसूचीमा राखिएको थियो । यिनले उक्त सडक निर्माणका लागि दार्चुला–तिंकर सडक योजनाले आकलन गरेको (इस्टिमेट) गरेको दर भन्दा ४७ प्रतिशत घटीमा ७५ लाख ३६ हजार २ सय ९० रुपैयाँ लागतमा सम्झौता गरेका थिए ।

कम्पनीलाई ०७१ असार मसान्तसम्म म्याद थप गरेर छिटो काम सक्न निर्देशनसमेत दिइसकेको योजना प्रमुख मनीषकुमार शाहले बताए । उनले भने, ‘निर्माण कार्यमा ढिलाइ गर्न थालेपछि उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो ।’ कम्पनीले ७४ प्रतिशत कामको ५५ लाख ८८ हजार ५ सय ८९ रुपैयाँ भुक्तानी लिइसकेको छ ।

सदरमुकाम खलंगामा शून्य विन्दु बनाई तिब्बतको ताक्लाकोट सीमाको तिंकर भञ्जाङसम्मको १ सय ३० किलोमिटर दूरीको राष्ट्रिय महत्त्वको सडकले बजेटमा प्राथमिकता पाए पनि निर्माण व्यवसायीका कारण भौतिक प्रगति प्राप्त गर्न सकेको छैन । यो सडक अपी नगरपालिकाका ५ वडासहित यहाँका ८ गाविस भएर अघि बढेको छ । उक्त सडकको ६५ किलोमिटरसम्म ट्रयाक खोलिएको भए पनि १५ किलोमिटरमा मात्रै जोखिमपूर्ण तरिकाले मोटर चल्ने गरेको छ । ८ वर्षसम्म सडक निर्माण हुन नसक्दा यहाँका स्थानीय जोखिमपूर्ण तुइनको सहायताले भारतीय सडक मार्ग प्रयोग गर्न बाध्य छन् ।साभार कान्तिपुर


Facebook Comment


No ads found for this position