३० अर्बको विदेशी लगानी स्वीकृत

सरस्वती ढकाल

काठमाडौंः विदेशी लगानी आकर्षित गर्न लगानी सम्मेलनको तयारी भइरहेका बेला सरकारले  एकैदिन ३० अर्ब रुपैयाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ । द्योगमन्त्री नवीन्द्रराज जोशीको अध्यक्षतामा बुधबार बसेको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको २ सय २२ औं बैठकले यो लगानी स्वीकृत गरेको हो ।

स्वीकृत भएका आयोजनामा तीन जलविद्युत् आयोजना, दुई सिमेन्ट उद्योग र एउटा होटल गरी ३० अर्ब रुपैयाँको वैदेशिक लगानी स्वीकृत भएको छ । उद्योगमन्त्री जोशीले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्नका लागि लगानी सम्मेलनको अवसर पारेर वैदेशिक लगानी स्वीकृत गरिएको जानकारी दिए ।

लामो समयदेखी पुँजी वृद्धि र पुँजी एकीकरणका लागि व्यवसायीले निवेदन दिए पनि बैठक बस्न नसक्दा लगानी प्रस्ताव नै अन्योलमा थियो । बुधबार बसेको बैठकले लगानीको स्वीकृत गर्ने निर्णय भएपनि आठ आयोजना लाभान्वित भएका छन् ।

बोर्डले लाङटाङ भोटेकोसी हाइड्रोपावर कम्पनी, सिनो हाइड्रो सगरमाथा पावर कम्पनी, सोल्टी होटल र सर्वोत्तम सिमेन्टमा पुँजी वृद्धिको निर्णय गरेको छ । त्यस्तै श्वेतगंगा हाईड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडमा विदेशी लगानीका लागि र अर्घाखाँची सिमेन्टमा विदेशी पुँजी एकीकृत गर्न स्वीकृति दिएको छ ।

बोर्डले सोल्टी होटलमा १ अर्ब २६ करोडबाट २ अर्ब ९० करोड रुपैयाँ, लाङटाङ भोटेकोशी हाइड्रोपावरमा २ अर्ब ९० करोडबाट २० अर्ब र सर्वोत्तम सिमेन्टमा ६ अर्बबाट ९ अर्ब ९७ करोड रुपैयाँ विदेशी लगानी पुँजी पु-याउन स्वीकृति दिएको हो ।

अर्घाखाँची सिमेन्टको एउटा कम्पनीको एक अर्ब १० करोड पुँजी थियो भने अर्काेको १ अर्ब ९० करोड थियो । अब यी दुवै कम्पनी एकीकरण भएपछि कम्पनीको कुल पुँजी तीन अर्ब रुपैयाँ पुगेको छ ।

बोर्डले उद्योग संचालनको म्याद थप सम्बन्धी नीतिगत व्यवस्थाका सम्बन्धमा कानुनी राय माग गर्ने निर्णय गरेको छ । लगानी बृद्धिको निर्णयले बिहिबारदेखी सुरु हुने लगानी सम्मेलनलाई थप हौसला पुग्ने नेपालमा बैदेशिक लगानी भित्रयाउन सहज पुग्ने मन्त्री जोशीको भनाइ छ ।

उद्योग विभागमा गत आर्थिक वर्ष २०७२/७३ मा १५ अर्ब १३ करोड रुपैयाँको विदेशी लगानी आएको थियो । अघिल्लो वर्ष  ६७ अर्ब रुपैयाँको विदेशी लगानी आएको थियो । आब २०७८/६९ मा ७ अर्ब, २०६९/७० मा आउँदा एफडीआई बढेर १९ अर्बमा पुगेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७०/७१ म २० अर्ब रुपैयाँ एफडीआई आएको विभागको तथ्यांक छ । उद्योगमा विभागमा २ अर्बभन्दा कम लगानीका उद्योग मात्रै संचालन हुने गरेको छ ।

२ देखी १० अर्ब रुपैयाँ औद्योगिक प्रवद्र्धन बोर्ड र १० अर्बभन्दा माथिका लगानी लगानी बोर्डमार्फत आउने गरेको छ । सरकारले कृषि तथा वन्यजन्तु, निर्माण, उर्जामूलक, उत्पादनमूलक, खनिज, सेवा र पर्यटन गरी सात बिधामा प्रत्यक्ष वैदेशिक लगानी भि-याउँदै आएको छ ।

लगानी सम्मेलन आजदेखी
सरकारले देशमा लगानी भि-याउने उद्देश्यले ‘नेपाल लगानी सम्मेलन’ आजदेखी काठमाडौँमा सुरु गर्दैछ । १ खर्ब रुपैयाँ लगानी भिœयाउने लक्ष्यसहित उद्योग मन्त्रालय र लगानी बोर्डको सहकार्यमा सम्मलेन आयोजना हुन लागेको हो ।

सम्म्मेलनमा ऊर्जा, पूर्वाधार, पर्यटन, सूचना प्रविधि, वित्तीय क्षेत्र, खानी तथा खनिज, कृषि तथा वनजन्य उत्पादन लगायतका क्षेत्रका लगानीको सम्भावना देखाउने देखाउने कार्यक्रम छ ।

भारतका अर्थमन्त्री अरुण जेट्ली तथा एसियाली पूर्वाधार लगानी बैंकका अध्यक्ष जीन लिक्योन सम्मेलनको प्रमुख आर्कषणका रुपमा रहनेछन् । उद्योग मन्त्रालयका अनुसार विदेशी र स्बदेशी लगानीकर्ता गरी ९ सय लगानीकर्ताको सहभागिता रहनेछ ।

सम्मेलनमा भारत, चीन, बंगलादेश, श्रीलंका, सिंगापुर, हङकङ मलेसिया, अष्टे«लिया, फ्रान्स, इटाली, जापान लगायतका दुई दर्जनभन्दा धेरै देशका २ सय ५० व्यक्तिको संस्थागत तथा व्यक्तिगत सहभागिता रहनेछ ।

लगानी सम्मेलनलक्षित ९ क्षेत्र सरकारले किटान गरिसकेको छ । सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्दैछन् । २२ देशका २ सय ६६ सहभागीमध्ये विश्वकै चर्चित लगानीकर्ता आउने पक्का भएको उद्योग मन्त्रालयले जनाएको छ ।

क्यानडाको हाइड्रो क्यूबेक, चाइना रेलवे ओरन्टल इन्टरनेशनल ग्रुप, जापानको कान्साई इलेक्ट्रिक पावर कम्पनी, कोरियन वेस्टर्न पावर कम्पनी, कोरिया वाटर रिसार्स कर्पाेरेसन सहभागी हुनेछन् । चीनबाट सबैभन्दा बढी ९० र भारतका ३४ लगानीकर्ता आउने भएका छन् । साभार काराेबार


Facebook Comment


No ads found for this position