पञ्चेबाजा बजाएर पढाइ खर्च जुटाउँदै

सुशीला रेग्मी
रामपुर (पाल्पा), फागुन । सिलुवा गाविसका १४ वर्षीय भीमबहादुर परियारले सहनाई बजाउँदै गरेको देख्ने जोकोही पनि अचम्मित हुन्छन् । उहाँले सहनाई बाजाको धुन निकालेपछि सबैमा उत्साह र रमाइलोपनको महसुस हुन्छ । उहाँ यही सहनाई बाजा बजाएर आफ्नो पढाइ खर्च जुटाउँदै आउनुभएको छ ।

सानै उमेरदेखि नै परियारले पञ्चेबाजामा विशेष चासो दिने गर्नुहुन्थ्यो । उहाँ लुकिछिपी बाजा बजाउन सिक्नु हुन्थ्यो । अहिले परियार कुशल सहनाईबादकका रुपमा चिनिन थाल्नुभएको छ । “विवाह, भोजभतेर, गाउँमा हुने विभिन्न सामाजिक कार्यमा बाजा बजाउँदै आएको छु,” उहाँले भन्नुभयो ।

बाजा बजाएवापत पाएको रकमबाट विद्यालयको शुल्क र शैक्षिक सामग्री खरिद गर्दैआएको उहाँ बताउनुहुन्छ । शारदा आधाभूत विद्यालय सिलुवामा कक्षा ७ मा अध्ययनरत परियारबाटै कक्षा ५ मा अध्ययनरत ११ वर्षीय शक्ति परियारले पनि पञ्चेबाजा बजाउन सिकिरहनुभएको छ ।

“पढाइलाई निरन्तरता दिँदै भविष्यमा सङ्गीतकार बन्ने सोच लिएको छु,” परियारले भन्नुभयो । बाजा बजाएर सङ्कलन गरिएको रकम पढाइ खर्च र अभिभावकलाई दिने गरेको उहाँले बताउनुभयो । “बाजा बजाउन थालेदेखि आर्थिक समस्या टर्दै गएको छ,” उहाँले भन्नुभयो ।

यहाँ १४ वर्षमुनिका सातजना बालकले तीन वर्षयता समूहमा सहनाई, बिकुल, झ्याली, ढोलक, दमाह, ट्याम्को र नरसिङ्गा बाजा बजाउँदै आएका छन् । गाउँका सामाजिक, सांस्कृतिक र विभिन्न कार्यका लागि बाजा बजाउन सो समूहलाई रोज्ने गरिन्छ ।

कक्षा ७ मा अध्ययनरत सङ्गम परियार झ्याली पिट्न निकै सिपालु हुनुहुन्छ । कक्षा ४ मा अध्ययनरत दिपेश परियार दमाहा बजाउन खप्पिस हुनुहुन्छ । उहाँ सानैदेखि अरुले दमाह बजाएको हेर्ने र त्यसैको सिको गरेर अहिले कुशल दमाहबादक बन्दै जानुभएको छ ।

पञ्चेबाजाअन्र्तगत दमाहा, ट्याम्को, नरसिङ्गा, सहनाई, झ्याली पर्दछन् । विशेष गरी विवाह, मेला तथा पर्वमा परम्परादेखिनै बजाइदै आएको पञ्चेबाजा हिजोआज कमै मात्रामा प्रयोग हुने गर्दछ । गाउँमै बाउबाजेले प्रयोग गर्दै आइरहेको पञ्चेबाजाका सामग्री बालकको समूहले चलनचल्तीमा ल्याएका हुन् । बूढापाका र युवापुस्ताले बजाएको जस्तै बालक समूहले बाजा बजाउने गरेको छ ।

दिनभर बाजा बजाएर समूहले रु १५ हजारदेखि रु १८ हजारसम्म पारिश्रमिक लिने गरेको सो समूहका सदस्य सङ्गम परियारले बताउनुभयो । “विवाहको समयमा विद्यालयबाट बिदा लिएर समेत बाजा बजाउन जाने गरेका छौँ,” उहाँले भन्नुभयो । सो समूहको प्रस्तुति देखेर नै यहाँका अधिकांशले उनीहरुलाई खोजी खोजी बोलाउने गरेका छन् । उनीहरु विवाहका लागि बाजा बजाउन रामपुर, बुटवल, स्याङ्जालगायतका स्थानसम्म पुग्ने गरेका छन् ।

विद्यार्थीको वाद्यबादनप्रतिको मोह, रुची र कला देख्दा हरेक विद्यालयमा सङ्गीतकला शिक्षण कार्यलाई समावेश गर्नु आवश्यक रहेको शिक्षक विष्णु सुनारीको भनाइ छ । “सैद्धान्तिक ज्ञानभन्दा पनि विद्यार्थीको रुची अनुसार शिक्षा दिन सके शिक्षण कार्य बढी प्रभावकारी बन्ने देखिन्छ,” उहाँले भन्नुभयो । परम्परागत शिक्षाले सिकाइमा उत्साहका सट्टा नैराश्यता सिर्जना गरेको उहाँको बुझाइ छ ।


Facebook Comment