सयौँ बन्दीलाई निर्वस्त्र पारेपछि

दुव्र्यसनी नियन्त्रण गर्ने बहानामा फिलिपिन्सको बन्दीगृहमा सयौँ बन्दीमाथि अमानवीय व्यवहार
मनिला। फिलिपन्स प्रहरीले जेलभित्रका कैदीलाई सामूहिक रूपमा निर्वस्त्र पारेर अमानवीय व्यवहार गरेको छ । कैदीले लागुऔषध लुकाएको आरोप लगाउँदै सेबु प्रान्तीय जेलका कैदीलाई बुधबार बिहान निर्वस्त्र पारेको हो । प्रहरी, सेना र लागुऔषधविरुद्धको निकाय ड्रग्स इनफोर्समेन्ट एजेन्सी (डिइए)ले सयाैँ बन्दीलाई सामूहिक रूपमा निर्वस्त्र पारेको हो ।

एम्नेस्टीको विरोध
कैदीको निर्वस्त्र तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेपछि मानवअधिकारवादी संघसंस्थाले गम्भीर आपत्ति प्रकट गरेका छन् ।‘फिलिपिन्स सरकारले कैदीबन्दीमाथि गरेको निर्दयी र अमानवीय व्यवहार उदांगो भएको छ,’ एम्नेस्टी इन्टरनेसनलले एक विज्ञप्तिमा भनेको छ । कैदीहरू यातना र दुव्र्यवहारका  साधन नभएको जनाउँदै एम्नेस्टीले अमानवीय व्यवहार तत्काल रोक्न फिलिपिन्स सरकारसँग आग्रह गरेको छ ।

गोपनीयताको अधिकार उल्लंघन
खानतलासीका नाममा सरकारले कैदीमाथि हदैसम्मको दुव्र्यवहार गरेको ह्युमन राइट वाचले जनाएको छ । ‘निर्वस्त्र बनाएर खानतलासी गर्नु तथा त्यस्ता अमानवीय कार्यको तस्बिर खिच्ने अनुमति दिनु  कैदीको गोपनीयताको अधिकारको गम्भीर उल्लंघन हो,’ वाचले भनेको छ । कैदीलाई आम नागरिकसरह व्यवहार गर्न र उनीहरूमाथि भइरहेका दमन रोक्न वाचले सरकारसँग माग गरेको छ । वाचले कुनै निश्चित अपराधको सजाय भोगेका कैदीलाई दुव्र्यसनीको बहानामा सरकारले अर्को सजाय दिन सक्ने चिन्तासमेत व्यक्त गरेको छ ।

कैदीमाथि छापा
फिलिपिन्सले बन्दीगृहभित्रै गोप्य रूपमा दुव्र्यसनी बढेको भन्दै छापा मारेको तर्क गरेको  छ । छापा मार्ने क्रममा बन्दीबाट चक्कु, मोबाइलसहित ठूलो परिमाणमा लागुऔषध बरामद गरेको दाबी गरेको छ । तर, कैदीलाई यातना दिन निर्वस्त्र पारेर पलेटी कसी बस्न लगाएको सर्वसाधारणले बताएका छन् ।

सुरक्षाकर्मीको निर्देशमा निर्वस्त्र
प्रान्तीय गर्भनर र सुरक्षाकर्मीको निर्देशनमा कैदीलाई निर्वस्त्र पारिएको फिलिपिन्सको लागुऔषधविरुद्धको निकायका प्रवक्ता देरिक क्यरिअनले बताए । ‘हामीले त केबल प्राविधिक सहयोग मात्र गरेका हौँ,’ उनले भने ।

जेलभित्र लागुऔषध कारोबार भएको गोप्य सूचनाका आधारमा सरकारले सो कदम चालेको प्रान्तीय सरकारका सूचना अधिकारीले बताए । सन् २००७ मा उक्त जेलका बन्दीहरूले माइकल ज्याक्सनको गीतमा नृत्य गरेको भिडियोसमेत सार्वजनिक भएको थियो ।

हजारौँ मारिए
दुव्र्यसनविरुद्धको कारबाहीमा सरकारले पछिल्लो आठ महिनामा हजारौँ निर्दोष नागरिकको हत्या गरेको राष्ट्रसंघले जनाएको छ । सरकारले दुव्र्यसनविरुद्धको युद्धका नाममा मानवताविरोधी अपराध गरेको पनि राष्ट्रसंघले हालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । यसैबीच, फिलिपिन्सका राष्ट्रपति रोड्रिगो दुर्तेतेले लागुऔषधविरुद्धको सरकारी कारबाही अझै सशक्त पारिने जनाएका छन् ।


Facebook Comment


No ads found for this position