कञ्चनजंघा आरोहण खुला, शिखर चढ्ने तयारीमा तीन महिला

आनन्द गौतम  

विश्वको तेस्रो अग्लो हिमशिखर (८,५८६ मिटर) कञ्चनजंघामा तीन वर्षपछि आरोहण हुने भएको छ । ‘थ्री वुमेन, थ्री टप’ नामक अभियान सुरु गरेका तीन जना महिलाले आरोहण गर्ने भएका छन् । ओखलढुंगाकी माया शेर्पा, सोलुखुम्बुकी पासाङल्हामु शेर्पा र दोलखाकी दावा याङजोम शेर्पाले आरोहणको तयारी गरेका छन् ।

जलवायु परिवर्तन न्यूनीकरणको सन्देश बोकेर अप्रिल ७ तारेख (चैत २५ गते) काठमाडौंबाट हिँड्ने मायाले टेलिफोनमा बताइन् । ‘अहिले त्यहाँ जान लाग्ने खर्च संकलन गरिरहेका छौं,’ मायाले भनिन्, ‘सबै टोलीलाई गरी ४५ देखि ५० लाखसम्म लाग्ने भएकाले निकै कसरत गर्नुपरेको छ ।’ २००७ मा विश्वको सर्वोच्च शिखर सगरमाथा, २०१४ मा पाकिस्तानमा रहेको दोस्रो अग्लो हिमशिखर माउन्ट के टु को सफल आरोहण गरिसकेको टोलीले तेस्रो हिमाल आरोहणको तयारी गरेको हो ।

तुलनात्मक रूपमा यो हिमाल निकै अप्ठ्यारो भएकाले तयारी पनि राम्रै गर्नुपरेको उनले बताइन् । अहिलेसम्म ट्रेकिङ एसोसिएसनले ७ र सेभेट समिट ट्रेकिङ एजेन्सीले ५ लाख रुपैयाँ सहयोग गरेका छन् । नेपाल पर्यटन बोर्ड, पर्वतारोहण संघ लगायतका संघसंस्थासँग अनुरोध गरेको मायाले बताइन् । आरोहणका लागि सेभेट समिट ट्रेकिङ एजेन्सीले सहयोग गर्ने बताएको छ ।

महिलाहरू सजिलो हिमाल मात्र आरोहण गर्छन् भन्ने भ्रम चिर्नु र जलवायु परिवर्तनले पारेको प्रभावका विषयमा जनस्तरमा जानकारी गराउनु उनीहरूको उद्देश्य छ । यो हिमाल आरोहणमा ४५ देखि ५० दिन लामो यात्रा हुन्छ । सुकेटार विमानस्थलबाट ट्रेकिङ अवधि मात्रै २४ दिनको हुन्छ ।

पर्यटन मन्त्रालय पर्यटन विभागको पर्वतारोहण शाखाका नायब सुब्बा ज्ञानेन्द्र श्रेष्ठका अनुसार सन् २०१५ देखि कञ्चनजंघा हिमालको आरोहण भएको छैन । आरोहणका लागि स्वदेशी तथा विदेशी कोही पनि आएका छैनन् । सन् २०१३ र १४ मा आरोहणका क्रममा यहाँ लगातार दुर्घटना भएको थियो । २०१३ मा तीन र १४ मा पाँच जनाको आरोहणकै क्रममा ज्यान गएको थियो । उनीहरूको शव पनि निकाल्न सकिएको छैन । महिला टोलीले भने व्यवस्थित ढंगले चुनौतीको सामना गर्दै आरोहण गर्ने तयारी गरेका छन् ।

‘सगरमाथामा सरकारले नै बाटो बनाइदिन्छ । भर्‍याङ लगाइदिन्छ । कञ्चनजंघामा आफैंले बनाउनुपर्ने भएकाले पनि आरोहीले कम चासो राख्छन्,’ पटकपटक सगरमाथा आरोहण गरेका ताप्लेजुङ लेलेपमा मिङमा शेर्पाले भने । उनको बुझाइमा दुर्घटना सगरमाथा, मकालु जस्ता हिमालमा पनि भइरहेकाले कञ्चनजंघालाई मात्रै ठूलो मान्नु पर्दैन । जलवायु परिवर्तनका कारण दुर्घटना बढेको उनको बुझाइ छ ।

अहिलेसम्म कञ्चनजंघामा अधिक आरोही पठाइरहेका सेभेन समिट ग्रुपका प्रबन्धक मिङमा शेर्पा चौथोदेखि पाँचौं बेसक्याम्पमा विशेष ध्यान दिनुपर्ने बताउँछन् । ८ हजार २ सय मिटर उचाइको यो क्याम्प अरूको तुलनामा लामो पनि छ ।साभार कान्तिपुर


Facebook Comment