चीनको सीमासँग जोडिएका प्रतिबन्धित क्षेत्र खुलाउने तयारी

चन्द्रलाल गिरी

चीनको सीमा नजिकै प्रतिबन्धित क्षेत्र पर्यटनका लागि खुलाउने प्रक्रिया सरकारले अगाडि बढाएको संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनबहादुर शाहीले बताए। नेपालखबरसँग कुराकानी गर्दै मन्त्री शाहीले चीनसँग जोडिएका सीमा क्षेत्रमा पर्यटनका लागि बन्द गर्नुपर्ने कुनै कारण नभएको जनाए।

‘हामीले सीमा क्षेत्रका प्रतिबन्धित क्षेत्र खुलाउनका लागि आवश्यक सबै डकुमेन्ट तयार पारेर गृह मन्त्रालय पठाइसकेका छौं। गृह मन्त्रालयले नै हिमाली जिल्लाका कयौं क्षेत्रमा पर्यटकनका लागि प्रतिबन्ध लागाउदै आएको थियो। त्यसैले हामीले गृहलाई खुलाउन डकुमेन्ट पठाएका हौं, मन्त्री शाहीले भने, ‘गृहले खुलाउने प्रक्रिया अगाडि बढाइसकेको छ।’

चीनसँग जोडिएका ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, रसुवा, गोर्खा, मनाङ, मुस्ताङ, मुगु, डोल्पा र हुम्ला जिल्लाका केही सीमावर्ती गाउँहरुमा पर्यटनमा गृहले प्रतिबन्ध लगाउदै आएको छ। सन् १९७० देखि पर्यटनका लागि निषेधित सो क्षेत्रमा अहिले कुनै सुरक्षा चुनौति नभएको ठानी पर्यटन मन्त्रालयले उक्त क्षेत्र खुलाउन पहल थालेको जनाएको छ।

‘पहिला चीनविरुद्ध निर्वासित तिब्बतीहरुले खम्पा विद्रोह(युद्ध) गरेकोले सो क्षेत्रमा पर्यटनका लागि रोक लगाइएको थियो। अहिले मित्र राष्ट्र चीनविरुद्ध त्यस्तो कुनै खतरा छैन। त्यसैले हाम्रो पर्यटनको विकास र पूर्वाधार निर्माणका लागि पनि सो ठाउँ खुला गर्नुपर्ने अवस्था छ’, मन्त्री शाहीले भने।

हाल निषेधित क्षेत्रमा पर्यटकले स्पेशल अनुमति लिएर मात्र जान सक्ने व्यवस्था छ। प्रतिबन्ध खुला गरेपछि भने पर्यटकले सो झन्झिटिलो प्रक्रिया झेल्नुपर्ने छैन।

‘यी क्षेत्र खुला गरेपछि पर्यटकको बृद्धि हुन्छ। हामीजस्ता हिमाली मुलुकको विकास गर्न पर्यटन नै मुख्य आधार हो’, मन्त्री शाहीले थपे।

सन् १९७४ मा नेपाली सेनाले खप्पा विद्रोह सफलतापूर्वक नियन्त्रणमा लिएयता नेपालको भूमिबाट चीनविरुद्ध संगठित रुपमा सशस्त्र गतिविधि भएको छैन। यही आधारलाई मानेर पर्यटन मन्त्रालयले गृहलाई प्रतिबन्धित क्षेत्र खुलाउन आवश्यक प्रक्रिया अगाडि बढाएको हो।

चाँडै नै प्रतिबन्धित क्षेत्र पर्यटनका लागि खुला गरिने मन्त्री शाहीले जानकारी दिए।

पर्यटन व्यवसायी र एजेन्सीहरुले सरकारलाई उक्त क्षेत्रमा प्रतिबन्ध हटाउन दबाब दिंदै आएका थिए।


Facebook Comment


No ads found for this position