८६ वर्षे मीनहादुर सगरमाथा आरोहण गर्ने

२४ फागुन, काठमाडौं । ८६ वर्षीय मीनबहादुर शेरचनले सगरमाथा आरोहण गर्ने भएका छन् । आरोहण दलका सदस्यसहित शेरचन आगामी चैत तेस्रो साता सगरमाथा आधार शिविरतर्फ लाग्ने भएका छन् ।

 

सन् २००८ मा ७६ वर्षको उमेरमा उनले तीन सय ४० दिन लगाएर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान राखेका थिए । ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण अभियान’ ले सोमबार पत्रकारसम्मेलन गरी सन् २०१३ र २०१५ मा प्राविधिक कारणले अक्षम भएको भन्दै यस वर्ष आरोहण गर्न लागेको अभियानका संयोजक क्याप्टेन जितबहादुर घर्तीमगरले बताए । आरोही शेरचनले विश्वशान्ति र पृथ्वीआमाको रक्षाका लागि सगरमाथा जान लागेको बताए ।

‘मेरो ८६ वर्ष उमेर किर्ते गरेको हो जस्तो लाग्छ । म सगरमाथा चढेरै छाड्छु’, उनले विश्वास दिलाए । ज्येष्ठ नागरिकले पनि केही गर्न सक्छ भन्ने सन्देश दिन खोजेको उनले पत्रकारसँग बताए । ‘केश फुलेको छ, मन फुलेको छैन कि मरेर आउँछु कि चढेर आउँछु’, उनले भने, ‘इतिहास कायम गरी राष्ट्रलाई चिनाउन यो उमेरमा मैले सगरमाथा रोजेको हुँ ।’ ज्येष्ठ नागरिक कोषका अध्यक्ष रामकृष्ण आचार्यले ज्येष्ठ नागरिकको उदाहरणीय साहसलाई लक्ष्यमा पुर्याउन सबैले उत्साह दिनुपर्ने उनले बताए ।

यसअघि ज्येष्ठ नागरिक शैलेन्द्रकुमार उपाध्यायले आरोहण प्रयास गरे पनि उनको हिमालमै मृत्यु भएको थियो । शेरचनकी बुहारी सिर्जनाले भने आफूहरूले बुबालाई नजान भनेको तर हार खान नसकेर हिमाल पठाउने तयारी गरेको बताइन् ।आरोहण दललाई म्याग्दी प्रवासी नेपाली संघ बेलायत, गैरआवासीय नेपाली संघ बेलायत, थकाली समाज बेलायत र मगर समाज बेलायतले सहयोग गर्नेछन् ।

बेलायत सेनामा कार्यरत २२ नेपाली र बेलायती नागरिकसहितको टोली पनि सोही समय सगरमाथा जाने कार्यक्रम रहेको समिट नेपाल ट्रेकिङ एजेन्सीका प्रमुख शिवलाल थापाले बताए । आरोहणका लागि करिब ९५ लाख रुपैयाँ तय गरिएको छ ।पर्यटन विभागका सूचना अधिकारी दुर्गादत्त ढकालले भने शेरचनलाई आरोहण अनुमति नदिइएको बताए ।

पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को ३ नम्बर बुँदामा पर्वतारोहणका लागि अनुमति लिनुपर्ने व्यवस्था छ । नियमावलीमा १५ वर्ष काटेकालाई मात्र अनुमति दिने उल्लेख भए पनि माथिल्लो उमेरको व्यवस्था छैन ।


Facebook Comment


No ads found for this position