होलीमा रंग यसकारण खतरनाक मन्द विष

काठमाडौंको वसन्तपुरमा रहेको कुमारीघर अगाडि रंगीबिरंगी कपडासहितको ३ तले चीर अबिर र रंग छर्किएर ठड्याएपछि आइतबारदेखि औपचारिक रूपमा यस वर्षको होली शुभारम्भ भएको छ।

तर रंगहरूको पर्व होलीमा प्रयोग गरिने रंग र इनामेल भने स्वास्थ्यका दृष्टिले घातक हुने विज्ञहरूको ठहर छ। रंग र इनामेलमा जनस्वास्थ्यलाई दीर्घकालसम्म प्रतिकूल असर पुर्याउने ‘लेड को मात्रा उच्च हुने भएकाले त्यस्ता सामग्रीको प्रयोग नगर्नु बुद्धिमानी हुने चिकित्सकहरूको सुझाव छ।

जनस्वास्थ्यमा तत्कालै नकारात्मक प्रभाव नदेखिए पनि लेडको असर दीर्घकालसम्म मन्द विषका रूपमा रहने नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य–सचिव डा. खेमबहादुर कार्की बताउनुहुन्छ। ‘एकपटक शरीरमा प्रवेश गरेको लेड शरीरभित्रै रहन्छ, यसको निदान सम्भव छैन, अहिलेसम्म यसको यकिन औषधि पत्ता लागेको छैन।

उहाँले भन्नुभयो– ‘रोग लाग्नुअघि सावधानी अपनाउनु नै उत्तम विकल्प हो।
उहाँले प्रस्ट्याउनुभयो– ‘खास गरी बच्चा र गर्भवती महिला लेडको प्रभावबाट जोगिनु उत्तम हुन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष १ लाख ४३ हजार व्यक्तिको निधन लेडकै असरका कारणले हुने गरेको छ।

सोही संगठनका अनुसार हरेक वर्ष विश्वका ६ लाख बालबालिका लेडका कारण बोधोपनको समस्याले ग्रसित हुने गरेका छन्। चिकित्सकहरूका अनुसार लेडका प्रभाव भएका बच्चाहरूमा अध्ययनमा रुचि नहुने, स्मरण शक्ति कमजोर हुने, चिट्चिडहाटको समस्या निम्तिनुका साथै शरीरको वजन कम हुने, कब्जियत हुने, बान्ता हुने, पेट दुख्नेलगायतका समस्या देखिने गर्छ।

त्यसै गरी वयश्कहरूमा उच्च रक्तचापको समस्या, शरीर थकित हुने, शरीरको मांसपेशी र जोड्नी दुख्ने, स्मरण शक्तिमा ह्रास आउनुका साथै हात खुट्टा झमझमाउने समस्या हुन सक्ने विज्ञहरू बताउँछन्। गर्भवती महिलाको गर्भ तुहिने, चिकित्सकले तोकेको अवधि अगावै वच्चा जन्मिने, पुरुषहरूलाई शुक्रकिटको मात्रा न्यून हुने र बाँझोपनको समस्या हुने सक्ने विज्ञहरूको ठहर छ।

२५ फागुन, काठमाडौं । बच्चाका खेलौना र महिलाका शृंगार सामग्री, सिन्दुर, होली र तिहारमा प्रयोग गरिने विविध किसिमका रंग, इनामेललगायतमा लेडको मात्रा उच्च हुने जानकारहरू बताउँछन्। स्वास्थ्य अनुसन्धान परिषद्ले गतवर्ष काठमाडौं उपत्यकाका बालबालिका बारे गरेको अध्ययनले उपत्यकाका बालबालिकामा लेडको प्रभाव उच्च रहेको देखाएको छ। काठमाडौंको टिचिङ अस्पताल, ललितपुरको पाटन र भक्तपुरको सिद्धि मेम्मोरियल अस्पतालमा उपचारका लागि पुगेका ३ सय १२ बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा यस्तो नतिजा देखिएको परिषद्ले जनाएको छ। ‘उपत्यकाका करिब ९० प्रतिशत बालबालिकामा लेडको मात्रा औसतभन्दा माथि छ –परिषद्का सदस्य–सचिव डा. कार्कीले भन्नुभयो।

परिषद्ले करिब १ वर्षको अवधिमा ६ महिनादेखि ३६ महिना उमेरसम्मका बच्चाहरूको स्वास्थ्य परीक्षण गरेको थियो। बालबालिकाको शरीरमा ५ माइक्रोग्राम प्रतिडेसिलिटर लेडको मात्रालाई सामान्य तहको मानिन्छ भने वयश्कहरूमा १० माइक्रोग्राम प्रतिडेसिलिटरलाई औसत मान्ने गरिएको छ। रंग र इनामेलको कणसमेत मिसिएको धुलाम्य क्षेत्रमा खेल्ने बालबालिका औद्योगिक क्षेत्र आसपासका बस्तीका बालबालिकामा लेडको मात्रा उच्च हुनसक्ने यस विषयका जानकार डा। केयुर गौतम बताउनुहुन्छ।

गौतम नेतृत्वको टोलीले केही महिनाअघि वीरगन्ज औद्योगिक क्षेत्र आसपासका बालबालिका बारे गरेको अध्ययनमा लेडको प्रभाव भेटिएको थियो। नेपाल समाचारपत्र दैनिकमा खबर प्रकाशित छ। विकसित मुलुकहरूले लेडको प्रयोगमा मापदण्ड कडाई गरेपछि ‘डिस्पोज गर्नुपर्ने उत्पादन लुकाई–छिपाई सस्तो मूल्यमा विकासोन्मुख मुलुकमा भित्रिने गरेकाले नेपाल जस्ता पीछडिएका देशमा समस्या हुने गरेको गौतमको तर्क छ।


Facebook Comment