नेपाली भूमि मिच्ने भारतीय दाउ
२८ फागुन, काठमाडौं । पारि भारतको बसहीकस्वा, वारि आनन्द बजार। बीचमा रहेको अलि उँचो भूभागलाई बूढापाकाले दुम्के डाँडा भन्थे। तर, पटकपटक सीमा विवादका कारण तनाव बढ्न थालेपछि स्थानीय बासिन्दाले यसको नाम ‘कारगिल डाँडा’ राखिदिए। भारतीय प्रहरीले बिहीबार नेपाली भूभागमै पसेर गोली चलाउँदा एक जनाको मृत्यु भएपछि विवाद फेरि बल्झिएको छ।
‘सीमापारिबाट दिनहुँजसो मदिरा पिउन आनन्द बजार पुग्ने भारतीय सीमा सुरक्षा बलका जवान र सर्वसाधारणले नै यो डाँडाको नाउँ कारगिल राखेका हुन्,’ स्थानीय शेरबहादुर कामीले भने, ‘गोली चलेको घटना पहिलो हो तर सामान्य तनाव र झडप १७ औं पटक देखिसकेको छु।’ शेरबहादुरका अनुसार बसहीकस्वा र आनन्द बजारका बासिन्दाको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन।
‘केही वर्षअघि विद्यालय बनाउँदा पनि उनीहरूले अवरोध गरे। दुवै देशका अधिकारीबीच सहमतिपछि मात्र विद्यालय बन्यो। एक महिनाअघि दुवै देशका अधिकारीबीच सहमति भएपछि कल्भर्ट बनाइएको हो, यही कारण तनाव बढ्दै जाँदा ३२ वर्षीय युवकले अनाहकमा ज्यान गुमाउनुपर्यो।’ धनगढीदेखि २५ किमि दूरीमा रहेको आनन्द बजारमा अधिकांश जनजाति समुदायको बसोबास छ। पुनर्वास नगरपालिका ८ मा रहेको यो बजारको पारितर्फ भारतको सानो मन्डी बसही बजार छ।
दैनिक उपभोगका वस्तु किन्न नेपाली त्यही बजार पुग्छन्। भारतीय नागरिक पनि आनन्द बजार आउजाउ गरिरहेका हुन्छन्। आनन्द बजारदेखि ५ सय मिटर दूरीसम्म नेपाली पक्षको जग्गाजमिन छ। त्यसपछि मात्र दशगजा आउँछ। भारतीय पक्षले भने दशगजावारिकै भूभाग आफ्नो भएको दाबी गर्दै आएको छ। सीमास्तम्भै गायब पूर्वतिरको १९९ नम्बर र पश्चिमतिरको २०१ नम्बर सीमास्तम्भबीचको भूभागबारे लामो समयदेखि विवाद छ। त्यहाँ रहेको २०० नम्बर पिलर हराएको वर्षौं भइसक्यो। नेपालीले बनाएको कल्भर्टपारि २२ बिघाभन्दा बढी जग्गामा स्थानीयले कमाइ गर्दै आएका छन्। पश्चिमतिर १३ बिघा छ भने पूर्वतिर ९ बिघा जमिन नेपालीले कमाउँदै आएका छन्। कारगिल डाँडापारिको जग्गामा नेपालीको लालपुर्जा रहे पनि भारतीय पक्षले त्यो क्षेत्रलाई आफ्नो दाबी गर्दै आएको स्थानीय बताउँछन्।
‘बिहीबारको घटनामा नेपाली भूमिमै आएर भारतीय सुरक्षाबलले गोली चलाएको हो,’ स्थानीय शिक्षक श्याम सुवेदीले भने, ‘कारगिल डाँडावारि र पारि दुवैतिर नेपालीको जमिन छ, जग्गाधनी प्रमाणपुर्जासमेत छ।’ उनका अनुसार बुधबार राति भारतीय प्रहरीले नेपाली बजारमा आई शम्भु गुरुङको पसल तोडफोड गरे, सामान लगे। ‘त्यहाँबाट फर्कंदा उनीहरूले नेपालीले बनाएको कल्भर्ट तोड्ने प्रयास गरेपछि तनाव बढै गयो,’ सुवेदीले भने, ‘बिहीबार बिहान दर्जनौंपटक हवाई फायर गरे, पारिबाट ताकेर गोली नै हाने।’
अर्का प्रत्यक्षदर्शी जयबहादुर विकले भारतीय प्रहरीले नै गोली चलाएको बताए। ‘नेपाली पक्षबाट प्रहार भएको ढुंगा पारिपट्टि प्रहरी निरीक्षकको टाउकामा लागेपछि उताबाट गोली चलेको हो,’ उनले भने, ‘अहिले भारतीय पक्षले आफ्ना तर्फबाट गोली नचलेको बताएको छ जो सरासर झूटो हो।’ घटनापछि नेपाल र भारतका सीमावर्ती अधिकारीबीच भएको पाँचबुँदे सहमतिप्रति स्थानीय आक्रोशित छन्। जिल्लाका प्रशासनिक र सुरक्षा निकाय प्रमुखहरूले घटनाको वास्तविकता बुझ्न नसकेको, समयमै सुरक्षाकर्मी परिचालन नगरेको उनीहरूको गुनासो छ। यसैकारण शुक्रबार दिनभरि पनि आनन्द बजार क्षेत्र तनावग्रस्त रह्यो। हालको पुनर्वास क्षेत्र भनेर चिनिने तत्कालीन त्रिभुवनबस्ती, परासन, कालिका र बाइसीबिचवा गाविस जोडेर गत वर्ष नगरपालिका बनेको हो।
यहाँका रैथाने रानाथारू समुदाय हुन्। २०२८ पछि देशका विभिन्न भेगबाट बसाइँ सरेर आउने क्रम सुरु भएसँगै पुनर्वास बजार घना हुन पुग्यो। ‘यहाँ भारतका असम, मेघालय अनि भुटान र बर्माजस्ता प्रवासबाट फर्केका नेपालीको पनि बसोवास छ,’ नगरपालिकाका स्थिर घिमिरेले बताए। पटकपटक सीमा विवाद २०६२ साल जेठमा सीमाक्षेत्रमा रहेको राष्ट्रिय मावि परिसरमा भारतले स्तम्भ बनाएपछि ठूलो आन्दोलन चर्केको स्थानीय दीपेन्द्र बस्नेत बताउँछन्। ‘स्थानीय बासिन्दासँगै जिल्ला सदरमुकामबाट ठूलो संख्यामा आएका अगुवाको पहलमा त्यो स्तम्भ भत्काइएको हो,’ उनले भने, ‘हामी भारतलाई कुनै हालतमा सीमा अतिक्रमण गर्न नदिन दृढ छौं।’
विगतको सीमांकनका बखत नेपाली अधिकारीको गैरजिम्मेवारीका कारण भूभाग भारततर्फ गाभ्ने काम भएको स्थानीयको आरोप छ। नेपाली पक्षले आफूहरूसँग सम्पर्क र सोधपुछ नगरी भारतको पलियामा बसेर सीमाका कागजपत्र तयार गरेको उनीहरू बताउँछन्। ‘अब सीमांकन गर्दा पुरानो सीमास्तम्भ आधार मानेर नयाँ नक्सा तयार गरिनुपर्छ,’ घिमिरेले भने, ‘भारतले मिचेको भाग फिर्ता नभए विवाद समाधान हुने देखिँदैन।’