विमानबाट तेल चुहिएको विषयमा छानविन गर्न समिति गठन

काठमाडौंः सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सको पार्किङमा राखेको विमानबाट तेल चुहिएको विषयमा छानविन गर्न समिति गठन गरेको छ। निगमको एयरबस ३२० विमानबाट चैत १ गते साँझ पौने ७ बजे करिब पाँच हजार टन हवाइ इन्धन विमानस्थलमा चुहिएको थियो।

नेपाल नागरिक उड्डयन्त्र प्राधिकरणका पूर्व महानिर्देशक हरिभक्त श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्र मन्त्रालयका सहसचिव एवं प्रवक्ता घनश्याम उपाध्यायले जानकारी दिए। उनका अनुसार छानविन समितिको सदस्यमा प्राधिकरणका पूर्व उपमहानिर्देशक सुमनकुमार श्रेष्ठ र सैनिक हवाई महानिर्देशनालयका महासेनानी लक्ष्मी प्रसाद तुम्बाहाम्फे रहेका छन्।

छानविन समितिलाई विस्तृत छानविन गरी १५ दिनभित्र राय सुझावसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ। समितिले भविष्यमा यस्ता घटना हुन नदिन र यस्तो घटनामा संलग्न जिम्मेवार पदाधिकारीहरुलाई गर्ने कारवाहीका विषयमा सिफारिस गर्नेछ।


Facebook Comment


No ads found for this position