पर्यटक भिसामा आएर अवैध व्यापार गर्ने पर्यटक बढ्दै

 

कृष्णमणि बराल

पोखरा : सरकारी अनुगमन नहुँदा पर्यटकीय सहर पोखरामा बसेर अवैध व्यापार गर्ने पर्यटक बढ्दै गएका छन् । पर्यटक भिसामा आएर सडकमा बसेर क्युरियो सामानको बिक्री गर्नेदेखि रेस्टुराँ र व्यावसायिक रूपमा प्याराग्लाइडिङ गराउने पर्यटकको संख्या बढेको हो । पछिल्लो समयमा भिसा अवधि सकिएर पनि अवैध रूपमा बस्ने पर्यटकको संख्या पनि बढ्दै भएको छ ।

पोखरा आएर लामो समय बस्ने पर्यटकका गतिविधि शंकास्पद भए पनि सरकारी निकायले यसबारे ध्यान नदिएको पर्यटन व्यवसायी बताउँछन् । लामो समय बस्ने पर्यटकका क्रियाकलापको नियमित अनुगमन नहुँदा पोखरामा गैरकानुनी रूपमा बस्ने र अवैध रूपमा कारोबार गर्ने विदेशी पर्यटक बढेका हुन् । कुनै घटनामा संलग्न भएको अवस्थामा पक्राउ परेर अनुसन्धान गर्दा मात्रै प्रहरीले पर्यटक अवैध रूपमा बसेको भेउ पाउने गरेको छ ।

होटल व्यवसायीले आफ्नो होटलमा बस्न आउने पर्यटकको अनिवार्य रूपमा पासपोर्ट फोटोकपी गरेर राखे मात्र पनि भिसा सकिएर पनि अवैध रूपमा बस्ने पर्यटकबारे जानकारी हुने पर्यटन कार्यालय पोखराका प्रहरी सहायक निरीक्षक उमेश श्रेष्ठले बताए । होटलमा तोडफोड, झगडा गरे मात्र व्यवसायीले प्रहरीलाई खबर गर्ने गर्दा यस्तो समस्या आएको उनको भनाइ छ । हामीले बेलाबेलामा अवैध व्यापार गरेका पर्यटकलाई कानुनी रूपमा व्यवसाय गर्न सुझाए पनि कागजी प्रक्रियामा रहेको भन्दै टार्ने गरेको उनले बताए । ‘उनीहरूका गतिविधि शंकास्पद भए मात्र हामी जाँच गर्छौं’, उनले भने, ‘अवैध रूपमा बस्ने पर्यटक पक्राउन गर्ने छुट्टै अभियान भने अहिलेसम्म गरिएको छैन ।’

अवैध रूपमा १८ वर्षदेखि पोखरामा प्याराहकिङमा दुर्लभ गिद्धको प्रयोग गरेर व्यापार गर्दै आएका बेलायतका नागरिक स्कट म्यासनलाई हालै मात्र जिल्ला वन कार्यालय कास्कीले पक्राउ गर्यो । लामो समयदेखि गिद्धलगायत विभिन्न प्रजातिका चरा पालेर व्यापारमा प्रयोग गरेका उनलाई पक्रन जिल्ला वन कार्यालय कास्कीका पहिलेका प्रमुखले थाहा पाएर पनि चासो देखाएनन् । पत्रिकामा समाचार आएपछि मात्र हालै म्यासन पक्राउ परेर कानुनी दायरामा आए ।

पर्यटकले गैरकानुनी रूपमा व्यवसाय चलाउँदा राजस्वसमेत गुमेको छ । पर्यटकलाई नेपालमा स्वागत गर्ने हो । तर कानुनविपरीत मनपरी गर्ने छुट राज्यले दिनुहुँदैन ।  -सोम थापा, अध्यक्ष, पोखरा पर्यटन परिषद्

पोखरा लेकसाइडबाट कास्की प्रहरीले बिहीबार बैंकको एटीएम मेसिनमा नक्कली कार्ड प्रयोग गरेर पैसा निकाल्ने प्रयास गरेको शंकाका आधारमा दुईजना बुल्गेरियाली पर्यटकलाई पक्राउ गर्यो । उनीहरू लेकसाइडमा अपार्टमेन्ट लिएर बस्दै आएका थिए । बैंकको एटीएम मेसिनमा गएर शंकास्पद गतिविधि गरेको आधारमा बैंकले प्रहरीलाई खबर गरेपछि पक्राउ परेका पर्यटकलाई प्रहरीले अनुसन्धान गरिरहेको छ ।पोखरामा व्यावसायिक रूपमा प्याराग्लाइडिङ गराउने पर्यटको संख्या कति छ भन्ने पोखरा विमानस्थलसँग तथ्यांक नरहेको कायालयका कर्मचारीले बताएका छन् । कार्यालयसँग मनोरञ्जनका लागि एक्लै उड्ने (सोलो पाइलट) पर्यटकको मात्र डाटा रहेको नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख भोला गुरागाईंको भनाइ छ ।

व्यावसायिक रूपमा उडान गर्ने पर्यटक कम्पनीमार्फत आउने भएकाले यसबारे नेपाल हवाई खेलकुद संस्थासँग डाटा हुनुपर्ने उनले बताए । बिजनेश भिसा भए-नभएको प्याराग्लाइडिङ कम्पनीले नै बुझेर मात्र पाइलट राख्नुपर्ने भएकाले संस्थालाई त्यसबारे थाहा नभएको नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष योगेश भट्टराईले जानकारी दिए । पोखरामा व्यावसायिक उडान गर्ने पर्यटकको संख्या अहिले करिब १५ भएको उनले बताए ।

पोखरामा विदेशीबाट सञ्चालित होटल र रेस्टुरेन्ट कति छन् भन्ने तथ्यांक न पर्यटन कार्यालयलाई थाहा छ न त अध्यागमन कार्यालय पोखरालाई नै । विदेशीले चलाएका होटल पनि नेपालीको नाममा दर्ता गर्ने गरिएकाले कति पर्यटकले पोखरामा अनुमति लिएर होटल, रेस्टुरेन्ट सञ्चालन गरेका छन् भन्ने तथ्यांक कार्यालयमा नभएको पर्यटन कार्यालय पोखराका शाखा अधिकृत टेकनाथ लम्सालले बताए ।

पोखरामा भिसा सकिएको तीन महिनादेखि तीन वर्षसम्म पनि अवैध रूपमा बसेको अवस्थामा पर्यटक पक्राउ पर्ने गरेको अध्यागमन कार्यालय पोखराका प्रमुख रामचन्द्र अधिकारीको भनाइ छ ।२०१५ को जनवरीदेखि नोभेम्बर महिनासम्म भिसा सकिएर पनि विभिन्न गतिविधि गरेर कानुनविपरीत बस्ने पाँचजना पर्यटक पक्राउ परेको उनले बताए । पक्राउ पर्नेमा इजरायल, केन्या, इरान, रसिया र स्पेनका पर्यटक बढी रहेको उनको भनाइ छ ।

प्रशासनले अनुगमन गर्ने हो भने गैरकानुनी रूपमा बस्ने पर्यटक समातिने पोखरा पर्यटन परिषद्का अध्यक्ष सोम थापाले बताए । लामो समय बस्ने, विभिन्न व्यवसाय गर्ने पर्यटकको अनुगमन र बेलाबेलामा छड्के जाँच गर्नुपर्ने उनको सुझाव छ । ‘यहाँ बसेर पर्यटकले गैरकानुनी रूपमा व्यवसाय चलाउँदा राजस्वसमेत गुमेको छ’, उनले भने, ‘पर्यटकलाई नेपालमा स्वागत गर्ने हो । तर कानुनविपरीत मनपरी गर्ने छुट राज्यले दिनुहँुदैन ।’साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position