कालीगण्डकीमा र्‍याफ्टिङ सुरु

 

माया अधिकारी

कुश्माः जलयात्रा (र्‍याफ्टिङ)को सिजन सुरु भएसँगै कालीगण्डकी नदीमा जलयात्राका लागि आउने पर्यटक बढ्न थालेका छन् । जलयात्राका लागि ख्याति कमाएको कालीगण्डकीमा पर्यटकको आगमन हुन थालेपछि यसै सातादेखि र्‍याफ्टिङ सुरु भएको हो।

जाडोयामको समाप्तीसँगै फागुनको अन्तिम सातादेखि जलयात्राका लागि पर्यटक आउने गरे पनि यस पटक एक सातापछि सुरु भएको हो । छोटो र पारिवारिक जलयात्राका लागि चिनिएको कालीगण्डकी नदीमा यस साता पहिलो पटक रिभर र्‍याफ्टिङ कम्पनीले विदेशी पर्यटक भित्र्याएको हो । गर्मीयाम सुरु भएसँगै जलयात्रा गर्न आउने पर्यटकको आकर्षण बढ्न थालेको रिभर गाइड पूर्ण गुरुङले जानकारी दिए ।

लामो, समथर र पानीको बहाब कम भएकाले विदेशी पर्यटकले कालीगण्डकी नदी रोज्ने गरेका छन् । र्‍याफ्टिङका लागि कालीगण्डकी नदीमा अहिले विदेशीस“गै स्वेदशी पर्यटककोसमेत आबागमन बढेको रिभर गाइड गुरुङले जानकारी दिए । कालीगण्डकीमा र्‍याफ्टिङ रिभर, प्याडल नेपाल, स्विसालगायतका कम्पनीमार्फत पर्यटक र्‍याफ्टिङका लागि आउने गरेका छन् ।

कालीगण्डकी नदीमा अहिले दैनिक दुईदेखि दश समूहमा पर्यटक आउने गरेको रिभर गाइड दीपक भण्डारीले जानकारी दिए । अन्य नदीको तुलनामा पर्यटकले जलयात्राका लागि कालीगण्डकीलाई नै रोज्ने गरेकाले पनि पर्यटकको आगमन बढेको उनले बताए ।

‘यो नदीमा पर्यटक बढी नै आउने गर्छन्’, उनले भने, ‘कालीगण्डकी र्‍याफ्टिङका लागि पहिलो गन्तब्य बन्दै गएको छ’ । पोखरा हुँदै अन्नपूर्ण पदमार्ग र कालीगण्डकीको जलयात्रालाई समेटेर प्याकेज बनाएकाले पर्यटक बढ्दै गएको व्यवसायीको भनाइ छ । पर्वतको कुश्मा नगरपालिका १ स्थित नयाँ पुल तथा मालढुंगाबाट सुरु हुने र्‍याफ्टिङ स्याङजा, पर्वत र गुल्मी जिल्लाको सीमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियोजनाको जलाशयमा पुगेर टुँगिन्छ।

तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक मानिन्छ । कालीगण्डकी नदीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक लोभिन्छन् । यहाँ धेरै इजरायली पर्यटक आउने गरेका छन् भने अस्ट्रेलिया, युरोपियन मुलुक र अमेरिकी पर्यटकको रोजाइमा पनि कालीगण्डकी पर्ने गुरुङले बताए ।

विदेशमा पनि जलयात्रामा रमाउने पर्यटक नेपालको जलयात्रा अन्यत्रकोभन्दा रोमाञ्चक भएको अनुभव सुनाउँछन् । कालीगण्डकीको जलयात्रा विश्वका अन्य नदीकोभन्दा रोमाञ्चक भएको उनीहरूको भनाइ छ । अमेरिका र अस्ट्रेलियाका नदीमा हुने जलयात्राभन्दा कालीगण्डकीमा नयाँ अनुभव हुने पर्यटकले बताए।

पर्वतमा जलयात्राका लागि काम गर्ने कुनै निकाय नभएकाले छिमेकी सहर पोखराबाट पर्यटन व्यावसायीको सहयोगमा र्‍याफ्टिङका लागि पर्यटक कालीगण्डकी नदीमा आउने गरेका छन् । कालीगण्डकी नदीको छाल, मनोरम दृश्य, झरना, विभिन्न वनस्पति, जलचरको अवलोकन, प्रदूषणरहित हावापानीबाट पर्यटक प्रभावित हुने पर्यटन व्यवसायी बताउँछन्।

र्‍याफ्टिङका लागि बनेका पूर्वाधार बिग्रिदै्र जाँदा पर्यटनमा समस्या आउने गाइड बताउँछन् । नदीमाथिका संरचना बिगार्ने, जलयात्रा सुरु हुने ठाउँमा पर्खाल लगाउने, जथाभावी बालुवा निकाल्ने कामले जलयात्रा सञ्चालन असहज हुने गरेको पर्यटक गाइड गणेश पुनले बताए । तीन दिनसम्म गरिने जलयात्राका लागि पहिलो दिन कालीगण्डकी–मोदीवेणी खण्डसम्म पुग्ने, दोस्रो दिन पर्वतकै बर्राचौर गाविसको पूर्तिघाट नजिक बस्ने र तेस्रो दिन मिर्मी हुँदै पोखरा जानेगरि पर्यटकले यात्रा तय गर्नेछन्।


Facebook Comment


No ads found for this position