बिमाको सेयर हल्लैहल्लामा बढाइँदै

भुवन पौडेल

काठमाडौंः निरन्तर ओरालो लागेको सेयर बजार यो साताको सुरुदेखि उच्च अंकले बढेको छ । आइतबार २५ अंकले वढेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक सोमबार पनि ४२ अंकले बढेर १४२४.३८ अंकमा पुगेको छ । यो साताका दुवै दिन गरेर नेप्से परिसूचक ६७ अंकले बढिसकेको छ ।

नेप्सेमा भएको दुवै दिनको सुधारमा बिमा समूहको योगदान बढी छ । आइतबार २४ अंकले नेप्से वढ्दा बिमा समूहको परिसूचक ३६७ अंकले वढेको थियो । सोमबार ४२ अंकले वढ्दा पनि ५६७ अंकले वढेको छ । सोमबार आधा दर्जन बिमा कम्पनीको सेयर मूल्य नै १० प्रतिशतले वढेको छ ।

बिमा कम्पनीको मूल्यमा उच्च अंकको सुधार हुनका लागि सो क्षेत्रमा कुनै आकस्मिक सुधार भने भएको छैन । बिमा कम्पनीको चुक्ता पुँजी वृद्धि हुने सूचनालाई लिएर बारम्बार सेयर बजारमा चलखेल भएको देखिन्छ ।

बजारमा सीमित सेयर भएकाले पनि ठुला लगानीकर्तालाई बिमा कम्पनीको सेयरमा चलखेल गर्न सहज हुन्छ । बैंकिङ क्षेत्रमा बिमाको जस्तो चलखेल गर्न खोजेमा आपूर्ति बढी हुने भएकाले ठूला लगानीकर्ताले बिमा कम्पनीको सेयरलाई प्रयोग गरेको लगानीकर्ताहरू बताउँछन् ।

सेयर बजारमा बिमा कम्पनीको सेयर थोरै हुनाले पनि चलखेल हुने इन्भेस्टर्स फोरमका अध्यक्ष डा. आत्मराम घिमिरे बताउँछन् । एउटै सूचनालाई धेरैपटक बजार बढाउनका लागि प्रयोग भएको स्विकार गर्दै घिमिरेले भने, “बिमा कम्पनीहरूको सकारात्मक पक्ष पनि भएकाले चलेखेल धेरै हुने गरेको हो ।”

बिमा कम्पनीहरूको प्रतिफल पनि राम्रो तथा चुक्ता पुँजी पनि कम भएकाले बढ्ने सम्भावना धेरै भएकाले चलखेल गर्ने औजार बनेको उनले बताए ।  “तर, बिमा कम्पनीहरूको सेयर जसरी वढेको छ त्यसैगरी घटेको पनि छ”, उनले भने, “धेरै मूल्य आम्दानी अनुपात भएका कम्पनीको सेयर लगानी गर्दा होसियार हुनु जरुरी छ ।” बजारमा आएका सूचनाको सत्यता नखोजी सेयरमा लगानी गर्ने भएकाले पनि बजार वढेको उनको तर्क छ ।

पूरा नहुने खालको सूचना नियन्त्रण गर्नुपर्ने बताउँदै घिमिरेले भने, “एकै दिन यसरी बढ्नु ठीक होइन, चलखेल भएको हो । थोरै सेयर भएको क्षेत्रमा यसरी नै धेरै चलखेल हुन्छ ।” तर, बिमा कम्पनीको पुँजी वृद्धिसम्बन्धमा आफूले पहिले नै धारणा सार्वजनिक गरिसकेको उल्लेख गर्दै बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले भने, “बिमा कम्पनीको पुँजीसम्बन्धी विषय रोकेर राखेको छ, हालको अवस्थाभन्दा आगामी दिनमा तात्विक अन्तर हुने देखिँदैन ।” अहिले पनि कम्पनीहरूको पुँजी आपूmहरूले तोकेभन्दा वढी हुँदा समेत नगद लाभांश प्रतिफलको रूपमा बढ्न नदिएको उनले बताए ।

सोमबार कारोबार सुरु हुँदादेखि निरन्तर बढेको नेप्से परिसूचक बन्द हुँदा कायम रह्यो । सोमबार नेप्से परिसुचकसँगै कारोबार रकममा पनि उच्च सुधार आएको छ । सोमबारको नेप्सेको कारोबार रकम पछिल्लो समयको औसत दैनिक कारोबार रकमको तीन गुणा हो । सोमबार नेप्सेमा १ अर्ब २६ करोड रूपैयाँ बरावरको सेयर कारोबार भएको छ ।

आइतबार र सोमबार बिमा कम्पनी सेयर मूल्य बढेको बताउँदै नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने, “बजारमा हल्ला आउँछ, त्यसलाई हेरेर लगानीको निर्णय गर्नुपर्छ ।” बोर्डले हेर्दा खरिद बिक्री देखिएको भए पनि गहन अध्ययन गर्नुपर्ने उनले बताए

सोमबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ २९.१३, बिमा ५६६.८३, विकास बैंक ३९.३४, जलविद्युत् ४४.२१, होटल ७६.६३, वित्त १८.०२ र अन्य समूह १.७३ अंकले वढेका छन् । तर, उत्पादन समूहमात्र ५.१२ अंकले वढेको छ ।

यसैबीच, नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले क्लियरिङ बैंकको रूपमा नेपाल इन्भेस्टमेन्ट बैंक, सिद्धार्थ बैंक र प्रभु बैंकलाई  छनोट गरेको छ । नेप्सेको संचालक समितिबाट स्वीकृत मापदण्ड र मुल्यांकन तालिकाअनुसार सीडीएस एन्ड क्लियरिङले ति बैंकलाइ क्लियरिङ बैंकमा छनोट गरेका हुन् ।


Facebook Comment


No ads found for this position