शुक्लाफाँटा वन्यजन्तु आरक्षदेखि निकुञ्जसम्म

गणेशदत्त भट्ट 

कञ्चनपुर जिल्लाको ३ सय ५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा यसै वर्ष वन्यजन्तु आरक्षबाट राष्ट्रिय निकुञ्जमा स्तरोन्नति गरिएको छ । ०२६ सालमा शिकार आरक्षको रूपमा स्थापना गरिएको शुक्लाफाँटा ०३२ सालमा वन्यजन्तु आरक्ष भएको थियो ।

“वन्यजन्तु आरक्ष संरक्षणमा मात्रै केन्द्रित हुन्छ, निकुञ्ज भएपछि पर्यापर्यटनको विकासमा सहयोग पुग्छ,” शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत गोपालबहादुर घिमिरेले भने, “राष्ट्रिय निकुञ्ज घोषणा भएपछि पर्यटकीय गतिविधि बढ्दै गएका छन् ।” विदेशी पर्यटकले समेत वन्यजन्तु आरक्षमा घुम्न खासै नरुचाउने भएकाले राष्ट्रिय निकुञ्ज घोषणापछि पर्यटकलाई आकर्षित गर्न सहयोग पुग्ने घिमिरेले बताए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाघ, बाह्रसिंगा, हात्ती, गैंडालगायत वन्यजन्तु अवलोकनका लागि प्रख्यात मानिन्छ । तराईको सबैभन्दा ठूलो घाँसे मैदान, विश्वकै सबैभन्दा ठूलो झुण्डको बाह्रसिंगा, सबैभन्दा बढी खरमयूरको संख्या र कृष्णसारको संरक्षित क्षेत्र शुक्लाफाँटाका विशेषता रहेका सहायक संरक्षण अधिकृत घिमिरेले बताए । उनका अनुसार शुक्लाफाँटाभित्र रानी ताल, सिंहपाल बाबा मन्दिर, शिलालेख क्षेत्र, हिरापुर फाँटा, कालिकिच ताललगायत पर्यटकीय क्षेत्र रहेका छन् ।

“एसियाकै पहिलो लामो झोलुंगे पुलसमेत शुक्लाफाँटाको नजिकै रहेको छ,” घिमिरेले भने, “यस क्षेत्रका पर्यटकीय क्षेत्रको प्याकेज नै बनाएर पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।” पर्यटन व्यवसायीको प्रयास र सक्रियताले शुक्लाफाँटामा आउने पर्यटकको संख्या बढ्दै गएको छ । आर्थिक वर्ष ०७०/७१ मा ९ सय ८४ पर्यटकले शुक्लाफाँटा अवलोकन गरेकोमा आर्थिक वर्ष ०७१/७२ मा ८ सय २४ पर्यटकले मात्रै अवलोकन गरेका थिए ।

आर्थिक वर्ष ०७२/०७३ मा पर्यटक आगमन ह्वात्तै बढेर १ हजार ९ सय २० पुगेको छ । चालू आर्थिक वर्षको फागुनसम्म १ हजार ३ सय ३३ पर्यटकले शुक्लाफाँटा अवलोकन गरिसकेका सहायक संरक्षण अधिकृत घिमिरेले बताए । शुक्लाफाँटाको संरक्षणमा सहयोग पुर्याउन सरकारले निकुञ्ज आसपासका क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरेको छ । शुक्लाफाँटा मध्यवर्ती क्षेत्रअन्तर्गत ९ वटा समूह रहेका छन् । समूहले चोरीशिकार नियन्त्रण तथा संरक्षणमा सहयोग पु-याउने गरेको घिमिरेले बताए ।

“निकुञ्जले संकलन गर्ने गरेको राजश्वको ३० देखि ५० प्रतिशत रकम मध्यवर्ति समूहलाई दिने गरिएको छ,” घिमिरेले भने, “त्यो रकमबाट उपभोक्ताले संरक्षण, प्रचारप्रसार र आयआर्जनलगायत कार्यक्रम सञ्चालन गर्ने गरेका छन् ।” शुक्लाफाँटाले आर्थिक वर्ष २०७२÷७३ मा ९४ लाख १८ हजार रुपैयाँ र चालु आर्थिक वर्षको हालसम्म १ करोड २ लाख ९० हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।

यसमध्ये आर्थिक वर्ष २०७२/७३ मा २० लाख ३५ हजार रुपैयाँ र चालु आर्थिक वर्षमा ५४ लाख ५० हजार रुपैयाँ उपभोक्ता समूहलाई दिइएको घिमिरेले बताए । “शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट उपभोक्ता समूहमा जाने बजेटले उपभोक्तामा निकुञ्जप्रति अपनत्व बढ्ने र संरक्षणमा जिम्मेवारीबोध हुन्छ,” उनले भने, “पर्यटकको संख्या बढेमा राजश्व बढ्ने र राजश्व बढेमा उपभोक्ता समूहले पाउने बजेट बढ्ने गरेको छ ।”


Facebook Comment


No ads found for this position