हिमाल आरोहणका क्रममा हुने ठूला दुर्घटना रोक्न अब घन्टैपिच्छे मौसमको जानकारी

९ चैत, काठमाडौं । हिमाल आरोहणका क्रममा हुने ठूला दुर्घटना रोक्न हरेक घन्टाको मौसमको अग्रिम जानकारी दिन थालिएको छ ।नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले सुरक्षित आरोहणका लागि माउन्टेन गाइड, आरोही गाइड र सम्पर्क अधिकृतलाई चैत २ देखि इमेल र एसएमएसमार्फत घन्टैपिच्छेको मौसमसम्बन्धी जानकारी दिन थालेको हो ।

आरोहण दल हिमाल जानुअघि पाँच दिनसम्मको मौसमी विवरण उपलब्ध गराउन थालिएको छ । आवश्यकताअनुसार घन्टैपिच्छे मौसमी अवस्था र पूर्वानुमानको जानकारी दिन थालिएको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक उत्तम भट्टराईले बताए ।मौसमको जानकारी नहुँदा हिमालमा दुर्घटना बढेकाले यसबाट बचाउन सेवा सुरु गरिएको उनले बताए । आरोहण अवधिभर मौसमसम्बन्धी जानकारी दिइनेछ ।

नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघ (एनएनएमजीए) सँग सहकार्य गरी अभियान सुरु गरिएको हो । नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले मौसमविद् केबी मानन्धरलाई नियुक्त गरी हिमाली क्षेत्रको मौसमबारे सूक्ष्म जानकारी र पूर्वानुमान थालेको हो ।मौसमको जानकारी नहुँदा हिमपात, हिमपहिरो र आँधीले ज्यानै जाने खतरा हुन्छ । क्याम्पिङको व्यवस्था, थप सुरक्षाका योजना निर्माण गर्न मौसमको जानकारी भए सहयोग मिल्ने प्रतिष्ठान बताउँछ ।मौसमको जानकारी नभएकाले सन् २०१४ मा अन्नपूर्ण क्षेत्रमा हुदहुद आउँदा करिब पचासजनाको मृत्यु भएको थियो भने करोडौंबराबरको सम्पत्तिमा क्षति पुगेको थियो । संघअन्तर्गतका ६ दर्जनभन्दा बढी हिमाल विज्ञमार्फत हिमाल मजदुरमा जानकारी गराउने र सम्पर्क अधिकृतलाई पनि सूचना दिएर आरोहण दललाई सचेत र सुरक्षित बनाइनेछ ।

जल तथा मौसम पूर्वानुमान विभागले देशभरको अवस्थालाई मात्र हेर्दै आएको र हिमाली क्षेत्र र आरोहण मार्गको मौसमी अवस्थाको जानकारी प्रतिष्ठानले दिन लागिपरेको हो । नेपालमा मौसमी जानकारी गहिरिएर नहेर्दा हिमालमा सयौंले ज्यान गुमाउनुपरेको नेपाल राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक संघका अध्यक्ष रहेका हिमालविज्ञ सुनारबहादुर गुरुङ बताउँछन् । मौसमअनुकूलको आरोहणलाई व्यवस्थित गर्न राज्यले थप कार्यक्रम ल्याउनु आवश्यक रहेको उनले बताए ।आरोहणका लागि शुल्क लिनुसँगै सुरक्षित आरोहण गराउनु पनि राज्यको जिम्मेवारी भएको उनको तर्क छ । संघले आबद्ध गाइड सदस्यमार्फत नेपालका सबै हिमाल क्षेत्रमा जाने आरोही र गाइडलाई जानकारी गराउँदै आएका छन् ।


Facebook Comment


No ads found for this position