गिद्धको रेष्टुरेन्टले तान्यो पर्यटक

सुधिर भण्डारी
संसारमा लाखौँ प्रजातिका पशुपंक्षी छन्। एकअर्काको जीवनचक्रका लागि यी सबै प्रजातिको अस्तित्व कायम रहनु जरुरी छ।संसारमा एउटा जीवको अस्तित्व सकिँदा अर्कोको जीवन पनि संकटमा पर्छ। जसले गर्दा वातावरण सन्तुलन खल्बलिन पुग्दछ। संसारका लोपोन्मुखमध्ये एक महत्वपुर्ण पंक्षी हो गिद्ध। गिद्धले मरेका जीव–जनावर खाने हुँदा यसलाई प्रकृतिको ‘कुचिकार’ पनि भनिन्छ।
अफ्रिकन केही देशमा यसलाई प्रेमको प्रतिक समेत मानिन्छ। जोडी गिद्धमध्ये एउटा खाना खोज्न जाँदा अर्को गुँडमा बच्चा कुरेर बस्छ, यदी खाना खोज्न गएको गिद्ध उतै मर्यो वा फर्किएन भने पनि गुँड कुरेर बसेको गिद्ध भोकभोकै त्यहीँ मर्छ तर गुँड छोडेर जाँदैन। त्यसैले यसलाई प्रेमको प्रतिकका रुपमा अफ्रिकन केही राष्ट्रहरुमा सम्वोधन गर्ने गरिन्छ।
यद्यपी हाम्रो समाजमा भने गिद्धलाई नकारात्मक दृष्टिकोणले हेरिन्छ। यहाँसम्म कि गिद्धले घरको छतमा विष्ठाएमा पूजापाठ गर्ने चलन समेत छ।
नवलपरासीमा गिद्धलाई आहार जुटाउनका लागि रेष्टुरेन्ट नै खोलिएको छ। नवलपरासीको कावासोतीबाट ४ किलोमिटर भित्र ‘जटायु रेष्टुरेन्ट’ संचालनमा छ। सो रेष्टुरेन्टमा गिद्धका लागि आहार जुटाइन्छ।
युएनडिपीको स्मल ग्रान्ट्स प्रोग्राम (एसजिपी) ले आर्थिक सहयोग गरेपछि यसरी गिद्धको संरक्षण सुरु भएको जटायु रेष्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष दान बहादुर चौधरी बताउँछन्।
 ‘मानिसहरुले यहाँ बुढा गाई गोरु ल्याइदिन्छन् र त्यो बापत हामीले भाडा भनेर २ सय ५० रुपैया समेत दिन्छौँ’ उनले भने। ति गाईगोरु मरेपछि गिद्धलाई दिने गरेको चौधरीले जानकारी दिए। गिद्ध लोप हुँदै गएपछि यहाँ गिद्ध संरक्षण सुरु गरिएको हो।
 यो ठाउँमा सुरुमा ७२ वटा मात्र गिद्ध थिए। तर एसजिपीको सहयोगमा गाउँलेहरु संरक्षणमा लागेपछि २ सय १७ सम्म गिद्ध गणना गरिएको चौधरीले सेतोपाटीलाई जानकारी दिए।
 एसजिपी कार्यक्रमले स्थानीयलाई आत्मनिर्भर बनाउने, वातावरणको रक्षा गर्न प्रेरित गर्ने र पर्यटनको विकास समेत हुने भएकाले यसले दिगो सफलता पाउने एसजिपीका म्यानेजर गोपाल शेरचन बताउँछन्। ‘यो कार्यक्रमले स्थानीयलाई वातावरणको रक्षा गर्दै आफ्नो जीविकोपार्जन गर्न सिकाउँछ जसले गर्दा उनीहरुको जीवनस्तर पनि उकासिन्छ र वातावरणको रक्षा पनि हुन्छ’ शेरचनले भने।
 यो ठाउँमा अभियान नै चलाएर गिद्ध संरक्षण गरेपछि पर्यटकको आवागमन बढेको छ। पर्यटन व्यवसाय समेत फस्टाउँदै गएको नमुना मध्यवर्ती सामुदायिक वनका अध्यक्ष बलिराम महत्तोले जानकारी दिए। ‘जटायु रेष्टुरेन्ट’ले समग्र नवलपरासीकै इज्जत बढाएको छ, पहिले पहिले पर्यटकहरु जंगल घुम्न सौराह मात्र जान्थे तर अहिले जटायु रेष्टुरेन्टले गर्दा सौराह आएका पर्यटक यहाँसम्म आउने गरेका छन्’ उनले भने।
 यहाँ आउने पर्यटकले गिद्धको अध्ययन गर्नुका साथै जिप सफारी गरेर घाँसे मैदान, गैँडा, हात्ती, बाघ लगायत जंगली जनावर हेरेर मज्जा लिन्छन्। गिद्धको अध्ययन गर्नकै लागि भनेर ज्यूयोलोजी अध्ययनरत विदेशी विद्यार्थीहरु पनि यहाँ भ्रमणका लागि आउने गरेका छन्।
गिद्धको हेरचाह तथा समुदाय परिचालन गर्न यहाँ दुईजना कर्मचारी समेत राखिएको छ। सुरुमा घिन लागे पनि अहिले गिद्धको निकै माया लाग्ने जटायु रेष्टुरेन्टका हेरालू यम बहादुर नेपाली बताउँछन्। ‘गिद्धको हेरचाह गर्दा गर्दै गिद्धहरु पनि आफ्नो परिवारको सदस्य जस्तो लाग्न थाल्यो’ उनले भने।
 जटायु रेष्टुरेन्ट हेर्न आउने पर्यटकबाट टिकटवापत शुल्क पनि लिइन्छ। नेपालीसँग ५० र विदेशी पर्यटकबाट २ सय ५० लिने गरिएको छ। त्यस्तै जटायु रेष्टुरेन्टमा आउने पर्यटकलाई लक्षित गरेर होम स्टेहरु समेत संचालन भएका छन्। ‘थारु ब्रेज लज’ संचालन गरिरहेका राजु महतोले मासिक २० हजारसम्म कमाउने गरेको बताउँछन्।
 एसजिपी कार्यक्रम अन्तर्गत यहाँका २३ जना स्थानीयलाई ‘गाइड ट्रेनिङ’ दिइएको थियो जसबाट उनीहरुले राम्रोसँग जिविकोपार्जन पनि गरिरहेका छन्। गिद्ध रेष्टुरेन्टले पर्यटकको संख्या बढाएसँगै यस क्षेत्रको समग्र आर्थिक स्थिति पहिलेको तुलनामा माथि उठेको छ।साभार सेतेापाटी तस्वीर सौजन्य: कमलराज सिग्देल


Facebook Comment


No ads found for this position