‘डबल ट्री हिल्टन’ पाँचतारे होटेल निर्माणको यस्तो ‘बदमासी’

काठमाडौः जगदम्बा हस्पिटालिटीले क्षतिको पूर्वआकलन नगरीकनै होटेल हिल्टन निर्माणकार्य सुरु गरेको पाइएको छ । काठमाडौं महानगरपालिकाको क्षतिपूर्ति मूल्यांकन समितिले उक्त बेहोराको प्रतिवेदन बुझाएपछि यस्तो रहस्य खुलेको हो ।जगदम्बाले होटेलको जग खन्ने क्रममै पुनर्विचार नगर्दा ग्रान्ड होटेलका मालिक रामअवतार गोयललगायत अन्यको घरमा क्षति पुगेको र सडक भासिएको पाइएको छ । प्रतिवेदनमा भनिएको छ, ‘होटेल बनाउने क्रममा जमिन खोतल्दा नै वरिपरिको जमिन भासिएको पाइयो । पश्चिमतर्फ गोयलको घर सुरक्षित गर्न राखिएका पाइपले जमिन तथा घरको पूर्ण भार थेग्न नसकेपछि भासिएको हो, साइट प्रोटेक्सनको कुनै पनि मापदण्ड पूरा गरेको देखिएन ।’ जगदम्बाको लापरबाहीका कारण गोयलको घर अहिले भासिएर पूर्वतर्फ ढल्किएको प्रतिवेदनमा उल्लेख छ ।

होटेल निर्माण क्षेत्रवरिपरिको संवेदनशीलता, सम्पत्ति नासको परिणाम र फिल्डको अन्य अवस्था हेर्दा पश्चिमतर्फको क्षेत्र सुरक्षित गर्न दुई पक्षका विज्ञ परिचालन गर्न समितिले सुझाएको छ । क्षतिपूर्ति मूल्यांकन समितिले क्षतिको मूल्यांकन यकिन गर्न नसकेपछि विज्ञ लगाउनुपर्ने राय पेस गरेको छ । ‘जियोग्राफिकल इन्जिनियर र रेट्रोफिट डिजाइन गर्ने स्ट्रक्चरल इन्जिनियरसमेतको राय एवं दुवै पक्षको सहमति आवश्यक पर्ने देखिन्छ’, प्रतिवेदनमा भनिएको छ, ‘महानगरपालिकाका तर्फबाट निर्णय सदस्यसमेतको संलग्नता हुने गरी पुनः संयुक्त फिल्ड निरीक्षण गरेर क्षति मूल्यांकन गर्दा वास्तविक क्षतिको अवस्था प्रष्ट हुन्छ ।’

महानगरपालिकाले भवन निर्माण इजाजत विभागका इन्जिनियर वीरबहादुर खड्काको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । प्रतिवेदन बुझेपछि महानगरपालिकाका कार्यकारी अधिकृत ईश्वरराज पौडेलले कानुन अधिकृत हरिमाया घिमिरेलाई भवन निर्माण इजाजत विभागसँग समन्वय गरेर काम अगाडि बढाउन निर्देशन दिएका छन् । होटेल हिल्टन निर्माणका लागि महानगरपालिकाले उपत्यका विकास प्राधिकरणसँगको समन्वयमा नक्सा पास गरेको देखिए पनि उसको दोहोरो भूमिका देखिन्छ ।

हारटेलको जग खन्ने क्रममै पुनर्विचार नगर्दा ग्रान्डी होटेलका मालिक रामअवतार गोयललगायतको घरमा क्षति पुगेको र सडक भासिएको दाबी ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेशार्थ निर्माणकार्य रोक्का पनि महानगरपालिका आफैंले गरेको छ । त्यसैगरी पुनः जगदम्बाबाट निर्माणकार्य नरोक्न आग्रह गरे पनि रोक्का फुकुवासमेत महानगरपालिका आफैंले गरेको छ । महानगरपालिकाका एक उच्च अधिकृत भन्छन्, ‘त्यति सानो क्षेत्रफलमा गगनचुम्बी होटेल बनाउन स्वीकृति दिनेक्रममा गलत मनसायबाट नक्सापास स्वीकृत गरिएको छ । यसमा ठूलै रकमको चलखेल छ ।’ हचुवाका भरमा प्लिन्थ लेभलसम्मको नक्सा पास गरेको उनले बताए ।

मापदण्ड पूरा नगरी नक्सा पास

जगदम्बाले भवन आचारसंहिताअनुरुप मापदण्ड पूरा नगरी नक्सा पास गरेको छ । भवन आचारसंहिताको दफा १४.७ मा १७ मिटर वा पाँच तलाभन्दा अग्लो भवन निर्माणमा माटो परीक्षण अनिवार्य हुन्छ । यसका लागि खानी तथा भूगर्भ विभागले माटो परीक्षण गरी निर्माणयोग्य भनेपछि मात्र अनुमति दिन सकिने प्रावधान छ ।

वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगरी होटेल बनाउन सुरु गरेको जगदम्बाले महानगरपालिकाका उच्चपदस्थलाई आर्थिक प्रलोभनमा पारेर नक्सा पास गरेको हो । महानगरपालिका एक इन्जिनियरले भने, ‘यति ठूलो प्रोजेक्टमा महानगरपालिकाबाट एउटा पनि इन्जिनियरलाई खटाइएको छैन । माथिल्लो दबाब आएपछि झारो टार्ने गरी मात्रै बेलाबेलामा पठाउँदै आएका छन् ।’ उनले हिल्टनको निर्माणकार्य सुरु भएर एकैपटक बेसमेन्ट ढलान गरिसकेपछि मात्रै इन्जिनियर खटाएको बताए ।

यी कुनै मापदण्ड पूरा भएनन्

– माटो परीक्षण अनिवार्य
– वातवरणीय प्रभाव मूल्यांकन
– साइट प्रोटेक्सन अनिवार्य
– फाउन्डेसन गर्दा लेभल मिलाउनुपर्ने
– सँधियारसँग अनिवार्य स्वीकृति
– निर्माण सामग्रीको टेस्ट रिपोर्ट बुझाउनुपर्ने

सहरको मध्यभागमा बन्दै गरेको हिल्टन होटेलले निर्माण सामग्री कुन गुणस्तरको प्रयोग गरेको छ भन्नेतर्फ पनि महानगरपालिकाले खासै ध्यान दिएको छैन । ‘ निर्माण सामग्री कुन गुणस्तर, फलामे छड र मेसिनरी टेस्ट र ढलान कसरी गरिरहेको छ भन्नेतर्फ कुनै ध्यान दिइएको छैन । जस्तै एम २० क्रंकिट प्रयोग गर्नुपर्ने भनिएको छ भने त्यो प्रयोग भएनभएको अनुगमन त हुनुपर्‍यो नि’, महानगरपालिकाका ती इन्जिनियरले भने ।

यतिसम्म कि जगदम्बाले पठाएको एकतर्फी रिपोर्टका आधारमा काम गर्न स्वीकृति दिइएको छ । महानगरपालिकाले २०७३ जेठ १९ गते प्लिन्थ लेभलसम्म निर्माणकार्य गर्न इजाजतपत्र दिएको छ । तर भवन निर्माण आचारसंहिताअनुसार सँधियारको स्वीकृतिबिना निर्माणकार्य गर्न पाइँदैन । पहिला इजाजतपत्र दिएपछि गत भदौ २७ गते मात्रै महानगरपालिकाले जगदम्बा हस्पिटालिटीलाई निर्माणकार्य गर्दा स्थानीय व्यक्ति, छरछिमेक तथा पैदलयात्रुलाई बाधाअड्चन नहुने गरी सुरक्षित तरिकाले निर्माण गर्न सुझाएको छ ।साभार अन्नपुर्ण


Facebook Comment


No ads found for this position