टोखामा बिस्केट जात्रा सुरु

काठमाडौँ, १४ चैत । ऐतिहासिक तथा प्राचीन नगरी टोखामा यस वर्षको बिस्केट जात्रा सुरु भएको छ । स्थानीय गणेश मन्दिर नजिकैको चोकमा विभिन्न रङ्गीचङ्गी ध्वजा पताकाले सिँगारिएको लिङ्गो ठड्याइएपछि जात्रा सुरु भएको हो । नयाँ वर्षको स्वागतका लागि यहाँ बिस्केट जात्रा गर्ने परम्परा छ । यही चैतको अन्तिम सातामा शुभ साइत हेराएर त्यस क्षेत्रका स्थानीय विभिन्न देवदेवीको पूजा तथा बिस्केट जात्राका लागि निमन्त्रणा गर्ने गरिन्छ ।

आगामी वैशाख ६ गतेसम्म जारी रहने उक्त जात्राका अवधिभर स्थानीय गणेश भैरवको जात्रा निकालिन्छ । त्यसैगरी स्थानीय शक्तिपीठमा पञ्चबलिको व्यवस्था गर्नुपर्छ । त्यस्तै सपनतीर्थ पोखरीमा स्नान गर्नका लगि मेला लाग्ने गर्छ ।

प्राचीन समयमा विभिन्न दानवीय शक्तिले त्यस क्षेत्रमा नगरवासीलाई दुःख दिएकाले तिनलाई सुरक्षित राख्नका लागि सो जात्रा निकाल्ने प्रचलन सुरु गरिएको स्थानीयवासी मनिराज डङ्गोलले जानकारी दिनुभयो । त्यहाँको सो जात्रा अलि फरक रहेकाले जिब्रो छेड्ने प्रचलन भने छैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा सो जात्रा प्रवद्र्धन गर्न संस्कृतिविद् तथा स्थानीयवासीले पहल गरिरहेका छन् ।
त्रिदेवीको खटजात्रा
भद्रकाली, सङ्कटा र कङ्केश्वरी अजिमाको मूर्तिलाई आज घोडेजात्राका दिन खटजात्रा गरिएको छ ।

प्रत्येक वर्ष आजकै दिन ती देवीलाई एकापसमा भेट गराउनका लागि खटमा राखेर टुँडिखेलमा जात्रा गर्ने परम्परा छ । ती देवी दिदीबहिनी भएको जनविश्वास छ । काठमाडौँमा तीनै देवीलाई ठूलो शक्तिपीठका रुपमा लिइने गरिएको छ ।

विशेष बाजागाजासहित सम्बन्धित गुठीका प्रतिनिधिले ती देवीलाई खटमा सिँगारेर जात्रा सम्पन्न गरेका हुन् । सांस्कृतिक रुपमा महत्वपूर्ण मानिएको सो जात्रामा सहभागी भएमा रोग व्याधिबाट मुक्त भई पारिवारिक सुख, शान्ति तथा समृद्धि कायम हुने कङ्केश्वरी अजिमाका प्रतिनिधि रमेशमान मुनिकारले जानकारी दिनुभयो ।

त्यसैगरी काठमाडौँका नेवार समुदायले परम्परागत घोडेजात्रा पर्वलाई आज उत्सवका रुपमा मनाएका छन् । सो समुदायले दसैँपछिको ठूलो पर्वका रुपमा घोडेजात्रालाई मनाउने र आफन्त तथा इष्टमित्रलाई बोलाएर भोज भतेर गर्ने परम्परा छ । ती समुदायका एकथरिले आज चैते दसैँ र अर्काथरिले घोडेजात्रा मनाउने गर्छन् ।


Facebook Comment


No ads found for this position