सुध्रिएनन् राजमार्गका होटल

राजु चौधरी

१४ चैत, काठमाडौं । भैरहवाका कमल अधिकारी पृथ्वी राजमार्ग हुँदै उपत्यका आउँदा प्याकिङ सामानमा ७५ प्रतिशतभन्दा बढी मूल्य तिर्दै आएका थिए । शनिबार महादेवबेंसीमा रहेको सुपा देउराली होटल एन्ड रेस्टुरेन्टले लेजको मूल्य २० रुपैयाँ लिएपछि उनी छक्क परे । ‘यसअघि २० रुपैयाँ पर्ने लेजलाई ३५ रुपैयाँ तिर्नुपथ्र्यो,’ अधिकारीले भने, ‘अनुगमनकर्ता देखेर प्याकिङमा उल्लेख गरिएकै मूल्य लियो ।’ राजमार्गका होटलहरूमा ठगी हुने गरेको जानकारी हुँदाहुँदै पनि आफूहरू बाध्य भएर किन्न परेको यात्रुहरू बताउँछन् । ठगीविरुद्ध यात्रुहरू एकजुट नहुँदा व्यवसायीको मनोबल बढदै गएको एक अधिकारीले बताए । ‘बढी मूल्य असुलेको थाहा हुँदा पनि होटलविरुद्ध अवाज उठाउन सक्ने अवस्था छैन । यात्रुहरू एकजुट हुँदैनन्,’ ती अधिकारीले भने, ‘ठगी भयो भने कहाँ सम्पर्क गर्ने भन्ने सचेतना पनि छैन ।’नौबिसेस्थित दिनेश कोल्ड स्टोरमा भेटिएकी अप्सरा तामाङको भनाइ पनि उस्तै छ । यात्राका क्रममा फ्रुटी जुसलाई ४० रुपैयाँ तिरेकामा शनिबार २५ रुपैयाँमै पाएको बताइन् । ‘अनुगमन टोली हुँदा मूल्यमा धेरै फरक पाइयो,’ उनले भने, ‘अनुगमन नियमित आवश्यक छ ।’ यी त दुई उदाहरण मात्रै हुन् । पृथ्वी राजमार्गमा दैनिक हजारांै यात्रु ओहोरदोहोर गर्छन् । तीमध्ये अधिकांश ठगिँदै आएका छन् । सरकारले बेलाबखतमा अनुगमन पनि नगरेको होइन । तर, अवस्था जस्ताको त्यस्तै छ । अनुगमनका क्रममा सरसफाइमा ध्यान दिन, मूल्यसूची राख्न, दर्ता र नवीकरण गर्न, म्याद नाघेका सामान बिक्री नगर्न निर्देशन दिँदै आए पनि व्यवसायीले त्यसको पालना गरेका छैनन् । बजार मूल्य हस्तक्षेप र नियन्त्रण गर्ने जिम्मा आपूर्ति व्यववस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको हो ।

विभागको संयोजकत्वमा पृथ्वी राजमार्गमा सञ्चालित होटलको फलोअप अनुगमनमा यस्तो भेटिएको हो । विभागको टोलीले होटल एन्ड लज तथा क्याफे गरी करिब ४० वटामा अनुगमन गरेको थियो । त्यसक्रममा अधिकांश होटलमा चरम लापरबाही भेटियो । केही होटल तथा क्याफेले मूल्यसूची राखे पनि सरसफाइमा ध्यान नदिएको, व्यवसायी दर्ता नवीकरण नगरेको, भान्सा कोठा अत्यधिक फोहोर, पेय पदार्थहरू म्याद नाघेको फेला परेकोसमेत भेटियो । अनुगमनमा सहभागी इलाका प्रहरी कार्यालय खानीखोला, धादिङ प्रमुख (प्रहरी निरीक्षक) जीवन निरौलाका अनुसार व्यवसायीले मूल्यसूची राखे पनि विभिन्न बहानामा चर्को मूल्य असुलेको गुनासो बढदै गएको छ । ‘मूल्यसूची भए पनि चाउमिनमा अलिअलि तरकारी, मासु राखेर २ सय ५० रुपैयाँभन्दा बढी असुल्ने गरेको पाइयो । खसीको भनेर बाख्राको मासु बिक्री गरेको भन्ने उजुरी गुनासाहरू धेरै छन्,’ उनले भने, ‘कर्मचारीको कमीले अनुगमन गर्न सकेका छैनौं ।’

अनुगमनका क्रममा २० किलोमिटर कोल्ड स्टोरमा दुई वर्षअघि म्याद सकिएका चना, केराउ, सोनपापडी, ट्यांगो, क्याक्सकोला, कोकलगायत खाद्यान्न फेला परेको थियो । ती सबै नष्ट गरिएको छ । उक्त स्टोरले बिनादर्ता तीनवटा पसल सञ्चालन गर्दै आएको भेटियो । यस्तै दिनेश कोल्ड स्टोरले पनि बिनादर्ता व्यवसाय सञ्चालन गर्दै आएको फेला परेको छ । उक्त पसलमा पनि दुई वर्षदेखि म्याद सकिएका बिस्कुट बेच्नका लागि राखिएको पाइएको थियो । नैबिसेमै रहेको उप्रेती होटल, दक्षिणकाली होटलमा पनि अधिकांश पेय पदार्थको म्याद सकिएको, सरसफाइमा ध्यान नदिएको फेला परेको थियो । व्यवसायी भने मितिबारे आफूहरूलाई जानकारी नभएको भन्दै पन्छिन खोजेका थिए ।

‘म्याद सकिने मितिको अवस्थाबारे जानकार छैनौं । डिलरहरूले उपलब्ध गराएअनुसार बिक्री गर्दै आएको छौं,’ उप्रेती होटलका सञ्चालिका उजेली उप्रेतीले भनिन्, ‘अनुगमनसँगै सचेतना कार्यक्रम पनि आवश्यक छ ।’ उपभोक्ता संरक्षण ऐन २०५४ ले उत्पादकको नाम, ठेगाना, वस्तुको मूल्य, ब्याच नम्बर, उत्पादन र म्याद सकिने मिति अनिवार्य उल्लेख गर्न भनेको छ । कानुनले यी सबै विषय नखुलाई सामान बेच्नु गैरकानुनी भनेर प्रस्ट पारेको छ । होटल नमस्ते नेपाल (थकाली किचेन) को अवस्था पनि लथालिंग छ । बाहिरबाट झट्ट हेर्दा आकर्षक देखिए पनि किचेन अत्यधिक फोहोर थियो । खानेकुरा नछोपी राखेको, यात्रुलाई वितरण गर्ने खाना र फोहोर छेउमै राखेको फेला परेको थियो । फ्रिजमा राखेको अचार र धनिया लथालिंग अवस्थामा भेटिएको थियो ।

थकाली किचेनका सञ्चालकलाई सरसफाइमा विशेष ध्यान दिन मात्रै निर्देशन दिइएको थियो । यस्तै होटल कान्तिपुर फास्टफुड एन्ड रेस्टुरेन्टको किचेनमा पनि अत्यधिक फोहोर थियो । खाना पकाउने भाँडा, खानेकुराहरू छरपस्ट थियो । फोहोर अत्यधिक मात्रामा भएकाले किचेन गन्हाएको थियो । उक्त फास्टफुडलाई पनि सरसराइमा ध्यान दिन निर्देशन मात्रै दिइयो । निर्देशन मात्रै दिँदा व्यवसायीहरू अटेरी गर्दै आएका छन् । यात्रुहरू ठगिने क्रम पनि बढेको बढ्यै छ ।

विभागका निरीक्षण अधिकृत तथा अनुगमन टोली संयोजक लोकबहादुर कार्कीले यसअघि दिएका निर्देशक आंशिक रूपमा पालाना भएको बताए । सरसफाइमा ध्यान नदिने र बासी खाना खुवाउनेलाई सचेतनासहित कारबाही गर्नुपर्ने जनाए । ‘केहीले निर्देश कार्यान्वयन गरेका छन् । तर, पूर्ण रूपमा छैन,’ उनले भने, ‘पूर्ण रूपमा सुधार गर्न सचेतना कार्यक्रमसँगै अनुगमन निरन्तर हुनुपर्छ ।’ अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले केही व्यवसायीले सरसफाइमा ध्यान दिए पनि सन्तुष्ट हुने ठाउँ नभएको बताए । उनले सर्वसाधारणहरू स्वयं सचेत हुन आवश्यक रहेको बताए ।

उपत्यकासँग राजमार्ग र जिल्लाहरूमा विशेष ध्यान दिनुपर्ने उनले बताए । केन्द्रमा मात्रै अनुगमन हुँदा जिल्लाका सर्वसाधारणले चर्को मूल्यमा म्याद नाघेका सामान उपभोग गर्न बाध्य छन् । अनुगमन नहुँदा ठूला व्यवसायीले म्याद नाघेका सामानहरू दुर्गम क्षेत्रमा पठाउने गरेका छन् । दुगर्म क्षेत्र, त्यसमा पनि मोटर नपुगेका गाउँमा यस्ता समस्याहरू (म्याद नाघेका सामानहरू) छ्यापछ्याप्ती भेटिन्छन् ।साभार कान्तिपुर


Facebook Comment


No ads found for this position