निकुञ्ज सुरक्षार्थ ‘अप्रेशन महाहन्ट’ प्रभावकारी

चितवन, १५ चैत । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि तीन महिनाअघि थालिएको ‘अप्रेशन महाहन्ट’ निकै प्रभावकारी हुँदै गएको छ ।

दुर्लभ वन्यजन्तुको चोरी सिकारी नियन्त्रणका साथै महाहन्टका क्रममा वन पैदावार र नदीजन्य पदार्थको अवैध ओसारपसारसमेत नियन्त्रणमा आएको छ ।

निकुञ्ज सुरक्षार्थ श्रीजङ्ग गणको नेतृत्वमा निकुञ्जका कर्मचारी, चोरी सिकारी नियन्त्रण युवा जागरण अभियान र स्थानीयवासीको अभियानमा साथ र सहयोग छ । महाहन्टकै क्रममा मध्यवर्तीका बासिन्दालाई लाभ पुग्ने गरी बृहत् स्वास्थ्य शिविरसमेत सञ्चालन गरिएको थियो ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार महाहन्टका क्रममा निकुञ्जभित्र अवैध रुपमा प्रवेश गरेर घाँस दाउरा सङ्कलन गर्ने ६३ जनालाई पक्राउ गरी रु ३२ हजार जरिवाना गरिएको छ ।

त्यसैगरी अवैध रुपमा ठूलो जाल प्रयोग गरी माछा मार्ने सातजनालाई नियन्त्रणमा लिएर रु छ हजार पाँचसय जरिवाना गरी छाडिएको छ । पासोमा पारी चित्तल मारेको अवस्थामा तीनजनालाई पक्राउ गरी प्रतिव्यक्ति रु एक लाख ७७ हजार तीनसय धरौटीमा तारेखमा राखेर मुद्दा चलाइएको छ ।

उहाँका अनुसार बिनाइजाजत निकुञ्जमा सालको रुख काट्दै गरेका १२ जनालाई नियन्त्रणमा लिई जनही रु तीन लाख ६२ हजार नौसय ९४ धरौटीमा छाडिएको छ । निकुञ्जको प्रवेशद्वार जगतपुर क्षेत्रबाट उनीहरुलाई पक्राउ गरिएको हो । अभियानकै क्रममा नवलपरासी क्षेत्रबाट अवैध रुपमा ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्दै आएका २४ वटा ट्याक्टर, तीनवटा ट्रक र एक जेसिबीलाई जरिवाना गरिएको छ ।

अभियान गत पुस १५ गतेबाट सञ्चालन गरिएको हो । निकुञ्ज सुरक्षार्थ खटिएको श्रीजङ्ग गणका गणपति माधव थापाका अनुसार यस अभियानअन्तर्गत एकसय विभिन्न गणका सेनाले छवटा समूह बनाएर निकुञ्ज गस्ती र बेस क्याम्प खडा गरेका छन् । यही अभियानअन्तर्गत पाँच ठाउँमा स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रमसमेत गरिएको छ ।

दि फेमस महेन्द्र दल गण भरतपुर, वरख गण वीरगन्ज, इन्द्र बक्स गण रौतहटबाट एकसय सेना र भैरव वहान गुल्मका कुकुर महाहन्टमा प्रयोग भइरहेका छन् । सेनाले निकुञ्जका तीन संवेदनशील क्षेत्रमा क्याम्प खडा गरेको छ भने तीनवटा मोबाइल हन्टिङ गरी गस्ती गरिरहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ खटिने सेनाले विसं २०६७ बाट अप्रेशन हन्ट सञ्चालन गर्दै आएकामा २०७१ बाट भने महाहन्ट सञ्चालन गर्दै आएको छ ।
हाल निकुञ्ज सुरक्षार्थ १५० वटा टोलीबाट नियमित गस्ती हुने गरेको छ, जसमा पैदल, साइकल, मोटरसाइकल, गाडी, हात्ती र डुङ्गा गस्ती पर्छन् । गस्तीमा पाँचसय ५० जना सेना, निकुञ्ज कर्मचारी र समुदायमा आधारित चोरी सिकारी नियन्त्रण युवा अभियानका प्रतिनिधि परिचालन गरिँदै आएको छ ।

निकुञ्जका १० संवेदनशील ठाउँमा सिसी क्यामरा जडान गरी २४सै घन्टा निगरानी गरिँदै आएको छ भने चारवटा कुकुर परिचालन गरी गस्ती गरिँदै आएको छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले सो अभियानले दुर्लभ वन्यजन्तुको चोरी सिकार, वन पैदावार र नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न महाहन्ट सफल भएको उहाँले बताउनुभयो ।


Facebook Comment


No ads found for this position