पर्यटकले चितवनकै जंगलमा अर्ना हेर्न पाउने

सूर्यप्रकाश कँडेल

चितवन : विश्व सम्पदा सूचीमा रहेको चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको चाहना हुन्छ, जंगली वासस्थानमा दुर्लभ एकसिंगे गैंडा र पाटेबाघ हेर्ने । केही पर्यटकलाई यही निकुञ्जभित्र अर्ना हेर्ने चाहना छ भने अब त्यो चाहना पनि पूरा हुने भएको छ । कोसीटप्पु वन्यजन्तु आरक्षबाट स्थानान्तरण गरेर केही अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएपछि पर्यटकले चितवनकै जंगलमा अर्ना हेर्न पाउने अवसर प्राप्त गर्ने भएका हुन् ।

माघ १४ देखि २७ गतेसम्म कोसीटप्पुबाट दुईवटा भाले र १० वटा पोथी अर्ना चितवन ल्याइएको छ । यसैगरी सदर चिडियाखाना जावलाखेलबाट एउटा भाले र दुईवटा पोथी अर्ना चितवन ल्याइएको छ । अर्नाका यी बथान निकुञ्जभित्रको पुरानो पदमपुर क्षेत्रमा ३० हेक्टर घाँसे मैदान घेरेर निर्माण गरिएको इन्क्लोजरभित्र चर्न थालेका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेल चितवन ल्याइएका अर्ना नयाँ वासस्थानमा विस्तारै अभ्यस्त हुन थालेको बताउँछन् । ‘सबै अर्ना बथानमा बस्न, हिँड्न र चर्न थालेका छन्’, उनले भने, ‘विस्तारै अभ्यस्त हुँदैछन् । अहिलेसम्मको अवस्था राम्रो छ ।’

सरकारले २०७१ साल कात्तिक २२ गते गैंडा, अर्ना, बाह्रसिंगा र कृष्णसारलाई नयाँ बासस्थानमा स्थानान्तरण गर्ने निर्णय लिएपछि अर्नालाई चितवन ल्याउने वातावरण बनेको हो । यही निर्णयको आधारमा चैतको अन्ततिर शुक्लाफाँटा वन्यजन्तु आरक्षबाट २० वटा पोथी र पाँचवटा भाले बाह्रसिंगा चितवन ल्याउने तयारी भइरहेको प्रमुख संरक्षण अधिकृत कँडेलले जानकारी गराए ।

निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा निर्मित इन्क्लोजरभित्र राखिएका अर्नाको सुरक्षाका लागि निकुञ्जको सुरक्षार्थ खटिएको श्रीजंग गणका पाँचजना सैनिक खटाइएको छ । इन्क्लोजरबाहिर अग्लो मचानमा बसेर सेनाले अर्नाको सुरक्षा गरिरहेको छ । निकुञ्ज प्रशासनले अर्नाको रेखदेख गर्न दुईजना सुपरभाइजर खटाएको छ ।

अर्नाको आहारका लागि इन्क्लोजरभित्र सिरु, काँस, दुबोलगायतका झार लगाइएको छ । पानीका लागि ताल र भइरहेका घोलको सरसफाइ गरिएको छ । इन्क्लोजरको चारैतिरबाट फेन्सिङ जालीले घेरेर बाहिरका वन्यजन्तु इन्क्लोजरभित्र पस्न नसक्ने र भित्रका अर्ना बाहिर निस्कन नसक्ने बनाइएको छ ।

निकुञ्जका पूर्ववार्डेन रामप्रित यादव अर्नालाई जंगली अवस्थामै रमाउन दिनुपर्ने बताउँछन् । ‘नयाँ ठाउँमा आएका अर्ना बथानमा हिँड्न थाल्नु राम्रो हो’, उनले भने, ‘अब यिनीहरूलाई जंगलमा अभ्यस्त बनाएर जंगली अवस्थामै रमाउन दिनुपर्छ ।’ निकुञ्जका प्रमुख संरक्षण अधिकृत कँडेल चितवन ल्याइएका सबै अर्नालाई दुई वर्षसम्म इन्क्लोजरभित्रै निगरानीमा राखिने र दुई वर्षपछि इन्क्लोजरबाट बाहिर छाडिने बताउँछन् ।

गैंडा स्थानान्तरणको तयारी

चितवन राष्ट्रिय निकुञ्जले आगामी साता चितवनबाट एउटा भाले र चारवटा पोथी गैंडा शुक्लाफाँटा वन्यजन्तु आरक्षमा स्थानान्तरण गर्ने भएको छ । निकुञ्जले चैत १० गते सरोकारवालासँगको बैठकबाट शुक्लाफाँटामा गैंडा स्थानान्तरण गर्ने निर्णय लिएको हो । गैंडा स्थानान्तरणका लागि प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

‘चैत २१ गतेदेखि शुक्लाफाँटा वन्यजन्तु आरक्षमा गैंडा स्थानान्तरण गर्ने काम सुरु गर्नेछौँ’, कार्यदलका संयोजक कँडेलले भने, ‘गैंडा स्थानान्तरण कार्यमा ३० वटा हात्ती, ६० जना हात्तीसारका कर्मचारी, २० जना निकुञ्जका कर्मचारी, २० जना सैनिक र २० जना अतिथि तथा विभागबाट आउने व्यक्ति संलग्न रहनेछन् ।

एकपटकमा ५० जना जति परिचालित हुने उनले बताए । उनले चितवनबाट गैंडा समात्ने र शुक्लाफाँटामा लगेर छाड्ने कामका लागि विभागीय जिम्मेवारी तोकेर उपसमिति निर्माण गरिएको जानकारी गराएका छन् । गैंडा स्थानान्तरणका लागि खटिने जनशक्तिबाट बाह्रसिंगा चितवन ल्याउने काम पनि सम्पन्न गर्ने लक्ष्य लिइएको संयोजक कँडेलले बताए ।

गत वर्ष फागुनमा चितवनबाट पाँचवटा गैंडा बर्दिया राष्ट्रिय निकुञ्जको बबई उपत्यकामा स्थानान्तरण गरिएको थियो । स्थानान्तरण गरिएका गैंडामध्ये एउटा भाले गैंडाको मृत्यु भइसकेको छ ।स्थानान्तरणका बेला गर्भिणी अवस्थामा रहेकी एउटा पोथी गैंडाले जन्माएको बच्चा पनि बाघले खाइदिएको छ।

शुक्लाफाँटा आरक्षमा सत्र वर्षअघि २०५६ सालमा चितवनबाट चारवटा गैंडा स्थानान्तरण गरिएको थियो । अहिले शुक्लाफाँटामा नौवटा गैंडा छन् । स्थानान्तरणपछि शुक्लाफाँटामा गैंडाको संख्या १४ पुग्नेछ । पछिल्लो गैंडागणनाअनुसार नेपालमा छ सय ४५ र चितवनमा छ सय पाँचवटा गैंडा छन् ।


Facebook Comment


No ads found for this position