बिपी राजमार्ग असारअघि नै पूर्ण सञ्चालनमा

जीवन बस्नेत ,१६ चैत, काठमाडौं । सरकारले गत फागुन ९ गते गएको पहिरोपछि अवरुद्ध रहेको बिपी राजमार्गका भत्किएका खण्ड निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया थालेको छ । त्यसका लागि बिपी राजमार्ग सडक आयोजनाले चैतभित्र नै भत्किएको ठाउँको सडक मर्मत–निर्माण गर्न निर्माण व्यवसायी छनोट गरिसक्ने र नयाँ वर्षदेखि निर्माण थाल्ने कार्ययोजना रहेको आयोजना प्रमुख भरतकाजी देवजूले नयाँ पत्रिकालाई जानकारी दिए ।
सामान्यतया ३५ दिनको अवधि राखेर बोलपत्र आह्वान गर्ने गरिएको भए पनि आयोजनाले १५ दिनभित्र निर्माण व्यवसायी छनोट गर्ने गरी गत हप्ता सूचना निकालिसकेको छ । वर्षा सुरु हुनुअघि नै काम सम्पन्न नभएमा झन् समस्या बढ्न सक्ने भएकाले तत्काल निर्माण थाल्न प्रक्रिया अघि बढाइएको हो । ‘हाम्रो लक्ष्य भनेको असारअघि नै नियमित रूपमा सवारी सुचारु गर्ने हो,’ आयोजना प्रमुख देवजूले भने ।

१ सय ४५ मिटर  पुनर्निर्माण गर्नुपर्ने
आयोजना कार्यालयका अनुसार भत्किएको ठाउँमा करिब १ सय ४५ मिटर सडक पुनर्निर्माण गर्नुपर्नेछ । त्यसका लागि सम्पूर्ण नक्सांकन र निर्माणपूर्व तयारीका काम सम्पन्न गरिसकेको जानकारी दिएको छ । यसअघि बिपी राजमार्गअन्तर्गत सिन्धुली जिल्लाको शीतलपाटी–९, खुर्काेट–खाल्टेबीचमा पर्ने डाँडामा करिब ३० मिटर सडक  भासिएको थियो ।

पहिरो गएपछि अझै राजमार्ग पूर्ण रूपले सञ्चालनमा आउन सकेको छैन । उक्त क्षेत्रमा वैकल्पिक मार्गका रूपमा खुर्काेट–मन्थली –पकरबास हुँदै सित्खा निस्केर पुनः बिपी राजमार्ग भेट्ने गरी अहिले सवारी सञ्चालनमा रहेको छ । नियमित सडक अवरुद्ध भएपछि राजधानीपूर्व र पूर्वतराई तथा मध्यपहाडी जिल्ला आवत–जावत गर्न असहज हुँदै आएको छ । तर, रामेछाप, दोलखा, खोटाङ, सोलुखुम्बु, ओखलढुंगालगायत पूर्वका अन्य जिल्ला तथा तराईका जिल्लाबाट आवत–जावत हुने ९० प्रतिशत सवारीसाधन अहिले पनि वैकल्पिक मार्गबाट सुचारु रहेको आयोजना व्यवस्थापनको दाबी छ । यस राजमार्ग हुँदै दैनिक ५ हजारको हाराहारीमा सवारीसाधन ओहोरदोहोर गर्ने गरेको ट्राफिक प्रहरीको तथ्यांकले देखाउँछ ।

थप १२ ठाउँ उच्च जोखिममा

धुलिखेलदेखि बर्दिबाससम्मको १ सय ६० किलोमिटर लामो बिपी राजमार्गअन्तर्गत थप १२ ठाउँमा उच्च जोखिमको अवस्था रहेको पहिचान भएको छ । ती ठाउँमा समयमै मर्मत र निर्माण नगर्ने हो भने त्यसले दुर्घटना निम्त्याउन सक्नेछ । आयोजना प्रमुख भरतकाजी देवजूका अनुसार कुल २० वटा जोखिमयुक्त ठाउँ पहिचान गरिएको छ । तर, त्यसमा ८ वटा न्यून जोखिममा रहेका छन । न्यून जोखिममा रहेका ठाउँको निर्माण नेपाल सरकारले गर्ने तयारी भएको छ ।

जापानसँग डेढ अर्ब अनुदान माग
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उच्च जोखिमयुक्त ८ ठाउँको निर्माण गर्नका लागि १ अर्ब ४० करोड रुपैयाँ माग गरेको छ । उच्च जोखिमयुक्त ठाउँको निर्माण तथा मर्मत गर्न जापान सरकार पनि सकारात्मक रहेको आयोजना प्रमुख देवजूले बताए । सडकको भूकम्पपछिको अद्यावधिक अवस्था बुझ्नका लागि जापानी टोली १५ वैशाखपछि आउने तयारीमा रहेको छ ।

भूकम्पका कारण पहिरो
बिपी राजमार्ग सडकमा जमिन भासिएर पहिरो जानुमा भूकम्प नै मुख्य कारण रहेको आयोजना प्रमुख भरतकाजी देवजूले जानकारी दिए । भूकम्पका कारणले सडक कमजोर भएको थियो । त्यसमाथि सडकको तल्लो (आधार) माग नदीले कटान (टोय कटिङ) गर्दै जाँदा अतिरिक्त भार परेको र त्यसले सडक भासिएर पहिरो गएको आयोजना कार्यालयको भनाइ छ । तर, सडक विभागले सडक भत्किनुको कारणबारे जापानी प्राविधिक टोलीसँग मिलेर गरिएको अध्ययनबारे अझै सार्वजनिक गरेको छैन । यसअघि सडक भासिएर पहिरो गएपछि बिपी राजमार्ग सडक आयोजना प्रमुख देवजूले तत्काल स्थलगत अध्ययनका लागि जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)का प्राविधिकहरूसहित सडकको अवलोकन गरेका थिए ।

हेभी सवारीसाधनका लागि अनुपयुक्त

बिपी राजमार्गमा साना र मध्यमस्तरका सवारीसाधन गुडाउनका लागि उपयुक्त भए पनि ठूला सवारीसाधनका लागि भने अनुपयुक्त रहेको आयोजना व्यवस्थापन पक्षले बताएको छ । यस्तै, सडकमा १० टनभन्दा ठूलो गाडीसमेत राजमार्गमा गुडाउने गर्दा सडक भासिएको स्थानीयले आरोप लगाउने गरेका छन् । सुनकोसी नदीको ठीक माथिको भागमा पर्ने राजमार्गमा १० टनभन्दा ठूला गाडी गुडाउन नहुने यसअघि नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको समितिको प्राविधिक मूल्यांकनले समेत देखाएको थियो ।
जापानको सहयोगमा निर्माण गरिएको १ सय ६० किलोमिटर लामो बिपी राजमार्ग आर्थिक वर्ष ०५३÷५४ देखि निर्माण थालेर १८ वर्षपछि आव ०७१÷७२ मा सम्पन्न गरिएको हो । आयोजना औपचारिक रूपमा करिब २ वर्षअघिदेखि मात्र सञ्चालनमा आएको हो ।  राजमार्गमा अत्याधुनिक प्रविधिको प्रयोग गरिएको र वातावरणमैत्री मानिन्छ । सडक आयोजना तयारीमा अधिक समय र खर्च गरिएको यस आयोजनाको चौडाइ भने कम छ । यो राजमार्ग ३० अर्ब रुपैयाँ लागतमा निर्माण भएको थियो ।


Facebook Comment


No ads found for this position