कर्णालीमा बगेको जहाजको पुनः छानबिन हुने

काठमाडौंः फोर्स ल्यान्डिङ गर्दा कर्णाली नदीले बगाएको मकालु एयरको जहाजको इन्जिन भेटिएपछि पुनः अध्ययन गरी छानबिन गर्नुपर्ने भएको छ ।

गत २० साउनमा कर्णालीमा बगेको जहाज नभेटिएपछि इन्जिनको अध्ययननै नगरी अध्ययन प्रतिवेदन बुझाउने तयारीमा रहेको दुर्घटना जाँचबुझ आयोगले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को प्रावधानअनुसार पुनः छानबिन र अनुसन्धान गर्नुपर्ने भएको हो ।

“जहाजको इन्जिन भेटिएको छ, अब फेरि अनुसन्धान गर्नुपर्ने भएकाले प्रतिवेदन बुझाउने कार्य रोकेका छौं,” संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव हरिबहादुर खड्काले भने । उनी मकालु एयर दुर्घटना जाँचबुझ आयोगका सदस्य सचिवसमेत हुन् ।

आयोगका संयोजक तथा पूर्वपर्यटन सचिव यज्ञप्रसाद गौतम छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय, खोज तथा उद्धार केन्द्रका अनुसार २० साउनमा हुम्ला जिल्लास्थित सिमिकोट विमानस्थलबाट सुर्खेत विमानस्थलका लागि उडेको जहाज हुम्लाको हेल्दुङस्थित नदीको बगरमा आकस्मिक अवतरण गरेको थियो ।

सुर्खेतबाट कार्गो लिएर हुम्ला पुगेको सिंगल इन्जिन जहाज सुर्खेत नै फर्कने क्रममा इन्जिनमा गडबडी आएपछि आकस्मिक अवतरण गरेको थियो । जहाजमा रहेका पाइलट सांगे ग्याल्मु लामा र को–पाइलट प्रशान्त शाह सामान्य घाइते भएका थिए भने घटनामा मानवीय क्षति भएको थिएन । यसअघि कम्पनीले जहाज नदीमै गायव भएको भन्दै आफ्नो जहाज कर्णालीमै हराएको प्रतिवेदन दुर्घटना छानबिन आयोगलाई बुझाएको थियो ।

सर्च एन्ड रेस्क्युका क्रममा लामो समयसम्म पनि फेला नपरेपछि ९–एनएकेसी कलसाइनको जहाज रद्द (टर्मिनेट) गरिएको चिठी आयोगमा बुझाएको थियो । “झन्डै ९ महिनापछि जहाजको इन्जिन भेटिएकोले पुनः अनुसन्धान गरेर छानबिन गर्नुपर्ने आईकाओको प्रावधानमा उल्लेख गरेकाले छलफल गरेर टुंग्याउने तयारी रहेको छ,” खड्काले भने ।

आयोगले पाइलट र को–पाइलटको बयानका आधारमा प्रतिवेदन तयार पारिसकेको छ । तर, प्रतिवेदन सार्वजनिक भने गरिएको छैन । आईकाओ तथा नेपाल नागरिक उड्डयनको प्रावधानअनुसार कुनै पनि जहाज दुर्घटनापछि अनिवार्य त्यसको छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्नुपर्छ ।

दुर्घटनामा परी जहाज नभेटिएको अवस्थामा कुनै प्रतिवेदन तयार पारिसकिए पनि जहाज भेटियो भने पुनः विस्तृत अध्ययन गरी नयाँ प्रतिवेदन तयार गर्नुपर्छ । जहाजको इन्जिन फेलापरेको अवस्थामा अनुसन्धानपछि दुर्घटनाको ठोस कारण पत्ता लाग्ने भएकोले पनि आयोगले पुनः अध्ययान गर्नुपर्ने अनिवार्य प्रावधान आईकाओको छ ।


Facebook Comment


No ads found for this position