सामुदायिक वनमा आन्तरिक र विदेशी पर्यटकको आवागमन हुँदा आम्दानी बढ्यो

१६ चैत । समुदायलाई हस्तान्तरण गरेको तेस्रो वर्षमै यहाँको एक सामुदायिक वनले पर्यटक भित्र्याएर वार्षिक ५० लाख रुपैयाँ आम्दानी गर्न थालेको छ । गुन्द्रही ढकाहा मध्यवर्ती सामुदायिक वनमा आन्तरिक र विदेशी पर्यटकको आवागमन हुँदा आम्दानी बढेको हो ।

समुदायलाई हस्तान्तरण गरेकै वर्षदेखि वन समितिका पदाधिकारीले पर्यटक लक्षित कार्यक्रम सुरु गरेका थिए । वनमा चराचुरुंगी अवलोकन, जंगल घुम्ने, गाडामा चढ्ने, पैदलयात्रा गर्ने, हात्ती र जिप सफारीको व्यवस्था मिलाइएको छ । यसबाट पर्यटकको रोजाइमा यो सामुदायिक वन परेको हो । नारायणी नदी किनार र चितवन राष्ट्रिय निकुञ्ज छेउमा रहेको वनमा समितिले आकर्षक व्यवस्थापनका कारण पर्यटकहरू पटक–पटक आउने गरेका छन् । गुन्द्रही सामुदायिक वन छेवैमा होटल टाइगर टप्स, टेम्पल टाइगर, मचान कन्ट्री भिल्ला, थारू हेरिटेज रिसोर्ट, नेचरएज होटलमा आउने विदेशी पर्यटकको रोजाइमा पनि यो वन पर्ने गरेको छ । त्यसका अतिरिक्त २०७२ मा नेपालमै उत्कृष्ट होमस्टे छनोटमा परेको अमलटारी थारू होमस्टे, बरौली कम्युनिटी होमस्टेमा आउने पर्यटकको चाप पनि उत्तिकै छ ।

सामुदायिक वनका अध्यक्ष लगायत बहुमत सदस्य स्थानीय युवाहरू नै छन् । समितिका सबै पदाधिकारी ३५ वर्षमुनिका छन् । वनका अध्यक्ष देवनारायण महतोका अनुसार निकुञ्ज नजिक रहेकाले चरा अवलोकन, सूर्यास्तको दृश्य, गाडा सयर, पैदल यात्रा, हात्ती र जिप सफारीका लागि यहाँ पर्यटकको चाप बढी छ । चितवन निकुञ्जको झल्को दिन यो सामुदायिक वन सफल भएकाले पनि पर्यटकको आकर्षणमा परेको अध्यक्ष देवनारायण महतोले बताए ।

वन नजिकका टुरिस्ट होटलका १६ हात्तीले दिनहुँ पर्यटक घुमाउने र नुहाउने व्यवस्था छ । जंगली जनावर अवलोकनका लागि ठाउँ–ठाउँमा मचानसमेत बनाइएका छन् ।

सबै पर्यटकीय गतिविधिमा स्थानीयले प्रत्यक्ष रोजगारी पाएको अध्यक्ष महतोले बताए । थारू बहुल गाउँका सबैजसो युवायुवतीहरू सिजनमा पर्यटकीय गतिविधिमा संलग्न हुन्छन् । यो नै उनीहरूको दिगो आम्दानीको स्रोत बनेको छ ।

१३ हजारभन्दा बढी पर्यटकले सामुदायिक वनको अवलोकन गरिसकेका छन् । मनोरञ्जन र सेवाअनुसार पर्यटकसँग लिइने शुल्क पनि फरक–फरक रहेको छ । पर्यटक लोभ्याउन जंगली जनावरको बासस्थान सुधार्न पनि समितिले विभिन्न गतिविधि सञ्चालन गरेको छ । अध्यक्ष महतोले भने, ‘जंगलभित्र सिमसार क्षेत्रको व्यवस्थापन, चरीचरणका लागि घाँसे मैदानको विकास, आहाल खेल्ने स्थान, पक्षीको बासस्थान मिलाइएको छ ।’ वनमा पर्यटकको चाप कम गर्न र बढी मनोरञ्जन दिन उनीहरूले सिमाना जोडिएका कृष्णसार मध्यवर्ती उपभोक्ता समिति, नमुना मध्यवर्ती र शान्तिकुञ्ज सामुदायिक मध्यवर्ती वनमा पनि पर्यटक गन्तव्य बनाएका छन् । यी तीनवटा सामुदायिक वनको १३ किलोमिटर क्षेत्रमा जिप सफारीको व्यवस्था छ ।

काँढे तारको विकल्पमा जैविक बार
बस्ती नजिकै जंगल भएका कारण बस्तीमा जनावरको जोखिम पनि उत्तिकै छ । जनावरबाट गाउँमा हानि नोक्सानी नहोस् भनेर तारबार र विद्युतीय बार पनि लगाइएको थियो । तर, वन पदाधिकारीले वन्यजन्तुमैत्री वातावरण बनाउने नयाँ जुक्ति सिकाए । ‘विद्युतीय तारबाट पनि जनावर नतर्सने अभ्यस्त भइसकेका छन्,’ अध्यक्ष महतोले भने, ‘त्यसको विकल्पमा जैविक बार लगाउन सुरु गरेका छौं ।’
पहिलो चरणमा ४ किलोमिटर क्षेत्रमा घनाबाँस लगाउनका लागि नर्सरीमा ४ हजार बिरुवा तयार गरेको उनले बताए । उनीहरूले जैविक बार लगाउन सुरु गरेका छन् । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकणका लागि यो जुक्ति उत्तम हुने उनीहरूको ठहर छ । अर्को वर्ष ५ किलोमिटर क्षेत्रमा घनाबाँस लगाउने समितिको योजना छ ।

जंगलमा मानिसको चाप घटाउनका लागि उनीहरूले हरेक घरले गाउँमै १० बिरुवा हुर्काउनुपर्ने अभियान चलाएका छन् । उनीहरूले घरघरमा पाल्ने जनावरका लागि पनि हुने गरी घाँसजन्य बिरुवा, डालेघाँस र काठजन्य बिरुवाको चार कट्ठामा नर्सरी बनाएका छन् । हर्रो, बर्रो, लप्सी, अमला, बेल, बकाइनो शिरिश, लाँकुरी जातका बिरुवा घरघरमै लगाउने योजना छ । यसबाट जैविक बारका साथै आम्दानी पनि राम्रो हुने भएकाले जडीबुटीजन्य बिरुवा लगाउने भएका हुन् । साभार कान्तिपुर

 


Facebook Comment


No ads found for this position