यातायात कार्यालय नेपालगन्जका प्रमुख निलम्वित

दीपेन्द्र विष्ट

१६ चैत, काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी अनुमतिपत्र वितरणमा अनिमियता गरेको अभियोगमा यातायात अञ्चल कार्यालय नेपालगन्जका उप–सचिव एवं प्रमुख पवन सुवेदीलाई निलम्बन गरेको छ ।

मन्त्रालयका अनुसार गत भदौमा परीक्षार्थीको उत्तरपुस्तिका चेकजाँच नगरी १९ हजार सवारी अनुमतिपत्र वितरण गरेको फेलापरेपछि सुवेदीलाई निलम्बन गरिएको हो ।

मन्त्रालयले सुवेदी विरुद्ध उजुरी परेपछि केही दिन अघि यातायात व्यवस्था विभागका उपनिर्देशक तुलसीराम अर्यालयको संयोजकत्वमा तीन सदस्यीय छानबीन समिति गठन गरेको थियो ।

समितिले नेपालगन्ज गई विस्तृत रुपमा उजुरी बारे अध्ययन गरेर मन्त्रालयमा प्रतिवेदन पठाएको थियो । भदौ महिनामा अनुमतिपत्रको लागि २६ हजारले आवेदन दर्ता गरेको पाइएको छ । ति मध्ये २३ हजार परीक्षार्थी लिखित परीक्षामा सहभागी भएको र १९ हजारलाई उत्तरपुस्तिका जाँज नगरी सवारी अनुमतिपत्र दिएको प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयले निलम्ब गरे लगत्तै यातायात व्यवस्था विभागले बाटोको म्यादबाहेक २४ घण्टाभित्र विभागमा उपस्थिति हुन सुवेदीलाई निर्देशन दिएको छ ।

त्यसैगरी उत्तरपुस्तिका चेकजाँचको लागि यातायात कार्यालय लुम्बिनीका प्रमुख चेतप्रसाद उप्रेतीलाई नेपालगन्ज पठाएको यातायाता व्यवस्था विभागका  प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए ।


Facebook Comment


No ads found for this position