विमानस्थलमा सेटिङ

होम कार्की
धादिङका तेजबहादुर गुरुङ सशस्त्र प्रहरीमा ११ बर्षदेखि कार्यरत थिए । मासिक हातमा पर्ने १६/१७ हजारले दैनिकी चलाउन मुस्किल थियो । संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत बलराम थापा चितवन आएको बेला उनको सम्र्पक भयो । ‘युएईको अर्धसरकारी हिमाया सेक्युरिटी सर्भिसेस कम्पनीमा मासिक चार हजार दिराम (एक लाख २० हजार रुपैयाँ) तलब दिन्छ,’ थापाले गुरुङलाई भने, ‘त्यहाँ छनोट भए आठ लाख रुपैयाँ लाग्छ ।’
कहाँको १७ हजार, कहाँको एक लाख २० हजार । गुरुङ लोभिए । सशस्त्रमै कार्यरत साथीभाईसँग सल्लाह गरे । बलरामसँग १२ जना सम्र्पकमा पुगे । उनले जम्मा गरेकालाई अन्तर्वार्ता लिन भरतपोखरी, कास्कीका ओमबहादुर थापा चितवन पुगे । उनले बलरामकै दाजुको घरमा अन्तर्वार्ता लिए । अन्तर्वार्तामा छनोट भएपछि उनीहरुले ओमबहादुर र रेखा भण्डारी थापाको माछापुच्छ्रे बैंकको संयुक्त खातामा एक/एक लाखको दरले जम्मा गर्न लगाए ।
‘भिसा आएपछि बैंकमा जम्मा गर्न दिएनन् । बलरामका दाइ मीनबहादुर र डम्बरबहादुरको हातमा बुझायाैं,’ तेजबहादुरले भने । श्रम स्वीकृतिका लागि उनीहरु सबैका राहदानी ओमले लिएर गएका थिए । युएई जाने भन्दै असार २६ गते काठमाडौ बोलाए । ‘भोली बिहान श्रम स्वीकृति आँउछ, दिउसो १:४० को उडान छ, तपाईहरु १० बजे एयरपोर्टमा आउनुस्, हामी राहदानी र टिकट लिएर त्यहीं आउनेछौं,’ ओमले भने, ‘सबै जना समयमै पुग्नु ।’
सबैजना भनेको समयमा विमानस्थल पुगे । त्यहाँ ओम थिएनन् । सबै उनलाई पर्खिएर बसे । ‘प्राविधिक कारणले श्रम स्वीकृति लिन सकिएन,’ एकछिनमा ओम आइपुगेर भने, ‘तर, चिन्ता गर्नु परेन । मैले भित्र सबै मिलाइसकेको छु । तपाईहरु एयर अरेबियाको १२ र १३ नम्बर काउन्टरमा मात्रै जानु ।’
श्रम स्वीकृति नमिलेको कुराले युएई जान ठिक्क परेका कामदारहरु अलमलमा परे । ‘हामी श्रम स्वीकृति लिएर मात्रै जान्छौं,’ बमराज गुरुङले भने, ‘यसरी गएर कहाँ हुन्छ ?’ तर, ओमले लामो बहस गरेनन् । ‘अरु विकल्प छैन । समय छैन । जाने भए जानुस्, नजाने भए अब पैसा फिर्ता हुँदैन,’ ओमको भनाइ उद्धत गर्दै बमराजले भने, ‘हामीलाई ट्रयापमा पारियो ।’
यूएई सरकारद्वारा दिइएकाे सक्कली भिसा ।