मोर्चाले भाग नलिए पनि निर्वाचनमा जाने तीन दलको तयारी

१८ चैत, काठमाडौं । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चक्रपाणी खनालले संयुक्त मधेसी मोर्चाले स्थानीय निर्वाचनमा भाग नलिए पनि निर्वाचन हुने बताएका छन्। प्रधानमन्त्रीले दिउँसो साँढे ३ बजे मोर्चाका नेताहरुलाई छलफलका लागि बोलाएको सन्दर्भमा खनालले सो कुरा बताएका हुन्।
‘निर्वाचन रोक्न ठूलै धमका भए मात्र नत्र त अब निर्वाचनलाई कसैले रोक्न सक्दैन’ खनालले भने।

एमाले सचिव प्रदीप ज्ञावलीले प्रधानमन्त्रीलाई मोर्चाले निर्वाचनमा भाग लिने ग्यारेन्टीसहितको प्रस्ताव ल्याउन सुझाएको बताए।

‘हामीले सिमांकन बाहेकका विषयमा छलफल गर्न तयार छौं भन्दै आएका थियौं। तर संशोधनको प्रक्रियामा गएपछि त्यसको परिणाम मान्न मोर्चा तयार हुनपर्छ, उनले थपे, ‘स्थानीय तहको अधिकार कटौती गरेर प्रदेशलाई अधिकार दिन सकिन्न। संविधान अनुसार नै हुन्छ।’
मोर्चाले बारम्बार निहँु खोज्ने बाहान बनाएर विकल्पमा जान तयार नभएको अनुभूति भएको ज्ञावलीको भनाई थियो।

सकेसम्म असहमतिका विषयबीच पनि निर्वाचनमा भाग लिएर आफ्ना माग कतिको जनपक्षीय छन् भनेर औचित्य पुष्टि गर्न पनि मोर्चाले निर्वाचनमा भाग लिनुपर्ने उनले सुझाव दिए।

राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले भने संविधान संशोधनविना मोर्चाले निर्वाचनमा भाग लिन नसक्ने जनाए। ‘आयोगलाई शक्तिशाली बनाएर सीमांकनमा जाने र प्रदेशको मातहतमा स्थानीय निकाय ल्याउने गरी जान सहमति भयो भने हामी निर्वाचनमा भाग लिन्छौं’ उनले भने, ‘निर्वाचनमा भाग लिनलाई कम्तिमा सीमांकनबाहेक भएपनि संशोधन हुनुपर्छ।’

संविधान संशोधनको विषयमा शुक्रबार दिउँसो नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसी मोर्चाबीच छलफल हुँदैछ। मोर्चाका शीर्ष नेताहरुलाई छलफलको लागि प्रधानमन्त्रीले शुक्रबार ३.३० बजे बालुवाटार निवासमा आमन्त्रण गरेका छन्।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पनि गत साता सिमांकनको लागि आयोगलाई पूर्ण अधिकार दिएर बाँकी विषयमा संशोधन भए निर्वाचनमा भाग लिने बताएका थिए।

प्रमुख प्रतिपक्षी एमालेले भने सिमांकनबाहेक पनि नागरिकताको विषय जटिल भएकोले संविधान संशोधन हुन नसक्ने बताउँदै आएको छ। तर सल्लाहकार खनालले भने सिमांकनबाहेक भने एमाले पनि संशोधनका लागि तयार हुनसक्ने जनाए।

यता कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार विहान विरानटनगरमा बोल्दै मोर्चाले भाग नलिएपनि निर्वाचन नरोकिने बताएका छन्।


Facebook Comment


No ads found for this position