मेयर र उपमेयरको सेवा सुविधा कति ?

१८ चैत, काठमाडाैं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा स्थानीय तहको प्रमुख र उपप्रमुखमा दावेदारी बढिरहेको छ । यसमा पनि महानगर, उपमहानगर र नगरगरपालिकाका मेयर र उपमेयरमा धेरैको चासो छ ।

 

धेरैको चासो बोकेको यो पदमा निर्वाचित व्यक्तिले सेवा सुविधा चाँहि के कस्तो पाउँछन् त ?संविधानले स्थानीय तहका पदाधिकारीहरुको सेवा सुविधा सम्वन्धी व्यवस्था प्रेदेश कानून बमोजित हुने उल्लेख छ । तर, अहिले प्रदेश छैन । प्रदेश सभा गठन नभएसम्म प्रदेशसभाले बनाउने ऐन कानुन बनाउने अधिकार पनि व्यवस्थापिका संसदलाई छ ।

तर, संसदमा अहिलेसम्म यसबारे कुनै विधेयक पेश भएको छैन । अहिले स्थानीय विकास मन्त्रालयले मेयर र उपमेयर तथा गाउँपालिकाका प्रमुख र उपप्रमुखको सेवा सुविधा तोक्ने आधारहरुको अध्ययन गर्दैछ । मन्त्रालय स्रोतले भन्यो, ‘कुनै गाउँपालिका स्रोत साधन सम्पन्न छन् र कामको लोड पनि छ । कतिपयमा स्रोत साधन र काम दुबै कम छ । यस्ता आधारमा उनीहरुको सेवा सुविधा तोक्ने गृहकार्य भइरहेको छ ।’

महानगरपालिकाको मेयर र उपमेयरको कार्यबोझ धेरै हुन्छ र सुविधा पनि त्यही अनुसार हुन्छ ।

यसअघि कसको तलब कति थियो ?

स्थानीय स्वायत्त शासन ऐन अनुसार २०५६ सालमा महानगर, उपमहानगरका र नगरपालिकाको मेयर तथा उपमेयर र गाविस अध्यक्षको सेवा सुविधा तोकिएको थियो ।

उक्त ऐन अनुसार तत्कालिन महानगरपालिकाका मेयरको तलब ६ हजार ५ सय रुपैयाँ थियो । यसबाहेक गाडी सुविधा र महानगरपालिकाले तोके बमोजिम भत्ताको व्यवस्था हुन्थ्यो । यस्तै उपप्रमुखको तलब ५ हजार ५ सय थियो । उपप्रमुखले पनि गाडी सुविधा र छुट्टै भत्ता पाउथे ।

यस्तै उपमहानगरपालिकाले ५ हजार ५ सय तलब र तोकिए बमोजिम भत्ता र गाडी लगायतका सेवा सुविधा पाउँथे । उपप्रमुखको तलब ४ हजार ५ सय तोकिएको थियो । यसैगरी नगरपालिकाको मेयरको तलब ४ हजार ५ सय र उपमेयरको तलब ३ हजार ५ सय तोकिएको थियो ।

यसैगरी गाविस अध्यक्षको तलब १ हजार ५ सय र उपाध्यक्षको तलब एक हजार रुपैयाँ थियो ।


Facebook Comment


No ads found for this position