मन्दिर वरपर परेवाको चारो बेच्नेहरूको कथा–व्यथा,
नुनुता राई
काठमाडौं र ललितपुरका विभिन्न मन्दिरमा परेवाको झुन्ड नै देख्न सकिन्छ । त्यस क्षेत्रका परेवाले भक्तजनले छरेको सतवीज र अक्षेता चारोको रूपमा खाने गर्छन् । मन्दिरको छेउतिर परेवाका लागि चारो बेचेर जीविकोपार्जन गरिरहेका थुप्रै भेटिन्छन् । यसपटक गज्जब साप्ताहिकले मन्दिर वरपर चारो बेच्ने र चारो किनेर परेवालाई खुवाउनेहरुको दिनचर्या नियालेको छ ।
परेवाको चारो बेच्नेहरूको आ–आफ्नै कथा–व्यथा
पाटन एरिया
पम्फा घिमिरे व्यापारी
उनले कृष्ण मन्दिरमा परेवाका लागि चारो बेचेको तीन वर्ष भयो । हाल उनी ७१ वर्षकी भएकी भइन् । उनले घरमा बस्नुभन्दा त्यहाँ आएर बस्दा बिक्री भइहाले तरकारी खान पनि भइहाल्छ भनेर आउन थालेको बताइन् । भनिन्, ‘अब अरू काम गर्न सक्दिनँ, यति भए पनि गर्नुपरो भनेर आएकी ।’ उनको एक मात्र छोराको हर्टअट्याक भएर मृत्यु भयो । श्रीमान्, बुहारी र नातिनातिनीसँग बस्दै आएकी छिन् । उनी ७२ वैशाखमा आएको महाभूकम्पको वेला पनि त्यहीँ परेवालाई चारो बेचिरहेकी थिइन् । भनिन्, ‘त्यसवेलाको भूकम्पको बारेमा पत्रकार सोध्दै आउँथे, टिभीमा पनि मैले बोलेको देखाएको थियो ।’
माइली शंकर व्यापारी
माइली शंकर परेवाको चारो बेच्न पाटनको कृष्ण मन्दिरअगाडि बसेको करिब १९ वर्ष भयो । उनको घर गोदावरी हो, तर हप्तामा दुई दिन पुग्छिन् । अरूवेला उनी सस्तो बजारमा कोठा लिएर बसेकी छिन् । उनका छोराबुहारी गोदावरीमा सागसब्जी रोप्छन् । छोरीहरूको विवाह भइसक्यो । उनी बसेर खानभन्दा आफू सक्दो काम गर्नुपर्छ भन्छिन् । ‘अरू काम गर्न सक्दिनँ, चारो लिएर बस्न गाह्रो पनि हुँदैन, काम नगरी पनि के गर्नु भनेर चारो बेचेको,’ उनी भन्छिन् । दिनमा २ सयदेखि ७ सयसम्म कमाइ हुने उनले बताइन् । उनले मकै गोदावरीतिरबाटै किनेर ल्याउने गरेको सुनाइन् ।
सविना ढकाल, यसा तामाङ ग्राहक
सविना कलेजको ड्रेसमा परेवालाई चारो दिइरहेकी थिईन् । उनी कलेज बिदा भएपछि साथी यसासँग हप्तामा दुईपटक घुम्न आउँछिन् । उनीहरू आएपछि परेवालाई चारो किनेर दिन्छन् । उनीहरूलाई परेवालाई किन चारो किनेर दिनुहुन्छ भन्दा खुसी र रमाइलोका लागि भनेर उत्तर दिए । एकै स्वरमा भने, ‘रमाइलो लाग्छ, हातमा राखेर दिँदा हातमै आएर बसेर खान्छ, साह्रै रमाइलो लाग्छ ।’
दुर्गा रानाभाट, व्यापारी
पुसको चिसो होस् वा असारको झरी । बिहान सबेरै बोरामा मकै, गहुँ बोकेर पाटनको कृष्ण मन्दिर पुग्छिन् दुर्गा रानाभाट । यसरी दुर्गाले बिहान धाएको ४० वर्ष भइसकेको छ । मन्दिरमा आउने भक्तजन तथा घुम्न आउने पर्यटकले त्यहाँ भएका परेवालाई दिने चारो बेचेर उनले कैयौँ असारे झरी र पुसको चिसो कटाइसकेकी छिन् । स्टिलको सानो प्लेटमा गहुँ र मकै मिसाएको चारोको मूल्य प्रतिप्लेट २० रुपैयाँ पर्छ । मन्दिर आउने नियमित ग्राहकले समेत चारो किन्छन् । चारोका लागि गहुँ र मकै किन्न लेलेसम्म पुग्छिन् उनी । ‘पाउन त यहीँ नि पाइन्छ, तर महँगो हुन्छ । त्यसैले म उतैतिर किन्न जान्छु,’ टाढा चारो किन्न जानुको कारण बताउँदै उनले अहिलेकाहरू मान्छेले परेवालाई चारो दिन खासै रुचि नदेखाउने बताइन् ।
उनी भन्छिन्, ‘पहिलाका मान्छे परेवालाई चारो दिँदा धर्म हुन्छ भन्थे, आजभोलिका नानीहरू रमाउनका लागि दिन्छन् ।’ त्यसो त उनको परेवालाई चारो दिनेहरू १० वर्षदेखिका नियमित ग्राहक पनि रहेका छन् । उनी पहिला एक्ली थिइन् चारो बेच्ने, पछि आउने–जानेको क्रम जारी रहेको र उनले आफू मात्र यति लामो समयदेखि बस्दै आएको बताइन् । उनका एक छोरा र एक छोरी छन् । श्रीमान् १० वर्षअघि बिते । उनको एक छोरा २० अघि केही नभनी घरबाट निस्केर कहाँ गए थाहा छैन । वेलावेला छोरा आउँछ कि भन्ने आस उनको मनमा छ ।
भनिन्, ‘१९ वर्षको छोरा हराएको २० वर्ष भयो । पत्रिका, टिभीमा दिन पाए देखेर फर्केर आउँथ्यो कि नानी !’ उनले हाल छोरीसँगै लगनखेलमा बसिरहेको बताइन् । उनको जेठा छोरा र बुहारी लेलेमा छन् । उनले चारो बेचेर कमाएको पैसाले तरकारी मसला खान पुगेको बताइन् ।
वसन्तपुर एरिया
रामहरि कपाली, ग्राहक
रामहरि कपाली पाटनको कृष्ण मन्दिर नियमित आउँछन् । उनी दुर्गा रानाभाटका नियमित ग्राहक हुन् । विशेष दिनमा धेरै चारो किनेर परेवालाई दिन्छन् । उनले यसपटक जन्मदिनको उवसरमा सय रुपैयाँको चारो किनेर परेवालाई दिए । उनी परेवालाई चारो दिँदा आत्मसन्तुष्टि मिल्ने बताउँछन् । भने, ‘यो पनि प्राणी हो, उनीहरूको कमाइ हुन्न, हामीले नै दिनुपर्छ भन्ने लागेर दिन थालेको करिब १० वर्ष भयो ।’
विना कार्की व्यापारी
विना कार्कीले वसन्तपुरमा परेवाको चारो बेच्न थालेको भर्खर एक वर्ष भएको छ । उनका श्रीमान् नांलोमा चुरोट, पराग, पानी बेच्छन् । सिन्धुपाल्चोककी विनाको परिवार किल्लाघरमा बस्दै आएको छ । उनी श्रीमान्को कमाइले घर चलाउन मुस्किल भएपछि यो व्यवसायमा आएको बताउँछिन् । एक छोरा एक छोरीकी आमा विना भर्खर आएको भएर खास व्यापार नहुने र नियमित ग्राहक पनि नभएको बताउँछिन् ।
पशुपति एरिया
पशुपति क्षेत्रमा भने अलि फरक व्यवस्था रहेको पाइयो । त्यहाँ गेटबाहिर मात्रै चारो बेच्न पाइने व्यवस्था गरिएको छ । बाहिर किनेर भित्र दिनुपर्ने भएकाले व्यापारी मन्दिर परिसरभित्र पस्न नपाउने व्यवस्था छ ।
जगदीश श्रेष्ठ, व्यापारी
जगदीश श्रेष्ठले आफूले परेवाको चारो बेच्न थालेको १८ वर्ष भइसकेको बताए । उनको अनुभवमा परेवालाई चारो दिने भनेको नेपाली, मारवाडी, भारतीयले हो । कतिपय भारतीय पशुपतिको दर्शन गर्न आउनेले बोरा नै लगेर दिने गरेकोसमेत बताए । भने, ‘आस्थाले हो, पवित्र परिसरभित्र रहेका परेवालाई चारो दिँदा धर्म हुने विश्वासले हो ।’ कतिपय किशोर–किशोरीले रमाइलोका लागि पनि परेवालाई चारो दिने गरेको बताए ।
केशव दुलाल, ग्राहक
केशव दुलालले परेवालाई नियमित रूपमा चारो दिएको २५ वर्ष भएको बताए । उनले पशुपतिभित्र करिब डेढ लाख परेवा रहेको दाबी गरे । उनले नियमित चारो दिनाले अदृश्य रूपमा भगवान्को कृपा मिल्ने बताए । भने, ‘परेवालाई चारो दिँदा अदृश्य कृपा मिल्छ भन्ने विश्वासले नियमित चारो दिने गरेको छु ।’
हरिशरण श्रेष्ठ व्यापारी
हरिशरण श्रेष्ठले वसन्तपुरमा परेवाका लागि चारो बेच्न थालेको लामो समय भयो । पहिला उनका बुवा बस्थे । पछि बुवाको वृद्धावस्थासँगै चारो बेच्न नसक्ने भएपछि ५५ सालदेखि हरिशरण बस्न थाले । डिभिडी व्यापारी हरिशरणले व्यापार छोडेर बुवाको पेसालाई निरन्तरता दिएको बताए । उनका दुई छोरामध्ये जेठोको विवाह भइसकेको र कान्छा छोरा १२ कक्षामा पढिरहेका छन् । चारो बेचेर घर चलाउन पुगिरहेको छ भन्ने प्रश्नमा उनले भने, ‘खै अहिलेसम्म त पुगिरहेको छ, भगवानको कृपाले ।’ नजिकै रहेका नौवटा कुकुरलाई देखाउँदै उनले भने, ‘मलाई मात्र होइन, यी नौ सन्तान अरू पनि छन् ।’ उनले तीन वर्षअघिदेखि दैनिक नौवटा कुकुरलाई खाना खुवाउने गरेको बताए । कहिलेकाहीँ १८ वटासम्म कुकुर हुने बताए । उनले चारो बेच्न बिहान ६ बजेदेखि ११ बजेसम्म बस्न पाइने बताए । ११ बजेपछि नगरपालिकाले फोहोर हुने निहुँमा बस्न नदिने उनको गुनासो छ । उनका नियमित ग्राहक १६–१७ जना छन् । उनी जैसीदेवलका स्थायी बासिन्दा हुन् ।
रविना श्रेष्ठ ग्राहक
रविना श्रेष्ठले परेवालाई नियमित रूपमा चारो दिने गरेकी छिन् । उनले परेवालाई नियमित रूपमा चारो दिएको नौ वर्ष भयो । दिनहुँ ५० रुपैयाँको चारो परेवालाई फ्याँकेर हिँड्ने गरेकी छिन् । उनको अफिस जाने बाटो पनि त्यहीँ भएर जानुपर्ने भएकाले अफिस जाँदै दिएर जाने गरेकी छिन् । उनले परेवालाई चारो दिँदा सन्तुष्टि मिल्ने गरेको बताइन् । भनिन्, ‘म धार्मिक छु, त्यही भएर पनि होला, यसले मलाई सन्तुष्टि दिन्छ ।’
सुनिता सुवेदी व्यापारी
सुनिता सुवेदीले परेवाको चारो व्यापार थालेको १० वर्ष भएको छ । उनले आफ्नो स्वास्थ्य अवस्था अहिले कमजोर रहेको बताइन् । मोडेल हस्पिटलमा जाँच गरेकी सुनितालाई मुटु सुनिएको छ भनेर डाक्टरले औषधि दिएको बताइन् । एक छोरी रहेकी सुनिताका श्रीमान् केही गर्दैनन् । औषधि खान, खान, बस्न र छोरी पढाउन व्यापारले मुस्किल परेको उनको भनाइ छ । भनिन्, ‘पत्रकारहरू वेलावेला आएर सोधेर जान्छन्, आफ्नो व्यथा सुनायो, गएर मार्बल हालेको घर छ भनेर लेखिदिँदा रहेछन्, आफन्तले सुनाउँदा छक्क पर्छु ।’ विदेशीहरू किन्दैनन् । भारतीय र नेपाली नै उनीहरूका ग्राहक हुने गरेको बताउँछिन् । उनीसँग हामीले कुरा गरिसकेर अघि बढिसकेका थियौँ । नगरप्रहरी आएर सुनिताको चारो खोसेर भाँडा फालिदिए । हामी कुरा गर्न जाँदा ती नगर प्रहरी तर्किए । चारो बेच्ने व्यापारीको भनाइअनुसार फोहोर हुन्छ भनेर बिहान ११ बजेपछि नगर प्रहरीले बस्न नदिने गरेको छ ।साभार नयाँपत्रिका