राजधानीका सडक एम्बुसजस्ता

खिलक बुढाथाेकी

काठमाडौं- सिंहदरबारको दक्षिण गेटअगाडि बिहीबार बिहान एक हुल मान्छे गन्तव्यतिर लम्किरहेका थिए। यी मान्छे देशकै प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार आसपास नभएर रोपाइँमा गएर आइरहेको भान हुन्थ्यो। खुट्टा हिलाम्मे थियो भने शरीरका कपडाभरि हिलोका छिटा देखिन्थे। पैदल हिँड्ने मात्र नभएर मोटरसाइकलमा सवारको अवस्था पनि फरक थिएन।

स्वास्थ्य अनुसन्धान परिषद्को अर्काे अध्ययनअनुसार श्वासप्रश्वासजन्य रोगका बिरामी अस्पताल भर्ना हुनुपर्ने दरसमेत पाँच प्रतिशतले बढेको छ।

साताअघि सडकमा धुलाम्मे देखिने राजधानीवासीले अहिले उपत्यकामा परेको चैते झरीका कारण हिलोको ठूलै सकस भोगे। फरक यति हो, ६ महिनाअघि केही सडकमा मात्रै हैरानी हुन्थ्यो भने अहिले कठिनाइ नहुने कुनै सडक नै छैन, राजधानीमा। सिंहदरबार आसपास होस् वा राजधानीको कुनै कुना नै किन नहोस्, सडक विस्तार र मेलम्चीको पाइप बिछ्याउने कार्यले जहाँतहींका सडकमा यात्रा गर्न सास्ती छ ।

सडक विस्तार र पाइप बिछ्याउने कार्य नचलेका सडक पनि हिँड्न लायक छैनन्। सडक विभागले मर्मतमा चासो नदिएपछि यतिबेला राजधानीवासीले सडकमा असाध्यै सास्ती खेपेका छन्। ‘राजधानीका सडक एम्बुसजस्ता छन्’, चाबहिलकी ललिता गुरुङ भन्छिन्, ‘कहाँ कतिखेर के हुने हो थाहै हुँदैन।’

राजधानीका सडकमा जोखिम बढेकै छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार सडक संरचनाका कारण सडक दुर्घटना बढेका छन्। धुवाँधुलो पनि उत्तिकै बढेको छ। धुलो तथा प्रदूषणका कारण श्वासप्रश्वासजन्य रोगका बिरामी दुई गुणा बढेका छन्। पाँच वर्षपहिले करिब १५ हजार रहेको बिरामीको संख्या अहिले ३० हजार पुगेको स्वास्थ्य मन्त्रालय मातहतको स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (एचएमआइएस) को अनुसन्धानले देखाएको छ। यो संख्यामा बर्सेनि वृद्धि हुँदै गएको देखिन्छ।

स्वास्थ्य अनुसन्धान परिषद्को अर्काे अध्ययनअनुसार श्वासप्रश्वासजन्य रोगका बिरामी अस्पताल भर्ना हुनुपर्ने दरसमेत पाँच प्रतिशतले बढेको छ। परिषद्का अनुसन्धानकर्ता डा. कृष्ण अर्यालका अनुसार यहाँ बसोबास गर्नेहरू कुनै न कुनै रूपमा धुलोधुवाँबाट प्रभावित छन्।  तर पनि सरोकारवालाले चासो लिएका छैनन्।

यसकारण सकस

राजधानीको सडक भद्रगोल हुनुको प्रमुख कारण काठमाडौं उपत्यका खानेपानी आयोजनाअन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले पाइप बिछ्याउनु हो। निर्देशनालयले मेलम्चीको पानी उपत्यकामा वितरणका लागि सञ्जाल निर्माण गर्न ४० स्थानमा सडक भत्काएर पाइप बिछ्याउने काम गरिरहेको छ। निर्देशानलयका प्रमुख तिरेस खत्रीका अनुसार सुन्दरीजलयता पानीको थोक वितरण प्रणालीका लागि ६१ किलोमिटर मूल सडक भत्काइएको छ। घरघरमा पानी वितरणका लागि पाइप बिछ्याउन थप ६ सय ७० किलोमिटर भित्री सडकलाई पनि निर्देशनालयले लथालिंग बनाएको छ।

उपत्यकामा २०६८ सालयता तीव्र रूपमा सडक विस्तार कार्य सुरु भएको हो। यो कार्य अहिले चाबहिल–जोरपाटी–साँखु–सुन्दरीजल, त्रिपुरेश्वर–कंलकी–नागढुंगालगायतका मूल सडक र भित्री सडकमा चलिरहेको छ। सडक विस्तार र पाइप ओछ्याउन नपर्ने सडक पनि गतिला  छैनन्। मूल सडक मर्मत गर्ने निकाय सडक विभाग र आठ मिटर साना सडक हेर्ने काठमाडौं महानगरपालिकाले समयमै मर्मत नगर्दा पनि उपत्यकावासीले सडक सकस भोगिरहेका हुन्।

किन भयो धुलो?

पूर्वाधार विकासका लागि सडक विस्तार, पाइप बिछ्याउने कार्य जरुरी भए पनि अहिलेको जस्तो आचक्ली धुलो गराउनु जायज नभएको बताउँछन् पूर्वाधारविद् सूर्यराज आचार्य। ‘राजधानी सहर र कुनै दुर्गम गाउँमा हुने पूर्वाधार विकासको प्रद्धति एउटै छ’, आचार्यले भने, ‘अन्य देशका सहरमा पनि पूर्वाधारका काम हुन्छन्। तर यहाँको जस्तो लथालिंग गरेर होइन। यहाँ विकासका नाममा दुःख दिने काम भएको छ।’

आचार्यका अनुसार सरकारले समन्वय गरेर विकास गर्न सकेमा अहिलेको जस्तो धुलोको मार खेप्नुपर्ने थिएन। धुलो हुनुमा अव्यवस्थित र सुस्त गतिको कार्यशैली मुख्य कारक रहेको आचार्यको भनाइ छ। सर्वसाधारणले जति नै सकस भोगे पनि अव्यवस्थित कार्य गर्ने निकायलाई केही कारबाही हुँदैन। जथाभाबी भत्काउने र निर्माणमा अत्यन्त ढिला गर्नेलाई सरकारले कुनै कारबाही गर्दैन। ‘ढिलो काम गर्नेलाई कारबाहीको सट्टा उल्टै समय थप्ने चलन छ’, आचार्यले भने, ‘यसले गर्दा काम गर्ने निकाय काम नगरी बहाना खोज्न लागेका छन्।’

कहिले बन्ला सडक?

निर्देशनालयले पाइप बिछ्याउने कार्य करिब ८५ प्रतिशत सकेको जनाएको छ। काम सकेमध्ये १५ प्रतिशतमात्रै भागमा कालोपत्रे गरेको छ। ‘भत्काएका मूलसडक चैत मसान्तभित्र कालोपत्रे गरिसक्छौं’, निर्देशनालयका निर्देशक खत्रीले भने, ‘मौसम प्रतिकूल भएका कारण कालोपत्रे हुन सकेको छैन।’ उनका अनुसार आगामी जेठभित्रमा निर्देशनालयले पाइप बिछ्याउन भत्काएका मूल र भित्री सबै सडक कालोपत्रे भइसक्नेछन्।

सडक विभागले भने सडक विस्तार, पाइप बिछ्याउने कारणले गर्दा सडक मर्मत हुने नसकेको जनाएको छ। विभागका अनुसार बाँकी सडक मर्मत कार्य भने नियमित भइरहेको छ।

सडक विस्तार आयोजनाका अनुसार ०६८ यता ४० किलोमिटर सडक विस्तार भइसकेको छ। ‘हामीले ९० किलोमिटर मूल सडक विस्तार लक्ष्य लिएकोमा ४० किलोमिटर सकेका छौं’, विस्तार आयोजनाका प्रमुख दीपक केसीले भने, ‘मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन नसक्दा बाँकी ५० किलोमिटर सडक विस्तार गर्न सकिएको छैन।’ मुआब्जा माग्दै मुद्दा हाल्ने हुँदा अदालतमा गएर सडक विस्तारका मुद्दा थन्किएको केसीले बताए। उनले भने, ‘कहिलेसम्म विस्तार सकिन्छ भन्ने मिति किटान गर्न गाह्रो छ।’

त्यसैगरी काठमाडौं महानगरपालिकाले ४० वटा भित्री सडक विस्तारको तयारी गरेको छ। आठ मिटरभन्दा कम चौडाका करिब २३ किलोमिटर सडक विस्तारको तयारी थालेको महानगरपलिकाका सहरी विकास तथा भौतिक पूर्वाधार विभागका प्रमुख डा. उत्तरकुमार रेग्मीले बताए।  महानगरपालिकाले २०६८ सालयता काठमाडौंका भित्री ५७ वटा सडक विस्तार गरिसकेको छ। आवश्यकताअनुसार विस्तार गर्दै लैजाने हुँदा सडक विस्तार कहिले सकिन्छ भनेर मिति किटान गर्न नसकिने रेग्मीले बताए।

सडक विस्तारको नेतृत्व लिएका काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीका अनुसार सानाठूला गरेर करिब तीन सय किलोमिटर सडक विस्तार भइसकेको छ। विस्तारित सबै सडकमा कालोपत्रे भएको छैन।साभार नागरीक


Facebook Comment


No ads found for this position