विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य उपल्लो मुस्ताङमा पर्यटकको चाँप
प्रतिकुल मौसमका कारण पटक पटक उडान अवरुद्ध हुँदै आएपछि सडक मार्ग हुँदै मुस्ताङ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्यामा बृद्धि भएको छ ।
विश्वकै उत्कृष्ट एक पर्यटकीय गन्तव्य उपल्लो मुस्ताङ क्षेत्रको भ्रमण गर्न जाने सिजन सुरु भएसँगै पोखरा बागलुङ राजमार्गमा समेत पर्यटकीय सवारी साधनको चाप बढेको हो । धौलागिरी प्रवेश नाकामा सञ्चालित अस्थायी ट्राफिक प्रहरी पोष्ट डिमुवा पर्वतले दिएको जानकारी अनुसार शुक्रबार मात्रै १३ बस, ५१ कार जीप र १ सय ५० भन्दा बढी मोटरसाइकल मुस्ताङ यात्रामा धौलागिरि प्रवेश गरेका छन् ।
‘बसमा ३ सय ५०, कार जीपमा ३ सय र मोटरसाइकलमा २ सय भन्दा बढी यात्रु जोमसोमका लागि प्रस्थान गरेका छन्’ डिमुवाका ट्राफिक इञ्चार्ज रमेश थापाले भन्नुभयो, ‘पर्यटकहरुको आगमन बढ्ने क्रम दिनानुदिन बढिरहेको छ ।’ कतिपय पर्यटकहरु पोखराबाट सिधै जोमसोम उडान गर्ने भएपनि पछिल्लो साता मौसम अनुकुल नभएकाले सडकमार्ग हुँदै जाने संख्या बढेको हो ।
विश्वप्रख्यात ट्राभल गाइड लोन्ली प्लानेटले सन् २०१३ का लागि उपल्लो मुस्ताङलाई विश्वकै १० उत्कृष्ट गन्तव्यमध्ये तेस्रो स्थानमा सूचिकृत गरेपछि मुस्ताङ जीवनमा एक पटक घुम्नै पर्ने भ्रमणस्थलको सूचिमा सूचिकृत भएको हो । मौसम सकिएसँगै मुस्ताङ घुम्ने पर्यटकका कारण पर्वत सदरमुकाम कुश्मा बजारका होटलहरु पनि खचाखच हुन थालेका छन् । धौलागिरी क्षेत्रको प्रवेशद्धार मानिएको पर्वतको कुश्मा बजारमा मुस्ताङ जाने र फर्कने पर्यटकहरुले होटलहरु भरीभराउन हुन थालेका हुन् ।
कुश्माको होटल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठका अनुसार दैनिक सयौँको संख्यामा पर्यटकहरुले होटलहरुबाट सेवा लिइरहेका छन् । मुस्ताङ पुगेपछि उपल्लो मुस्ताङ जाने पर्यटकको संख्यामा पनि पछिल्लो पटक बृद्धि भएको छ । मुस्ताङ जानका लागि म्याग्दीबाट कच्चि सडक प्रयोग गर्नुपर्छ । विदेशी पर्यटकको पहिलो रोजाइमा पर्ने मुस्ताङ अचेल स्वदेशी पर्यटकहरुको समेत रोजाइमा पर्न थालेपछि मुस्ताङ घुम्ने आन्तरीक र बाह्य पर्यटकको संख्यामा बृद्धि हुन थालेको हो । विश्वका पाँच धाममध्ये एक धार्मिक तिर्थधामका रुपमा प्रचलित मुक्तिनाथ मन्दिर दर्शनका लागि भारतीय पर्यटकहरुको आगमन समेत बढ्दै गएको छ ।
प्राचीनकालमा निर्माण गरिएका गुम्बा, काँचो माटोबाट निर्मित घर, दरबार र घरका रूपमा प्रयोग भएका गुफा मुस्ताङको आकर्षण हो । कला र हिमाली संस्कृतिको अध्ययन तथा अनुसन्धानका लागि पनि यो क्षेत्र उपयुक्त मानिन्छ ।उज्यालो