पर्यटकलाई काठमाडौं घुमाउन अब ‘स्काई बस’ संचालनमा आउने

रवीन्द्र शाही

१९ चैत, काठमाडौं । काठमाडौं घुम्न आएका पर्यटकहरुलाई मात्र सेवा दिनको लागि उपत्यकामा अब स्काई (माथि खुल्ला भएका) बस संचालनमा आउने भएका छन्। काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा उपत्यकामा पर्यटकहरुलाई भ्रमणमा सहज होस भनेर यस्ता बस संचालन गर्ने योजना सार्वजनिक गरेको हो।  महानगरका नवनियुक्त प्रमुख कार्यकारी इश्वरराज पौडेलले सार्वजनिक गरेको तत्काल सुधार कार्ययोजना अनुसार उपत्यकका विभिन्न पर्यटकीय स्थलहरुमा अवलोकन गराउनका लागि डेडिकेटेड बस संचालन हुने छ।

 यूरोप अमेरिका तथा अन्य विकसित मुलुकहरुमा भएको सिटी टुर बस सेवाजस्तै काठमाडौंमा पनि संचालन गर्न लागिएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। पर्यटकहरुलाई एक पटक सबै गन्तव्यहरुमा जान सहज होस भनेर यस्तो सेवा सुरु गर्न लागिएको उनको भनाई छ।
 यसको लागि बजेटको कुनै समस्या नभएकोले अबको ६ महिनाभित्र संचलनमा आउने उनले दावी गरे।  पहिलो चरणमा सुविधासम्पन्न २ वटा स्काईबस संचालन गर्ने र त्यसपछि उपत्यकाकाका अन्य स्थानमा पनि विस्तार गरिने महानगरले जानकारी दिएको छ।
 बस आउन्जेल हाल देखिएको धुलो धुँवाको समस्या समाधान भएर जाने र सफा स्वच्छ काठमाडौंमा पर्यटकलाई सुविधासम्पन्न बसमा यात्रा गराइने कार्कीले बताए। ‘हाल विभिन्न विकास निर्माणका कारण राजधानीमा धुलोधुवाँको समस्या रहेको छ, तर केही समयपछि सबै बाटो पिच भएपछि यो हट्नेछ’ उनले सेतोपाटीसँग भने, ‘सडकलाई सधै सफा राख्नको लागि हामीले ब्रुमर मेसिन पनि ल्याउँदै छौँ त्यसपछि काठमाडौं स्वच्छ हुने छ।’
 स्काई बस सेवा निजी क्षेत्रसँग सहकार्य गरेर चलाइने महानगरले जनाएको छ। पर्यटन व्यावसायीहरुसँगको छलफलपछि संचालन मोडालिटी तयार पारिने अधिकारीहरुले जनाएका छन्।
 कार्यान्वयन भए, कोशेढुंगा
महानगरले ल्याएको योजना सफल भएमा पर्यटन क्षेत्रको लागि यो सेवा कोशेढुंगा सावित हुने व्यवसायीहरुले बताएका छन्। सरकारी योजनाहरु प्रायः घोषणमै सिमित हुने हुँदा यसमा पनि आशंका रहेको तर यो कदम सकारात्मक भएको ट्रेकिङ एजेन्सी एसोसिएसन नेपाल(टान) का अध्यक्ष चन्द्रप्रसाद रिजालले प्रतिक्रिया दिए।
 विकसित देशहरुमा सिटी  टुरको अवधारणा निकै रुचाइएको र सफल भए पनि नेपालमा त्यसको व्यवस्था नहुँदा पर्यटकहरुले कष्टपुर्ण यात्रा गर्नुपरिरहेको व्यवसायीहरुको भनाइ छ। सरकारी तहबाटै यस्तो अवधारणा कार्यान्वयनमा आए पर्यटकहरुले सेवा मात्र नभएर विश्वभर सकारात्मक सन्देश जाने रिजालको भनाइ छ।
 विश्वका विभिन्न देशहरुमा धेरै प्रकारका मोडल भएकाले नेपालमा कसरी संचालन गरिन्छ भन्ने जानकारी नभएपनि समयमै लागू भए समग्र पर्यटन क्षेत्रको लागि सही सुरुवात हुने व्यवसायीहरुको प्रतिक्रिया छ।
 महानगरले ल्याएको योजना आफैमा राम्रो हो। लागू गर्ने नियतका साथ आएमा व्यावसायीहरु सहकार्य गर्न सदैव तयार भएको बताउँछन् नेपाल एसोसिएसन आफ टुर्स एण्ड ट्राभल एजेन्ट्स(नाट्टा) का अध्यक्ष मधुसुधन आचार्य। साभार सेतोपाटी


Facebook Comment


No ads found for this position