खोप्रा लेकमा पूर्वाधारको अभाव हुँदा पर्यटकलाई समस्या

सन्तोष गौतम

म्याग्दीः म्याग्दीको पर्यटकीय स्थल खोप्रा लेकमा पूर्वाधारको अभाव हुँदा पर्यटकलाई समस्या भएको छ । अन्नपूर्ण गाउँपालिका–५ शिखमा पर्ने खोप्रा पुग्ने पर्यटकको सङ्ख्या बर्सेनि बढे पनि आवासका लागि होटेल तथा लज, भ्यु टावर र व्यवस्थित पदमार्गको अभाव रहेको छ ।

पर्याप्त पूर्वाधारको अभावका कारण खोप्रा पुग्ने पर्यटकहरु टेन्ट र गोठमा रात बिताउनुपर्ने अवस्था उत्पन्न भएको खोप्रा सामुदायिक लज व्यवस्थापन समितिका कोषाध्यक्ष भीम तिलीजाले बताए ।

नांगीको हिमाञ्चल र शिखको पाउद्धार माविले खोप्रामा बिस जना क्षमत्ताको सामुदायिक होटेल सञ्चालन गरेका छन् ।

होटेलको क्षमता भन्दा बढी पर्यटक आउन थालेपछि व्यवस्थापन गर्न समस्या भएको तिलीजाले बताए । याममा दैनिक पचास जना भन्दा बढी पर्यटक खोप्रा पुग्ने गरेका छन् ।

यसै गरी शिख माविले बयलीखर्क र ढाँडखर्कमा २०२० जना क्षमताको सामुदायिक होटेल सञ्चालन गरेको छ ।

सार्वजनिक जग्गामा भवन बनाउन नपाउने नीतिगत व्यवस्थाका कारण बस्तीदेखि टाढा रहेका खोप्रा लगायत बैकल्पिक पदमार्ग क्षेत्रमा होटेल, लज निर्माण हुन सकेको छैन ।

जसका कारण पर्यटकहरुलाई आवासको समस्या परेको हो । अधिकांश पर्यटकहरु आवास र बन्दोबस्तीका सामाग्री लिएर त्यस क्षेत्रमा जाने गरेका छन् । जङ्गल र पहाडी क्षेत्रमा पर्ने बैकल्पीक पदमार्गमा व्यवस्थित पैदलमार्गको समेत अभाव छ ।

पर्यटक तथा पथप्रर्दशकहरुले गोठाला र स्थानीयले दाउरा घाँस गर्न जङ्गल जानका लागि प्रयोग गर्ने बाटोबाट आवतजावत गर्दै आएका छन् ।

व्यवस्थित पदमार्ग नहुँदा पर्यटक, पथप्रर्दशक र मजदुरहरूले बाटो बिराएर दुख पाउने, हराउने समस्या छ । दुई वर्षअघि हराएका एक जना मलेसियन पर्यटक अझै भेटिएका छैनन् ।

अन्‍नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय घान्द्रुकका प्रमुख बिदुरबिक्रम कुइँकेलले खोप्रा, अन्नपूर्ण आधार शिविर लगायत वैकल्पिक नयाँ पदमार्गमा पर्यटक जाने क्रम बढे पनि पूर्वाधारको अभावले चुनौती थपीएको बताए ।

सो क्षेत्रमा विद्यालय, स्थानीय सामाजिक सङ्घ संस्थालाई प्राथमिकता दिएर सामुदायिक होटेल तथा लज सञ्चालन गर्न जग्गा भाडामा दिनका लागि दिग्गदर्शन तयार पारि वन विभागमा पेस गरेको उनले बताए ।

समुन्द्री सतहदेखि तीन हजार ६१० मिटरको उचाइमा अवस्थित खोप्रा सुर्योदय, हिमशृङखला, पहाडी भुगोल, लालीगुराँसको जङ्गल, चौरी, भेडागोठ, झरना, बनस्पती, वन्यजन्तु लगायतको अवलोकनका लागि आकर्षक स्थल हो ।

पुरानो पदमार्ग सडकमा परिणत भएपछि मुक्तिनाथ–जोमसोम–नारच्याङ, नारच्याङ–खोप्रा, घोडेपानी–फलाते–बयली–खोप्रा, छोमरोङ–ढाँडखर्क–खोप्रा पदमार्ग सञ्चालनमा ल्याइएको थियो ।


Facebook Comment


No ads found for this position