वन्यजन्तु तस्करीको हब काठमाडौं

नवराज मैनाली

बुधबार महानगरीय अपराध महाशाखाले भालुको पित्तसहित दुईजनालाई पक्राउ गर्यो । बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाघको छाला र भालुको पित्तको कारोबारमा संलग्न दुईवटा गिरोहलाई पक्राउ गर्यो । शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले हुचिलसहित दुईजनालाई पक्राउ गर्यो । राजधानीमा वन्यजन्तुको अवैध कारोबार कसरी फैलिइरहेको छ भन्ने कुरा बुझ्न पछिल्ला तीन दिनका यी घटना पर्याप्त छन् । रातारात लाखौँ कमाउने लोभमा विभिन्न जिल्लाका व्यक्तिहरू वन्यजन्तु तथा वन्यजन्तुका अंगको अवैध कारोबार गर्दछन् ।

एक महिनामा सिआइबीका चार अप्रेसन
चैतमा सिआइबीले चारवटा अप्रेसन चलाई वन्यजन्तुका अंगसहित चारवटा गिरोहलाई पक्राउ गरेको छ । जसमा बाघको छालादेखि भालुको पित्तसम्म कारोबार गर्नेहरू छन् । बिहीबार मात्र सिआइबीले एउटा भालुको पित्तसहित भोजपुरका बमबहादुर तामाङ र सिन्धुलीका सूर्य श्रेष्ठलाई पक्राउ गरेको हो । गुह्येश्वरीमा बिक्रीको तयारी गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । पैसा कमाउने उद्देश्यसाथ भालुको पित्त लिएर उनीहरू काठमाडौं आएका थिए ।

बुधबार सिआइबीले बाघको छालासहित डडेल्धुरा परशुराम नगरपालिकाका जयकर भन्ने सनम जागरीलाई पक्राउ गर्यो । उनीबाट रोयल बंगाल टाइगरको छाला बरामद भएको सिआइबीकी एसपी मिरा चौधरीले बताइन् । एउटा बाघको अंगको ५०–६० लाख रुपैयाँसम्म कारोबार हुने गरेको छ । जागरीको समूहमा धेरैजना आबद्ध रहेको प्रहरी आशंका छ । गिरोहको प्रहरीले खोजी गरिरहेको छ ।

मूर्ति र पासा बनाएर तस्करी
मूर्ति र पासा बनाएरसमेत वन्यजन्तुका अंगको तस्करी हुन थालेको छ । सिआइबीले गत १ चैतमा वन्यजन्तुको आखेटोपहारबाट बनेका चारवटा मूर्ति, चारवटा पासा र ३७ वटा गोटी बरामद गरेको थियो । सहज रूपमा तस्करी गर्न उनीहरूले वन्यजन्तुका अंगबाट मूर्ति, पासा तथा गोटी बनाएका थिए ।

नक्कली खागको समेत कारोबार

वन्यजन्तुको कारोबारमा कति धेरै मान्छे लागेका छन् भने नक्कली अंग बनाएरसमेत कारोबार हुन थालेको छ । खासगरी गैँडाको नक्कली खाग बनाएर कारोबार हुँदै आएको प्रहरीले जनाएको छ ।

प्रहरी र निकुञ्ज कार्यालयको सक्रियतामा करिब चार वर्षयता नेपालमा गैँडाको खागको चोरी सिकारी ठप्प छ । तर, ‘खाग’ कारोबार भने भइरहेको थियो । त्यस्ता ‘खाग’ दुर्लभ वन्यजन्तु गैैँडाको खाग नभई भैँसीको सिङ र हड्डीबाट बनेको हो । खागमा धेरै पैसा भएकाले एक व्यक्तिले नक्कली खाग बनाएर बिक्री गर्दै आएको प्रहरीले जनाएको छ । सिआइबीले गत ९ चैतमा त्यस्तो एउटा गिरोहलाई पक्राउ गर्यो ।

काभ्रे बल्थली घर भई ललितपुर बस्ने शक्ति घिमिरेले मेसिनबाटै ठ्याक्कै गैँडाको जस्तै देखिने नक्कली खाग बनाई बिक्री गर्दै आएका हुन् । घिमिरेसहित मकवानपुरका सोमबहादुर सिंगर र अनिलबहादुर लामालाई सिआइबीले पक्राउ गरी अनुसन्धान गर्दै आएको छ । उनीहरूबाट एउटा नक्कली खाग तथा नक्कली खाग बनाउने मेसिनसमेत प्रहरीले बरामद गरेको छ ।

गैँडाको सक्कली खागको ५०–६० लाख रुपैयाँसम्म अवैध कारोबार हुने गर्दछ । सोही कुरा थाहा पाएर घिमिरेले नक्कली खाग बनाउने धन्दा सुरु गरेका हुन् । सुरुमा आफूले चिडियाखाना गएर गैँडाको खाग हेरेको र त्यसको केही भाग भैँसीको सिङजस्तै भएकाले भैँसीको सिङ तथा हड्डी मिलाएर खाग बनाउने मेसिनसमेत बनाएको घिमिरेले बताएका छन. ।

विगतमा खागकै लागि गैैँडा मारिँदै आएका थिए । जसमा अन्तर्राष्ट्रिय आपराधिक गिरोहसमेत संलग्न हुँदै आएकोमा र नेपाल प्रहरीको सिआइबीले विशेष अभियान चलाई गैँडाको चोरी सिकारमा संलग्न गिरोहलाई पक्राउ गरेपछि रोकिएको हो । यद्यपि, यो वर्ष सिकारीको आक्रमणबाट एउटा तथा करेन्ट लागेर दुईवटा गैँडाको मृत्यु भइसकेको छ । सिकारीले एउटा गैैँडा मारे पनि गिरोहले खाग भने चोर्न पाएन । गैँडाको संरक्षणमा नेपालको सफलतालाई अन्तर्राष्ट्रिय रूपमा प्रशंसा हुँदै आएको छ । यसमा नेपालले अन्तर्राष्ट्रिय सम्मानहरूसमेत हात पारिसकेको छ ।

क्याफेबाट तीन तस्कर फन्दामा
आफूसँग भालुको पित्त रहेको भन्दै तीनजना युवकले मंगलबार ग्राहकलाई खरिदका लागि स्वयम्भू ठुलोभर्याङस्थित क्वालिटी क्याफे एन्ड बैंकेटमा बोलाए । क्याफेको एकान्तस्थलमा खरिदको डिल हुँदाहुँदै महानगरीय अपराध महाशाखाबाट खटिएको एक टोलीले उनीहरूलाई नियन्त्रणमा लियो ।

पक्राउ पर्नेमा नुवाकोट रालुकादेवी–९ घर भई काठमाडौं बालाजु बस्ने २६ वर्षीय सोनाम तामाङ, ललितपुर खोकना–३ घर भएका ४७ वर्षीय गुन डंगोल र नुवाकोट मदानपुर–८ घर भई बालाजु बस्ने ३५ वर्षीय दुर्गाबहादुर तामाङ रहेका छन् । उनीहरूमाथि थप कारबाहीका लागि जिल्ला वन कार्यालय काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

रेडपान्डा र चितुवाको कारोबार धेरै

नेपालमा सबैभन्दा धेरै रेडपान्डा र चितुवाको चोरीसिकारी तथा कारोबार हुने गरेको सिआइबीका डिएसपी प्रवीण पोखरेलले बताए । चितुवाको छाला र हड्डीको कारोबार हुने गरेको छ भने रेडपान्डाको छालाको कारोबार हुने गरेको छ ।  पहाडी जिल्लाहरूमा चितुवाको संख्या बढ्दै गएको र घरहरूमा समेत प्रवेश गर्ने भएकाले गाउँलेहरूले मार्ने गरेका छन् । केही पेसेवर समूहले पनि पासो राखेर चितुवा मार्ने गरेका छन् ।

हिमाली क्षेत्रमा पाइने रेडपान्डाको चोरीसिकारी पनि बढ्दै गएको छ । ठूलो आवाजले पनि मर्ने भएकाले सजिलै रेडपान्डाको चोरीसिकारी हुने गरेको छ । तर, अहिलेसम्म रेडपान्डाको छालाको माग कुन देशमा र किन हुन्छ भन्ने कुरा पत्ता लाग्न सकेको छैन । पैसा आउँछ भन्ने हल्लाकै भरमा धेरै रेडपान्डा मारिएको हुन सक्ने डिएसपी पोखरेल बताउँछन् ।

प्रहरीले गरेका वन्यजन्तु अप्रेसनमध्ये सबैभन्दा धेरै रेडपान्डाका छाला बरामद भएका छन् । एकैपटक अपराध महाशाखाले ६ महिनाअघि नौवटा छालासमेत बरामद गरेको थियो । तर, पछिल्लो दुई महिनामा भने संख्या घटेको छ । चीनको हेनन प्रान्तका एक जातिका महिलाहरूले बिहेमा रेडपान्डाको छालाबाट बनेको टोपी लगाउने गरेको केही किताबमा उल्लेख भए पनि चीनतर्फ रेडपान्डाको छाला बरामद भएको प्रमाण भने अहिलेसम्म भेटिएको छैन ।

ल्याबले चिन्दैन भालुको पित्त
भालुको पित्तसहित प्रहरीले पटक–पटक कारोबारीलाई पक्राउ गर्दै आएको छ । तर, उनीहरू सजिलै छुट्ने गर्दछन् । किनकि, नेपालमा भालुको पित्त जाँच गर्ने ल्याब नै छैन । अहिलेको ल्याबले पित्तको जाँच नै गर्दैन । नास्टमा रहेको ल्याबले ‘अनआइडेन्टिफाइड’ रिपोर्ट दिने गरेको छ । वन्यजन्तुसम्बन्धी अपराधमा ल्याब रिपोर्ट नै प्रमुख प्रमाण हुनेमा उक्त प्रमाण नै नभएपछि अभियुक्तहरू सजिलै छुट्ने गरेको प्रहरी अधिकारी बताउँछन् । पित्तसमेत जाँच गर्ने आधुनिक ल्याब नकिन्दा यस्तो समस्या भएको हो ।

डिएफओ र वार्डेनको बोली नै प्रमाण ?
कुन गाँजा कति राम्रो भन्ने जाँच गर्न प्रायः जोगीहरूलाई लगाइन्छ । त्यस्तै, अवस्था वन्यजन्तुको क्षेत्रमा छ । कुन अंगको केको हो र सक्कली वा नक्कली भन्ने पत्ता लगाउन पनि जिल्ला वन अधिकृत र निकुञ्ज अधिकृतहरूले हेरेको आधारमा लेख्ने चलन छ । त्यो नै प्रमाण हुन्छ । तर, प्रहरी अधिकारीहरूले त्यसमा प्रश्न उठाउने गरेका छन् । त्यही विषयमा पढ्ने भएकाले विगतमा वार्डेन र डिएफओहरूले बताउने भएपछि केही विवाद आए पनि पछिल्लो समय सबै अंगहरूको ल्याबटेस्ट हुने गरेको वन मन्त्रालयका सहसचिव महेश्वर ढकाल बताउँछन् ।

शुक्लाफाँटामा बाघको रहस्य
बाघको संरक्षणमा पनि नेपालले प्रगति गरेको छ । २०१३ को तथ्यांकअनुसार नेपालमा एक सय ९८ वटा बाघ थिए । अहिले दुई सयभन्दा धेरै रहेको आँकलन छ । तर, शुक्लाफाँटा वन्यजन्तु संरक्षण निकुञ्जमा भने आश्चर्यजनक रूपमा बाघको संख्या बढ्न सकेको छैन । जहाँ विगत पाँच वर्षदेखि १७–१८ को हाराहारीमा बाघको संख्या छ । जसकारण त्यहाँ चोरीसिकारी भएको आशंका छ । सोही निकुञ्जसँग जोडिएको भारतको लग्गाबग्ग्गा, पिलिभितमा सन् २०१६ मा ६–६ वटा बाघको चोरीसिकारी भएकोमा मुद्दा नै दर्ता भएका छन् । नेपालकै बाघ भारतमा गएर मारिएको हुन सक्ने आशंका गरिएको छ ।

हिमाली क्षेत्रमा धेरै जोखिम
हिमाली क्षेत्रका दुर्लभ वन्यजन्तु धेरै जोखिममा रहेको प्रहरी अधिकारी बताउँछन् । हिमाली क्षेत्रमा बस्ने रेडपान्डा, कस्तुरी, मृग र हिउँचितुवाको ठूलो संख्यामा चोरीसिकारी भइरहेको प्रहरी आशंका छ । धेरैजसो वन्यजन्तुका अंग चीन जाने भएकाले हिमाली जिल्लाहरूबाट धेरै चोरीसिकारी भइरहेको हुन सक्ने सिआइबीका प्रहरी अधिकारी बताउँछन् ।

किन हब बन्यो काठमाडौं ?
देशभरिका वन्यजन्तु अंगका कारोबारी अवैध कारोबारका लागि भने काठमाडौंलाई हब बनाउने गर्दछन् । काठमाडौंमा धेरै खरिदकर्ता हुने आँकलनमा धेरै अवैध कारोबार राजधानीमा हुने गरेको हुन सक्ने सिआइबीका डिएसपी प्रवीण पोखरेल बताउँछन् ।

काठमाडौंका रेस्टुरेन्ट तथा एकान्तस्थलबाट प्रहरीले धेरै वन्यजन्तुका अंग बरामद गरी कारोबारीलाई पक्राउ गर्दछ । ग्राहक बनेर प्रहरीले यस्तो अप्रेसन चलाउँदै आएको छ । तर, पछिल्लो समय कारोबारीहरू निकै चलाख भएकाले पक्राउ गर्न गाह्रो हुँदै गएको प्रहरी अधिकारी बताउँछन् । ‘उनीहरूले आफूलाई अनुकूल हुने क्षेत्रमा बोलाउँछन्,’ अनुसन्धानमा आबद्ध एक अधिकारी भन्छन्, ‘पैसा नदेखाई सामान नै लुकाउने गर्दछन् ।’ वन्यजन्तुका अंग धेरैजसो चिनियाँ अधिकारीहरूले किन्ने र काठमाडौंमै लिएर आउन भन्ने गरेका छन् ।साभार नयाँपत्रीका


Facebook Comment


No ads found for this position