नेपालको कुल रोजगारीमा पर्यटनको हिस्सा २ दशमलव ९ प्रतिशत
अच्युत पुरी
नेपाली अर्थतन्त्रको मेरुदण्डमध्ये एक मानिएको पर्यटन क्षेत्रले ४ लाख २७ हजार नागरिकलाई प्रत्यक्ष रोजगारी दिएको एक अध्ययनले देखाएको छ । वल्र्ड ट्राभल एन्ड टुरिजम काउन्सिलले सार्वजनिक गरेको ‘ट्राभल एन्ड टुरिजम इकोनोमिक इम्प्याक्ट २०१७’ले यस्तो तथ्यांक दिएको हो । यो तथ्यांकअनुसार नेपालको कुल रोजगारीमा पर्यटनको हिस्सा २ दशमलव ९ प्रतिशत मात्र छ । काउन्सिलले दुई दशकभन्दा लामो समयदेखि हरेक वर्ष पर्यटनले अर्थतन्त्र तथा रोजगारीमा पारेको प्रभावलाई समेटेर प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । सन् २०१६ को तथ्यांकमा आधारित यो प्रतिवेदनमा विश्वका १ सय ८५ मुलुकमा गरिएको अध्ययन समावेश छ । नेपालमा पर्यटन क्षेत्रले प्रत्यक्ष रोजगारी सिर्जनामा गरेको योगदान विश्व औसतको आधाभन्दा पनि कम हो । कुनै एक मुलुकमा पर्यटनबाट औसत साढे ८ लाख प्रत्यक्ष रोजगारी सिर्जना भइरहेको तथ्यांकमा उल्लेख छ ।
३ लाख अप्रत्यक्ष रोजगारी
प्रतिवेदनअनुसार पर्यटन क्षेत्रले थप ३ लाख रोजगारी सिर्जनामा अप्रत्यक्ष भूमिका खेलेको छ । यस अतिरिक्त २ लाख १६ हजारजना पर्यटन क्षेत्रको कुनै न कुनै योगदानबाट लाभान्वित छन् । यसअनुसार नेपालमा प्रत्यक्ष, अप्रत्यक्ष र लाभान्वित गरी करिब ९ लाख ४५ हजारजनाले पर्यटनबाट लाभ प्राप्त गरेको प्रतिवेदनले उल्लेख गरेको छ ।
उत्साहजनक वृद्धि छैन
पर्यटनले नेपालको कुल रोजगारी सिर्जनामा पारेको प्रभावको वृद्धिदर भने उत्साहजनक छैन । प्रतिवेदनअनुसार सन् २०१४ र २०१५ मा पर्यटनबाट रोजगारी सिर्जना र त्यसले कुल रोजगारीमा दिएको योगदानको हिस्सा सन् २०१६ कै हाराहारीमा थियो ।
सन् २०१७ मा भने प्रत्यक्ष रोजगारी ४ लाख ५२ हजार ५ सय पुग्ने प्रक्षेपण काउन्सिलको छ । यसअनुसार पनि कुल रोजगारी सिर्जनामा पर्यटनको हिस्सा भने २ दशमलव ९ प्रतिशत हाराहारीमै रहनेछ ।
१० वर्षपछि ६ लाख प्रत्यक्ष रोजगारी
काउन्सिलको प्रक्षेपणअनुसार पर्यटन विकासको गति यही कायम रहने हो भने आगामी १० वर्षपछि पनि मात्र ६ लाख ४ हजार प्रत्यक्ष रोजगारी सिर्जना हुनेछ ।
काउन्सिलका अनुसार पर्यटनबाट प्रत्यक्ष रोजगारी सिर्जनाको विश्व औसतः ८ लाख ४४ हजार हो । दक्षिण एसियाको औसतको तुलनामा भने नेपालको प्रत्यक्ष रोजगारी ज्यादै न्यून छ । दक्षिण एसियाली मुलुकमा पर्यटनबाट औसत ४७ लाख ७६ हजार प्रत्यक्ष रोजगारी सिर्जना भएको छ । त्यसमध्ये भारतमा पर्यटनले २ करोड ५३ लाख ९४ हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको छ ।
के हो प्रत्यक्ष रोजगारी ?
काउन्सिलका अनुसार होटेल, ट्राभल एजेन्ट्स, एयरलाइन्स, पर्यटक सवारी, रेस्टुरेन्टजस्ता क्षेत्रले सिर्जना गरेको रोजगारी प्रत्यक्ष रोजगारी हो । यसबाहेक पर्यटकको सेवाका लागि खपत हुने कृषि, उद्योग, हाउजिङ, सरकारी क्षेत्र, घरायसी सामग्री, घरेलु उत्पादनको व्यापारजस्ता क्षेत्रमा काम गर्ने कामदारलाई अप्रत्यक्ष र लाभान्वित जनशक्तिका रूपमा गणना गरिएको छ ।
ट्राभल एन्ड टुरिजमबाट प्रत्यक्ष रोजगारीमा योगदान
विश्व औसतः ८ लाख ४४ हजार
दक्षिण एसियाली औसतः ४७ लाख ७६ हजार
भारत ः २ करोड ५३ लाख
चीनः २ करोड ३६ लाख
बंगलादेशः १० लाख ५६ हजार
थाइल्यान्डः २३ लाख १३ हजार
नेपालः ४ लाख २७ हजार
श्रीलंकाः ४ लाख ५ हजार
स्रोतः ट्राभल एन्ड टुरिजम इकोनोमिक इम्प्याक्ट २०१७’