पेट्रोलियम पदार्थको मूल्य बढाउने तयारीः भारतमा घट्यो, नेपालमा बढ्दैछ

२२ चैत, काठमाडौं । नेपाल आयल निगमले नाफामा फर्किएलगत्तै तेलको मूल्य बढाउने गृहकार्य सुरु गरेको छ । आयल निगमले पेट्रोलको मूल्य बढाउने गरी आपूर्ति मन्त्रालयमा केही दिनमै प्रस्ताव लैजाने गरी गृहकार्य थालेको हो ।

निगम स्रोतका अनुसार वैशाख लागेपछि चुनावको मुखमा तेलको मूल्य बढाउन नसकिने भएकाले अहिले नै मूल्यवृद्धि गर्न लागिएको हो ।तर, आयल निगमका प्रवन्धक निर्देशक गोपालबहादुर खड्काले पेट्रोलको मूल्य बढाउने गरी तयारी थालेका हुन् । उनले यसबारे निगमका निर्देशकहरुसँग परामर्श गरिसकेकका छन् ।

भारतीय बजारमा भन्दा नेपाली बजारुमा तेलको मूल्य सस्तो भएको अर्को तर्क गर्दै निगम मूल्य बढाउने प्रस्तावलाई बलियो बनाउने योजनामा छ ।

६ करोड नाफाले पुगेन

भारतीय आयल कर्पोरेशन (आईओसी) ले पछिल्लोपटक तीन दिन अघि पठाएको मूल्य सूचीले आयल निगम ३ महिनापछि फेरि नाफामा गएको छ ।

नयाँ मूल्य सूचीअनुसार आयल निगमलाई अहिले पेट्रोलमा लिटरमै ६ रुपैयाँ २५ पैसा नाफा छ । डिजेलमा पनि १ रुपैयाँ ४७ पैसा नाफा छ । मट्टीतेलमा १६ रुपैयाँ ९१ पैसा नाफा राखेको निगमलाई आन्तरिकतर्फको हवाइ इन्धनमा ९ रुपैयाँ २५ पैसा र अन्तर्राष्ट्रियतर्फको हवाइ इन्धनमा १६ रुपैयाँ ८७ पैसा नाफा छ ।

ग्यासमा प्रतिसिलिन्डर २५३ रुपैयाँ घाटा भोगिरहेको निगमलाई अन्य प्रोडक्टमा भएको नाफाले महिनामा ६ करोड रुपैयाँ नाफा भइरहेको छ । तर, पनि निगमलाई यो नाफा कम भएको छ ।

उसले नाफा थप बढाउन मूल्यवृद्धिको लागि अनेक बाहाना खोजिरहेको छ । यसअघि पुसको सुरुवातमा पनि तेलको मूल्य बढाइएको थियो ।

माघ यता घाटामा गएको निगम नाफामा फर्किनासाथ थप नाफा कमाउन मूल्यवृद्धि गर्ने दाउमा लागेको हो ।

दाउ एउटा, तर्क अर्कै

आयल निगमका एक उच्च अधिकारी अहिले डलरको अवमूल्यनका कारण तेलको भाउ घटेकाले त्यो स्थायी नभएको बताउँछन् ।

‘घटेको तेलको मूल्य लामो समयसम्म यही विन्दुमा टिक्छ भन्ने छैन । केही दिनको अवस्था हेरेर हामी तेलको मूल्य केही बढाउन सक्छौं’ ती अधिकारीले भने,’चुनावको अघिसम्म आयल निगम ठूलो घाटामा जाने अवस्था आउनसक्ने भएकाले अहिले नै मूल्य बढाउने तयारी भएको साँचो हो ।’

अहिले नेपालमा पेट्रोल मूल्य भारतमा भन्दा १४ रुपैयाँ सस्तो छ । डिजेल पनि झण्डै २० रुपैयाँ सस्तो छ । त्यसैका कारण तेलको तस्करी हुने जोखिम घटाउन मूल्य बढाउनुपर्ने तर्क आयल निगमले गरेको छ ।

नेपालको तेल सस्तो भएपछि भारतका बजारमा तेल फर्किएर पुग्ने र त्यसले निगमलाई घाटा हुने आयल निगमका अधिकारी दावी गर्छन् । आयल निगमका प्रवक्ता सीताराम पोखरेल भने तेलको मूल्य बढाउने गरी कुनै निर्णय नभएको बताउँछन् ।

‘यसअघि घाटामा हुँदा पनि हामीले त्यसलाई बेहोरेकै थियौं । उपभोक्तालाई सकेसम्म मारमा नपार्ने योजनामा हामी प्रतिवद्ध छौं’ पोखरेल भन्छन्-‘अन्तर्राष्ट्रिय बजारअनुसार तेलको मूल्य कायम गरेरै हामी अघि बढ्छौं । सबै अवस्था हेरेर मात्रै उचित निर्णय लिइनेछ ।’

भारतमा घट्यो, नेपालमा बढाउने तयारी

शुक्रबारदेखि भारतमा पेट्रोल र डिजेलको मूल्यमा भारी कटौतीको भएको छ । पेट्रोलको मूल्यमा तीन रुपैयाँ ७७ पैसाले घटेको छ । त्यसैगरी डिजेलको मूल्यमा २ रुपैयाँ ९१ पैसाले कटौती गरिएको छ ।

अमेरिकी डलरसँग भारतीय रुपैयाँको विनिमय दर अहिले डेढ वर्षकै उच्च कायम भएको छ । अमेरिकी डलर अवमूल्यन भएपछि भारतीय रुपैयाँमा पनि सुधार आएको हो ।

अहिले नेपाली रुपैयाँ पनि बलियो बन्दै गएको छ । यसले तेलको मूल्यमा पनि कटौती गर्न सघाएको छ । तर, यो धेरै समय नटिक्ने भन्दै नेपाल आयल निगम भने तेलको मूल्य बढाउने दाउमा छ ।

के गर्लान् आपूर्तिमन्त्रीले ?

यता आपूर्ति मन्त्रालय भने चुनावअघि तेलको मूल्य बढ्न नसक्ने बताउँछ । मन्त्रालयका एक उच्च अधिकारी भन्छन्- ‘हामी अहिलेको अवस्थमा तेलको मूल्य बढाउन दिदैँनौं । तर, मन्त्री ज्युलाई आयल निमले कन्भिन्स गर्‍यो भने मूल्य बढ्दैन भन्ने पनि छैन ।’

आपूर्तिमन्त्री दीपक बोहोराले अनुमति दिए मूल्य बढ्न सक्ने मन्त्रालयका अधिकारी स्वीकार्छन् । तर, नाफामै भएका बेला अनेकन कुतर्क गर्दै मूल्यवृद्धि गर्नु उचित नहने ती अधिकारीको भनाइ छ ।

चुनावको मुखमा तेलको मूल्य बढाउँदा यसले राजनीतिलाई पनि प्रभाव नपार्ला भन्न सकिँदैन । यतिबेला आपूर्ति मन्त्रालय राप्रपाको हातमा छ । आयल निगममा पनि राप्रपा निकट व्यक्तिले नै नेतृत्व गरिरहेका छन् ।

 


Facebook Comment


No ads found for this position