अब काठमाडौं महानगरभित्रका घरहरुमा एउटै रङ

दिनेश खड्का,काठमाडौ। काठमाडौ महानगरपालिकाले एउटै सडक खण्ड तथा गल्लीमा बनेका घरहरुमा एकै प्रकारको रङ लगाउन प्रोत्साहान गर्ने कार्यक्रम ल्याउने भएको छ।
नवनियुक्त कार्यकारी प्रमुख ईश्वरराज पौडेलले आफ्नो तत्काल सुधारका कार्ययोजना सार्वजनिक गर्दै ‘उज्यालो काठमाडौ’ कार्यक्रममा रङको योजना ल्याएका हुन्। सडकबाट देखिने घरका भाग (फेस) मा प्लाष्टर र रङ रोगन गर्न लगाउने महानगरको योजना हो।

योजना अन्तर्गत निजी घर तथा व्यापारिक भवनका अगाडि अनिवार्य रुपमा फोकस लाइट राख्नु पर्ने हुन्छ। अहिले महानगरपालिका क्षेत्र भित्रका प्राय घरहरु भाडामा छन्। भाडामा भएकाले रातमा फोकस लाइट नबाल्ने गरेको महानगरपालिकाले जनाएको छ।

योजना कार्यान्वयनसँगै महानगर उज्यालो हुने उनले बताए।

महानगरका मुख्य मुख्य सडक र पार्कहरुमा सौर्य बत्ती जडान गरि रातमा पनि जीवन्त र सुन्दर बनाइ राख्ने योजना रहेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए। अहिले महानगरमा २२ सय सौर्य बत्ती जडान भइसकेको उनले बताए।

महानगरमा अहिले निर्माणका काम हुँदा धुलो र प्रदुषण बढेको छ। निर्माण सकिएर धुलो धुँवा कम भएपछि बत्ति थप्ने कामलाई निरन्तरता दिने उनले बताए। काठमाडौका सडकमा ५ बर्षभित्रमा ५० हजार सौर्य बत्ती जडान गर्ने लक्ष्य महानगरको छ।

सडमा परेका घरहरुलाई एकै कलर तथा प्लास्टर गर्न लाग्ने खर्च सम्बन्धित घरधनीले नै व्यहोर्नु पर्ने हुन्छ। सौर्य बत्तीको खर्च भने महानगरले व्यहोर्ने छ।

एकै खाले रङ तथा प्लास्टर गर्ने प्रोत्साहनमुलक कार्यक्रम बन्दै गरेकाले कस्तो हुने निर्णय नभइसकेको प्रवक्ता कार्कीले बताए।

महानगरको योजना कार्यन्वयन भए विकासको कोसेढुङगा हुने शहरी विकास विभागका प्रमुख उत्तरकुमार रेग्मीले बताए। महानगरपालिकाका प्राय योजनाहरु राम्रा भए पनि कार्यन्वयन हुन नसक्दा कागजमै सिमित हुने गरेका छन्।

रेग्मीले महानगरको योजनाले पुर्णता पाए काठमाडौ साँच्चै नै सुन्दर र हेर्न लायक हुने बताए। उनले काठमाडौको शहरी सुन्दरता कायम गर्न यो कार्यक्रमको सफलता उदाहरणीय हुने बताएका।


Facebook Comment


No ads found for this position