गौतम बुद्ध विमानस्थलको काम दुई वर्षभित्र सक्ने गरी सुरू

सुजन ओली २३ चैत, काठमाडौं । गौतम बुद्ध विमानस्थलको रोकिएको काम पुनः सुरू भएको छ। नर्थ वेस्ट डेभलपमेन्ट नेपाल इन्फ्रा प्रालिले सम्झौताअनुसार निर्माण सामाग्री उपलब्ध नगराएपछि रोकिएको काम आइतबारदेखि पुनः सुरु भएको हो।

निर्भीक चित्रकार खनाल मालिक रहेको नर्थ वेस्ट कम्पनीले यसअघि सम्झौता गरेअनुसार निर्माण साम्रगी उपलब्ध नगराएको बताइएको थियो। खनाल एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालका छोरा हुन्।

तर, आइतबारबाट पुन विमानस्थलको काम सुरू भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए।

‘केही प्राविधिक समस्या परेकाले काम रोकिएको थियो,’ उनले भने, ‘तर, दुई दिनअघिदेखि काम पुन सुचारू भएको छ।’ आगामी दुई वर्षभित्र सक्ने गरी काम सुरू भएको सचिव अधिकारीले जानकारी दिए।

खनालको कम्पनीले विमानस्थलको जिम्मा पाएको चिनियाँ ठेकेदार नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनलाई निर्माण सामग्री सप्लाइको जिम्मा दिएको छ।

उनका अनुसार एक हप्ताभन्दा बढी रोकिएको काम आइतबारबाट पुन सुरू भएको छ। गौतम बुद्ध विमानस्थलको निर्माण कार्य पूरा भएपछि नेपालमा पर्यटन पूर्वाधारमा ठूलो टेवा पुग्ने अधिकारीको भनाइ छ।

भैरहवामा बन्न लागेको गौतम बुद्ध विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकै हाराहारीमा सेवा सुविधा दिन सक्ने गरी यसको निर्माण भइरहेको सचिव अधिकारीले जानकारी दिए। आगामी दुई वर्षभित्र निर्माण कार्य पूरा गर्ने गरी काम सुरू भएको विमानस्थलको डिजाइन र निर्माण कार्यको सुपरिवेक्षण कोरियाली र नेपाली इन्जिनियरको संयुक्त टोलीले गरेको हो। निर्माण कार्यमा चिनियाँ तथा नेपाली प्राविधिक र कामदार खटिएका छन्।

गौतम बुद्ध विमानस्थल स्तरोन्नतिअन्तर्गत हालको धावनमार्गको समानान्तर तीन हजार मिटर लम्बाइको अर्को धावन मार्ग निर्माण गरी हालको धावनमार्गलाई ट्याक्सी वेमा परिणत गर्ने, आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिलन भवन र जहाज पार्किङका लागि एप्रोन निर्माण हुने अधिकारीको भनाइ छ।

आर्थिक वर्ष ०७३/७४ को बजेट वक्तव्यमा आगामी २०७४ माघसम्ममा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने उल्लेख गरे पनि त्यो समयसीमा भित्र सञ्चालनमा नआउने पक्का भएको सचिव अधिकारीले जानकारी दिए।
‘निर्माणस्थलमा देखिएका विभिन्न समस्याका कारण समयसीमामै सकिँदैन,’ उनले भने, ‘तोकिएको समयसीमा भन्दा डेढ वर्ष पर धकेलिएर भए पनि बन्छ।’

नेपाल भित्रिने ठूला विमानलाई सिधै भैरहवा पठाउन सकिने छ। ठूला विमानलाई सिधै भैरहवा पठाउने बित्तिकै काठमाडौंको ‘एअर ट्राफिक जाम’ कम हुनेछ। त्यसैगरी, वैदेशिक रोजगार वा अन्य कामको लागि विदेश जाने मानिसले भैरहवाबाटै विदेश जान सक्ने छन्।

मन्त्रालयका अनुसार गौतम बुद्ध विमानस्थलको निर्माण कार्य पूरा भएपछि लुम्बिनीको भ्रमण गर्न थाइल्यान्ड, म्यानमार, श्रीलंका र चीनबाट चार्टर उडानबाट सीधै आउन सक्नेछन्।

सरकारले २०७० मंसिर ७ मा उक्त विमानस्थल निर्माणका लागि ग्लोबल टेन्डर आह्वान गरेको थियो। बोलपत्रमा ४ चिनियाँ र २ स्पेनी कम्पनीले प्रस्ताव हालेका थिए। तीमध्ये सबैभन्दा कम ६ अर्ब २२ करोड ५१ लाख २० हजार २ सय रूपैयाँ कबोल गरेको नर्थ वेस्टलाई एसियाली विकास बैंक (एडीबी) ले स्वीकृति दिएको थियो।

यस आयोजनाका लागि दक्षिण एसिया पर्यटन पूर्वाधार विकास परियोजनाअन्तर्गत एडीबीको ९ करोड १० लाख अमेरिकी डलर ऋण सहयोग छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साँघुरोपन र निजगढको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भइरहेको ढिलाइका कारण वैकल्पिक रूपमा प्रयोग गर्न सक्ने गरी नयाँ बनाउन लागेको हो।

विमानस्थलको चापका कारण अवतरण गर्न लामो समय आकाशमा पखिर्नुपर्ने, खराब मौसम भएका बेला ठूला विमान अवतरण गर्न नसक्दा दिल्ली लैजानुपर्ने बाध्यता छ। भैरहवामा बन्ने अन्तर्राष्ट्रिय स्तरको विमानस्थलले यो समस्या हटाउने सचिव अधिकारीको भनाइ छ। नेपाल उडान गर्ने विमान कम्पनीमध्ये अधिकांश गल्फ मुलुकका छन्।

अन्तर्राष्ट्रिय विमानस्थलका अतिरिक्त भैरहवामा सरकारले हाल सञ्चालन गरिरहेका ठूला आयोजनामा बेलहिया नाकाको एकीकृत जाँच चौकी, भैरहवा (बुटवल ६ लेन सडक, विशेष आर्थिक क्षेत्र (सेज), लुम्बिनी क्षेत्रको विकास, नगरपालिकाद्वारा सञ्चालित एकीकृत सहरी विकास आयोजना (जसमा ढल तथा सडक सुधार, फोहरमैला व्यवस्थापन पर्दछन), बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र आदि पर्दछन्। निजी क्षेत्रले पर्यटन, कृषि र आवास विकासमा लगानी बढाइरहेको छ।


Facebook Comment


No ads found for this position