चितवन राष्ट्रिय निकुञ्जको शुक्लाफाँटामा छाडियो गैंडा

भवानी भट्ट,२३ चैत, काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएको गैंडा मंगलबार शुक्लाफाँटामा छाडिएको छ । चितवनको सुखीभार क्षेत्रमा सोमबार डार्ट गरी खोरमा राखेर ल्याइएको भाले गैंडा झन्डै २७ घण्टापछि शुक्लाफाँटाको रानीताल क्षेत्रमा छाडिएको हो ।

ट्रकमा ल्याइएको गैंडा शुक्लाको प्रवेशद्वारमा पुग्दा निकुञ्जका कर्मचारीसँगै नेपाली सेना र स्थानीय उपभोक्ताले स्वागत गरेर भित्र्याएका थिए । निकुञ्ज कार्यालयबाट १७ किलोमिटर टाढा रानीताल क्षेत्रमा पुगेपछि काठले बनाएको खोर खोलेर गैंडालाई छाडिएको हो । गैंडाको उमेर १४/१५ वर्ष हुन सक्ने प्राविधिकले बताए ।राष्ट्रिय निकुञ्ज तथा वनयजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल भट्टराईसहित विश्व वन्यजन्तु कोष, जेडएसएल नेपाल, हरियो वन र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकसहितको टोली गैंडा स्थानान्तरणमा खटिएको थियो । २०७१ पुसमा सरकारले चितवनबाट ४ पोथी र १ भालेसहित ५ वटा गैंडा शुक्लाफाँटामा स्थानान्तरण गर्ने निर्णय गरेको थियो ।

‘अब थप ४ वटा पोथी गैंडा ल्याइने छन्,’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भने । उनका अनुसार अबको एक साताभित्र चितवनबाट थप ४ सहित ५ वटै गैंडा शुक्लामा स्थानान्तरण गरिसकिने छ । एक वर्षअघि चितवनबाटै ५ वटा गैंडा बर्दिया राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएको थियो ।

यसअघि २००१ मा चितवनबाटै ४ गैंडा ल्याइएका थिए । हाल उक्त संख्या बढेर कम्तीमा २ वयस्क भाले ४ वयस्क पोथीसहित ११ पुगेको प्रमुख संरक्षण अधिकृत ढकालले बताए । फरक क्षेत्रका गैंडालाई मिसाएर संख्या बढाउने उद्देश्यका साथ स्थानान्तरणको निर्णय भएको हो । शुक्लामा गैंडाको वासस्थान राम्रो भएको एक अध्ययनले देखाएको छ ।

‘पाच वटा गैंडा थपिएपछि शुक्लामा गैंडाको वृद्धिदर बढ्छ,’ प्रमुख संरक्षण अधिकृत ढकालले भने, ‘अहिले यहाँ भएका गैंडाको संख्या निकै कम भएकाले प्रजनन दर पनि कम छ, चितवनका गैंडा मिसिएपछि प्रजननदर बढ्न सक्ने अनुमान गरिएको छ ।’ उनले दुवै क्षेत्रका गैंडालाई मिसाएर वंशगुण परिवर्तन भएर उत्पादन बढ्न सक्ने बताए । हालै आरक्षबाट निकुञ्जमा स्तरोन्नति भएपछि शुक्लामा गैंडा स्थानान्तरणले पर्यटक आकर्षण पनि थपिएको निकुञ्जको बुझाइ छ ।

यसरी छाडियो गैंडा
वयस्क भाले गैंडा राखिएको काठको खोर बोकेको ट्रक रानीताल क्षेत्रमा पुग्दा गैंडालाई नयाँ बासस्थानमा भित्र्याउन निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, जेडएसएल नेपाल र हरियो वन कार्यक्रमका प्राविधिकहरू उपस्थित भएका थिए । शुक्लाफाँटा निकुञ्जको गेट रहेको मझगाउँबाट करिब ४५ मिनेटपछि गैंडालाई रानीताल क्षेत्रमा पुर्‍याइयो ।

प्राविधिकहरू चाँडोचाँडो ट्रकमाथि उक्लिए । कोही खोरभित्र रहेको गैंडामाथि पानी खन्याउन थाले भने कतिपय खोर खोल्नतिर लागे । सञ्चारकर्मी र अन्य उपस्थितहरू नजिकै दायाँ र बायाँ दुवैतर्फ बनाइएका मचानमा चढेर फोटो खिच्न तयार भए । ट्रक छेउमै ५ वटा हात्ती खडा गरिएका थिए ।

प्राविधिकहरूले काठको खोर खोल्दा गैंडा सुतेको थियो । माथिबाट पानी खन्याउँदा र लठ्ठीले हान्दासमेत गैंडा नउठेपछि सबै हैरान भए । एक जना भुइँमै गएर हान्न थाले । केहीबेर तलबाट लठ्ठीले हानेपछि खोर खोलेको झन्डै आधा घण्टापछि बल्ल गैंडा उठ्यो । तर खोरबाट बाहिर भने आएन । ट्रकमाथि रहेका प्राविधिक तथा कर्मचारीहरूले हल्ला गरेर लठ्ठीले हान्दा केहीबेरपछि गैंडा बाहिर निस्क्यो ।

सोमबार साढे १० बजेतिर डार्ट गरी चितवनबाट खोरमा हालिएको गैंडा शुक्लामा बाहिर निस्केपछि आफंै चढेको ट्रकलाई हिर्काउँदै एक चक्कर लगाएर हात्ती भएको ठाउँमा पुगेको थियो ।त्यसपछि रानिताल क्षेत्रमा गएको थियो ।

चितवनबाट थप २ लगिए 
भरतपुर– चितवन निकुञ्जबाट मंगलबार थप दुई एक सिंगे गैंडा शुक्लाफाँटा वन्यजन्तु आरक्ष र बर्दिया निकुञ्ज लगिएको छ । निकुञ्जको सुखीभारस्थित बुढी राप्ती क्षेत्रबाट एउटा भाले र पोथी गैंडालाई डार्ट (बेहोस) गरेर खोरमा हालेर अपराह्न लगिएको हो । सोमबार यहाँबाट एउटा भाले गैंडा शुक्लाफाँटा लगिएको थियो ।
निकुञ्जका अनुसार उक्त क्षेत्रबाट १०/१२ वर्षको भाले र ८/१० वर्षको पोथीलाई ३० वटा हात्तीले घेरा हाली डार्ट (बेहोस) पारिएको थियो । त्यसपछि खोरमा राखेर पठाइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए ।

‘बर्दिया निकुञ्जमा एउटा पनि भाले नभएकाले एउटा त्यही पठाइएको हो,’ उनले भने,‘ गत वर्षको फागुनमा पनि बबईमा ३ पोथी र दुई भाले गरी ५ गैंडा चितवनबाट लगेर छाडिएको थियो ।’ त्यसमध्ये एउटा बिरामी भएर १९ फागुनमा मरेको थियो ।साभार कान्तिपुर

 


Facebook Comment


No ads found for this position