१३ वटा नयाँ पदमार्गको पहिचानगरी नक्सा तयार
हरि गौतम, २३ चैत, काठमाडौं । धौलागिरि र काञ्जिरोवा हिमशृंखलाअन्तर्गतका १३ वटा नयाँ पदमार्गको पहिचानगरी नक्सा तयार भएको छ । जिल्ला समन्वय समिति रुकुम, नेपाल पर्वतारोहण संघ, थ्री जीएस म्याग्दीको साविकको गुर्जा गाविसको सहयोगमा तयार पारिएको हो ।
नक्सा तयार भएसँगै उक्त पद मार्गहरूमा विदेशीहरू आउन थालेका छन् । धौलागिरि हिमशृंखलाअन्तर्गत पश्चिम धौलागिरि भित्र ढोरपाटन सांस्कृतिक, पश्चिम धौलागिरि तल्लो र पश्चिम धौलागिरि माथिल्लो गरी मुख्य ३ वटा पदमार्ग पहिचान भएका छन् ।
पदमार्गको पहिचान गर्ने पर्वतारोही मनबहादुर खत्रीका अनुसार ५ हजार २ सय मिटर उचाइको पश्चिम धौलागिरि १ सय ७६ किलोमिटर, ४ हजार २ सय मिटरको पश्चिम धौलागिरि तल्लो १ सय ६८ किलोमिटर र ४ हजार १ सय मिटर रहेको ढोरपाटन सांस्कृतिक पदमार्गको १ सय ४८ किलोमिटर छ । म्याग्दीको गुर्जा र तकामबाट सुरु हुने यी तीनवटै पदमार्ग रुकुमसम्मका हुन् । पैदल यात्रुले चाहेको खण्डमा सोही पदमार्ग प्रयोग गरी डोल्पा, जुम्ला, जाजरकोट पनि जान सकिने खत्रीले जानकारी दिए । उनका अनुसार ३ वटै पद मार्ग पूरा गर्न २१ दिन लाग्छ ।
धौलागिरिअन्तर्गतका ३ वटै पद मार्गका छुट्टाछुट्टै विशेषता रहेका छन् । खत्रीका अनुसार ढोरपाटन सांस्कृतिक पद मार्गमा मगर, छन्त्याल, दलित, क्षेत्रीलगायतका समुदायको कला तथा संस्कृति अध्ययन गर्न सकिनेछ । हिमाल चढ्न चाहने, हिमालकै छेउबाट यात्रा गर्ने, बहुमूल्य पत्थर, हिमनदी तथा हिमतालको अध्ययन अवलोकनको उद्देश्यसहित पश्चिम धौलागिरि माथिल्लो पद मार्गको पहिचान गरिएको हो । यसैगरी काञ्जिरोवा हिमशृंखला–अन्तर्गत रुकुमबाट सुरु हुने पदमार्ग जाजरकोट, जुम्ला हुँदै रारा पुग्दछन् ।
दुवै पदमार्ग पार गर्न २१/२१ दिन लाग्ने गरी पहिचान भएको र नक्सा तयार भइसकेको जिल्ला समन्वय समितिका सूचना अधिकृत चिन्तामणि दाहालले बताए । हाल पहिचान भएका सबै मुख्य तथा सहायक पदमार्गको परीक्षण चलिरहेको छ । पहिचानपछि ढोरपाटन सांस्कृतिक, पश्चिम धौलागिरि तल्लो, सिस्ने ट्रेक, पूर्व धौलागिरिअन्तर्गत धौलागिरि सेन्च्युरी, ट्रान्स धौलागिरि तल्लो विदेशी पर्यटकसहितको टोलीले परीक्षण गरिसकेको छ ।