इलामका १८ हाटबजार बन्द

२३ चैत, । यहाँ साविकका गाविसमा पुस्तौंदेखि तिथि र बारका आधारमा लाग्दै आएका ४८ मध्ये १८ वटा हाटबजार (हटिया) बन्द भएका छन् ।

बढदो सहरीकरण र बजार विस्तारसँगै हाट बन्द भएका हुन् । बन्द भएका हटियाहरूमा जमुना, गोगमाई, फलाँटे, मंगलबारेको बुधबारे, नामसालिङको शुक्रबारे, फिक्कलको बरबोटे, आइतबारेलगायतका छन् । सडक आसपासमा पर्ने साना बजारमा साप्ताहिक रूपमा हटिया लगाउने चलन सुरु भए पनि परम्परागत ती हाट लाग्न छाडेको एक अध्ययनले देखाएको हो ।

अध्ययनमा संलग्न राम रिमालका अनुसार तिथि र बारका आधारमा लगाइने हाटबजार बन्द हुँदै जाँदा सडक विस्तार भएको ठाउँमा बजार सर्दै गएका छन् ।

सशस्त्र द्वन्द्वका समयमा तत्कालीन माओवादीले तिथिका आधारमा लाग्दै आएका धेरै हटिया बन्द गराएका थिए । सडक छेउमा विस्तार भएका बजारमा साप्ताहिक हाटसमेत लाग्न थालेका छन् । सडकसँगै जोडेर पसल राख्ने चलनले सडकलाई ठाउँ अभाव हुन थालेको छ । बजारका कारण सडक साँगुरिँदै गएपछि केही ठाउँमा बजारलाई छाडेर सडक बनाएका छन् । यसले यातायात अस्तव्यस्त बन्ने गरेको स्थानीयबासी बताउँछन् ।

एकताका चम्किएको इलामको पुरानो गोर्खे बजार बन्द छ । यो बजारमा भारतबाट सरसामान ल्याएर बिक्री हुने गथ्र्यो । त्यहीँबाट इलाम सदरमुकामसम्म सामान ल्याइन्थ्यो । यसैगरी बाटोको पहुँच नपुगेको नाम्सालिङको शुक्रबारे बजार पनि बन्द छ । भारतसँग नजिक पर्ने शुक्रबारे बजार पनि एकताका खुबै चल्तीको बजार थियो ।

विसं १९६० अघिदेखि नै व्यापारिक कारोबार हुने बजारमा अहिले पसल नगन्य मात्रामा छन् । फाकफोकको फलाँटे, माईपोखरीको देउराली, जमुनाको बुधबारे बजार पनि बाटोकै असहजताले बन्द भएका छन् । माईपोखरीको देउरालीसम्म सडक पुगेपछि बुधबारे बजारको चमक घटेको स्थानीय बासिन्दाको भनाइ छ । सूर्योदय नगरपालिकाको पञ्चकन्यास्थित आइतबारे बजार पनि सुस्ताएको छ । हाट बजारमा ६० प्रतिशत कृषि र पशुजन्य उत्पादन किनबेच हुँदै आएको थियो ।


Facebook Comment


No ads found for this position