सगरमाथा चढ्ने बाटो खुल्यो

बिक्रम श्रेष्ठ

सोलुखुम्बुः बिश्वको सर्बाेच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको छ । आइसफल डक्टरहरुले दुई साता लगाएर बाटो पुनः निर्माणगरेपछि आरोहणका लागि बाटो खुल्ला भएको हो ।

चैत्र आठ गतेबाट बाटो निर्माण कार्य सुरु गरिएको थियो । आधार शिबिरदेखि क्याम्प दुईसम्म बाटो निर्माणका लागि आठ जना आइसफल डक्टरहरु खटिएका थिए ।हिमपातका कारण भत्कीएका पुराना बाटाको मर्मत, आरोहणमा प्रयोग हुने डोरी र भर्याङहरुको ब्यबस्थापन गरेका हुन् ।

खराब मौसमका बाबजुत पनि बाटो निर्माण कार्य सम्पन्न गरिएको सगरमाथा प्रदुषण नियन्त्रण समिति एसपिसिसिका कार्यक्रम अधिकृत कपिन्द्र राइले जानकारी दिए । एसपिसिसिले हरेक बर्ष हिमाल आरोहण अघि क्याम्प दुई सम्म बाटो निर्माण गर्दै आएको छ ।

आधारशिबिर देखि क्याम्प दुई सम्म हिमपहिरो खस्ने, दुइ हिमालको बीचमा खोँच रहेकाले बढि हिउँ जमेर पुरानो बाटो भत्कीने र पुरिने भएकाले हरेक साल बाटो निर्माण गर्नु परेको राइको भनाइ छ । एक बर्षको अबधीमा अघिल्लो बर्ष राखीएको डोरीहरु खिइने, चुडिने र भर्याङहरु पनि भाँच्चीने भएकाले मर्मतको आबश्यक्ता हुने गरेको उनको भनाइ छ ।

उनीहरुले बाटो निर्माण गरेसंगै अब सगरमाथा आरोहणका लागि बाटो खुल्ला भएको राइले बताए । एसपिसिसिका उपाध्यक्ष लामाकाजी शेर्पाले भने, ‘हाम्रो काम सगरमाथाको क्याम्प दुइ सम्म बाटो मर्मत गर्ने हो, त्यो काम सम्पन्न गरिसकेका छौँ, अब आरोहणका लागि बाटो खुल्यो ।’ क्याम्प दुइ देखि माथि भने हिउँ कम जम्ने र बाटो नबिग्रिने भएकाले मर्मत नगर्ने गरिएको छ । राइले भने, ‘त्यस देखि माथि आरोहीका सहयोगीहरुले नै सामान्य रुपमा बाटो मर्मत गर्छन् । क्याम्प दुई देखि माथि खासै समस्या हुदैन ।’

बाटो बनाउनेहरुमा आङकामी शेर्पाको नेतृत्वमा आङसार्की शेर्पा, निमादोर्जी शेर्पा, मिङमा छिरि शेर्पा, याङडा शेर्पा, मिङमातेम्बा शेर्पा, फुछेतार शेर्पा र फुकितार शेर्पा रहेका छन् । उनीहरुले बाटो निर्माणका लागि एक हप्ता सम्म आधार शिबिर मै प्रशिक्षण समेत लिएका थिए ।


Facebook Comment


No ads found for this position